ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पाटनवासी आक्रोशित, बसपार्कमा रोपाई

आइतबार १५, असार २०८२ ०१:४१

धनगढी । बैतडीको पाटन नयाँ सहरमा निर्माण गरिएको बसपार्क अलपत्र पारिएको भन्दै स्थानीयले रोपाई गरेका छन् । बजार व्यवस्थापन समिति पाटनको आह्वानमा विरोधस्वरुप रोपाई गरिएको हो । समितिका अध्यक्ष खेमराज भट्टले आम नागरिकको खेतीयोग्य जग्गामा संरचना बनाएर अलपत्र छोडिएको हुँदा शान्तिपूर्ण आन्दोलनअन्तर्गत बसपार्कमा रोपाई गरिएको बताए । 

‘पाटन–६ का सर्वसाधारणको जग्गामा बसपार्क र विमानस्थल लगायतका संरचना बनाइएको छ,’ उनले भने, ‘न बसपार्क सञ्चालनमा आएको छ न त विमानस्थल नै चलेको छ । यसवर्ष विरोधस्वरुप रोपाई गरेका छौं । अर्को वर्षसम्म पनि सञ्चालनमा नआए बसपार्क र विमानस्थलमा पूर्ण रुपमा रोपाई गर्छाै ।’

पाटनका स्थानीय व्यवसायी धर्मसिंह बिष्टले नयाँ सहरअन्तर्गत बनेका संरचनामा काम नै गुणस्तरहिन भएको आरोप लगाए । ‘प्रत्येक वर्ष केही न केही काम गरिएको हुन्छ,ख उनले भने, ‘तर, त्यो काम गुणस्तरीय छैन । भएको कामको प्रतिफल पनि देखिउको छैन ।’ बसपार्क निर्माण गरेर अलपत्र छोडिएपछि बाध्य भएर रोपाई गर्नुपरेको बिष्टले बताए ।

मध्यपहाडी लोकमार्गमा पर्ने बैतडीको पाटनमा नयाँ सहर स्थापनाका लागि काम सुरु भएको डेढ दशक पुग्न थालेको छ । सहरीकरणलाई व्यवस्थित गरी प्रत्येक सहरलाई त्यस क्षेत्रको आर्थिक केन्द्रको रुपमा विकास गर्ने र बसाइसराई रोक्ने उद्देश्यले आर्थिक वर्ष २०६७/०६८ देखि पाटनमा नयाँ सहर आयोजना लागु भएको थियो । तर, डेढ दशकसम्म पनि आयोजनाको मुख्य काम अर्थात् जग्गा एकीकरणको कामले पूर्णता पाएको छैन । 

नयाँ सहर आयोजनाअन्तर्गत नै बसपार्क निर्माणको काम भने सम्पन्न भएको नयाँ सहर आयोजना कार्यालय पाटनका प्रमुख रुद्रनारायण दासले बताए । ‘चार चरणमा बसपार्क निर्माण भएको छ,’ उनले भने, ‘हस्तान्तरण भने भएको छैन । सञ्चालन पनि भएको छैन ।’ 

आर्थिक वर्ष २०७१/७२ मा नयाँ सहर आयोजनाअन्तर्गत बसपार्क निर्माण सुरु भएको थियो । आठवटा बस र चारवटा जीप एकैपटक पार्किङ गर्नसक्ने क्षमताको बसपार्क निर्माण गरिएको हो । बसपार्कमा अपाङ्गमैत्री शौचालय, बस र जीपका लागि छुट्टाछुट्टै पार्किङ, आरसिसी बाटो, काउन्टर भवन निर्माण गरिएको कार्यालय प्रमुख दासले बताए । 

प्रतिक्रिया