धनगढी । सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीले सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि मन्त्रीमुखी र निर्वाचन क्षेत्रमुखी बजेट ल्याएको आरोप लगाएका छन् ।
प्रदेश सभामा सोमबार बजेटमाथिको छलफलमा भाग लिँदै नेता चौधरीले सुदूरपश्चिम प्रदेशको समग्र विकास हुने गरी बजेट नआएको बताए । उनले बजेटमा सबै क्षेत्रलाई समेटिए पनि उत्पादन र रोजगारी बढाउने क्षेत्रमा कम बजेट विनियोजन भएको बताए ।
‘मन्त्रीमुखी सोँच हटाउनु पर्छ । बजेटमा मन्त्रीमुखी सोँच छ’ उनले भने, ‘एक जनाको सोँचको आधारमा प्रादेशिक अस्पताल घोषणा गरिएको छ । तर दुरदराजको जनताले सिटामोल पाए पनि पाएनन् भन्ने कुरा हेरिएको छैन ।’ समग्र सुदूरपश्चिमलाई यस किसिमको बजेट विकास गर्न नसकिने बताउँदै नेता चौधरीले गुरुयोजनाअनुसारका क्षेत्रमा आवश्यकता बमोजिम विनियोजन गर्नुपर्ने धारणा राखे ।
‘समग्र सुदूरपश्चिमलाई विकास गर्नु छ भने कृषि, पर्यटन, ऊर्जा क्षेत्रको विकास गर्नुपर्छ । मन्त्रीमुखी र आफ्नो निर्वाचन क्षेत्रमुखी बजेट ल्याएर हुँदैन,’ उनले भने, ‘सम्पूर्ण क्षेत्रलाई समेटेर अगाडि बढ्नुपर्छ । प्रादेशिक अस्पताल बन्दै गर्छ तर समग्र विकासको लागि पनि बजेट विनियोजन हुनुपर्छ ।’ सडक सञ्जाल गुरुयोजनामा परेका सडक, कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा कम विनियोजन भएको उनले बताए ।
‘सडक गुरुयोजनामा परेका सडक योजनाको लागि जम्मा ३१ लाख बजेट परेको छ,’ चौधरीले भने, ‘कुनै योजनामा एक लेखेको शीर्षक पनि परेको छ । कृषि र पर्यटन क्षेत्रमा बजेटको भोलुम कम भयो । पहाडी क्षेत्रमा समेत औद्योगिक क्रान्ति गर्ने गरी बजेट आउनु पथ्र्यो त्यस्तो आएको छ । पर्यटन सर्किटमा बनाउने कुरा राम्रो भएपनि बजेट कम आएको छ ।’
कुल बजेट बढेर आएको भए पनि टुक्रे र सानो बजेटको योजना आएको हुनाले कार्यान्वयनमा समस्या हुने नेता चौधरीले बताए । यान्त्रिकरणको लागि ६० लाख रुपैयाँमात्रै छुट्याइएको बताउँदै उनले भने, ‘एक करोड पनि छुट्याएको छैन । रोजगारी बढाउने, उत्पादन बढाउने क्षेत्रमा बजेट एकदमै कम आएको छ । यस किसिमको बजेटले हामी समग्र सुदूरपश्चिमको विकास गर्न सक्दैनौं ।’
प्रतिक्रिया