धनगढी । पूर्वमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सांसद नरेशकुमार शाही सुदूरपश्चिम सरकारको बजेट निर्माणका क्रममा अनियमितता भएको आरोप लगाएका छन् ।
‘बजेटमा अनियमितता भएको सन्दर्भमा सरकारले छानबिन समिति बनाओस् । पर्याप्त प्रमाणसहित म छानबिन समितिमा प्रस्तुत हुन्छु,’ प्रदेशसभामा आज बजेटमाथिको छलफलमा भाग लिँदै उनले भने । छलफलमा भाग लिने अन्य सांसदले बजेटबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने मागप्रति उनले समर्थन जनाए ।
‘प्रदेश सभाले छानबिन समिति बनाओस् वा सार्वजनिक लेखा समितिले छानबिन गरोस् । नभए अख्तियारलाई आग्रह गर्नुपर्छ भन्ने मलाई लाग्छ । ताकि अर्को वर्ष यस्तो आँट कसैले नगरोस्,’ शाहीले भने, ‘मन्त्रालयमा बजेट राखेर पछि प्रविष्ट गरिएको प्रमाण पनि मसँग छ, आवश्यक परे म दिन तयार छु ।’
बजेटले भौगोलिक सन्तुलन मिलाउन नसकेको उल्लेख गर्दै उनले कतिपय क्षेत्रलाई उपेक्षित गरिएको बताए । उनले कुल बजेटको ३९ प्रतिशत कैलालीमा राखेर बाजुरा र दार्चुलालाई ४-४ प्रतिशत पठाएको बताए ।
वित्तीय हस्तान्तरण पनि व्यक्तिको लहडमा भएको उनले आरोप लगाए । पूर्वमन्त्री शाहीले कुनै पालिकामा वित्तीय हस्तान्तरणतर्फ छ-छ करोड छुट्याइँदा डोटीको सायल गाउँपालिका तथा बाजुराको बडीमालिका नगरपालिका र हिमाली गाउँपालिकामा वित्तीय हस्तान्तरण शून्य रहेको बताए ।
‘काँग्रेस र एमालेको सरकार देश लुट्नलाई बनेको हो ? होइन भने किन यस्तो हुँदैछ ?,’ उनले प्रश्न गरे, ‘सरकार विवेकशील हुन्छ भन्छन् तर डोटीको सायल, बाजुराको बडीमालिका नगरपालिका र हिमाली गाउँपालिका वित्तीय हस्तान्तरणमा शून्य छ, एउटै पालिकामा छ÷छ करोड हुँदा ती पालिकामा किन शून्य भयो ?’
प्रतिक्रिया