धनगढी । सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जाअन्तर्गत कृषि तथा औद्योगिक कर्जा घटेको छ ।
नेपाल राष्ट्र बैंकले हालै जारी गरेको सुदूरपश्चिम प्रदेशको चालु आर्थिक वर्ष ०८१/८२ को अर्थवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा बैंक तथा वित्तीय क्षेत्रको कृृषि तथा औद्योगिक कर्जा घटेको उल्लेख गरिएको छ । तर सेवा क्षेत्रमा भने कुल कर्जा बढेको छ ।
०८१ पुस मसान्तसम्ममा सुदूरपश्चिममा कृषिमा प्रवाहित कर्जा ०८१ असार मसान्तको तुलनामा ०.९७ प्रतिशतले घट्न गई १६ अर्ब ३६ करोड ८३ लाखमा झरेको छ ।
समीक्षा अवधिमा यस प्रदेशमा प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश १०.६८ प्रतिशत रहेको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये कैलाली जिल्लाको अंश सबैभन्दा बढी ६७.०१ प्रतिशत र कञ्चनपुरको २०.४३ प्रतिशत रहेको छ । कृषि कर्जाको अंश बाजुरा जिल्लामा सबैभन्दा कम १.१० प्रतिशत तथा अछाम जिल्लामा १.३० प्रतिशत रहेको छ ।
०८१ पुस मसान्तसम्ममा औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ०८१ असार मसान्तको तुलनामा १.३२ प्रतिशतले घट्न गई २५ अर्ब २६ करोड ४५ लाख पुगेको छ । कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित भएको कर्जाको अंश १६.४८ प्रतिशत रहेको छ । समीक्षा अवधिसम्ममा कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी ३८.६५ प्रतिशत रहेको छ भने खानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जाको अंश सबैभन्दा कम ०.५३ प्रतिशत रहेको छ ।
०८१ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जामध्ये धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक सम्बन्धी कर्जा अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा ३५.८५ प्रतिशतले वृद्धि भएको छ भने खानी सम्बन्धी कर्जामा ४०.३४ प्रतिशतले ह्रास आएको छ ।
समीक्षा अवधिमा यस प्रदेशमा प्रवाह भएको कुल औद्योगिक कर्जामध्ये कैलाली जिल्लाको अंश सबैभन्दा बढी ७८.७४ प्रतिशत रहेको छ भने दार्चुला जिल्लाको अंश सबैभन्दा कम ०.३७ प्रतिशत रहेको छ । यसैगरी, कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम, बझाङ, बाजुरा तथा बैतडीको अंश क्रमशः १६.३५ प्रतिशत, १.५१ प्रतिशत, ०.९८ प्रतिशत, ०.५५ प्रतिशत, ०.५१ प्रतिशत, ०.५० प्रतिशत र ०.४८ प्रतिशत रहेको छ ।
यसवर्ष सेवा क्षेत्रको कर्जा प्रवाह भने बढेको छ । गत वर्ष सेवा क्षेत्र कर्जामध्ये अन्य व्यवसायमा प्रवाहित कर्जा ९.३६ प्रतिशत, पर्यटनमा ३.१९, यातायात भण्डारण र संचारमा २.१९ प्रतिशत, वित्त, बीमा तथा अचल सम्पतिमा १.६७ प्रतिशत, शिक्षा क्षेत्रमा ३.३५ प्रतिशत, रियल स्टेटमा २.७८ प्रतिशत, अन्य सेवा व्यवसायमा १.४२ प्रतिशत र स्वास्थ्य र अन्य सामाजिक कार्यमा १.५६ प्रतिशत अंश थियो ।
सेवा क्षेत्रमध्ये उपभोग्य कर्जाको अंश गत वर्षको तुलनामा १.८९ प्रतिशतले बृद्धि भएको छ । सवारी साधन खरिद, जग्गा खरिद, घर खरिद तथा निर्माण, घरायसी परियोजन लगायत विविध कार्यमा खर्च हुने उपभोग्य कर्जा ०८१ पुस मसान्तमा कुल सेवा क्षेत्रको कर्जाको ३१.९६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । यो कर्जा आर्थिक वर्ष ०८०÷८१ को मसान्तमा ३०.०७ प्रतिशत थियो । ०८१ असार मसान्तमा थोक तथा खुद्रा विक्रेतासम्बन्धी व्यवसायमा ४४.४१ प्रतिशत रहेको कर्जा २०८१ पुस मसान्तमा घटेर ४३.०४ प्रतिशत कायम भएको छ ।
यस अवधिमा कुल सेवा क्षेत्र कर्जामध्ये अन्य व्यवसायमा प्रवाहित कर्जा ८.७९ प्रतिशत, शिक्षामा ३.६२ प्रतिशत, रियल स्टेटमा ३.२३ प्रतिशत, पर्यटनमा ३.०९ प्रतिशत, अन्य सेवामा १.८८ प्रतिशत, स्वास्थ्य र अन्य सामाजिक कार्यमा १.६३ प्रतिशत, यातायात भण्डारण र सञ्चारमा १.५९ प्रतिशत र वित्त, बीमा तथा अचल सम्पतिमा १.१८ प्रतिशत अंश रहेको छ ।
०८१ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल सेवा क्षेत्र कर्जामध्ये कैलाली जिल्लाको अंश ६६.७८ प्रतिशत, कञ्चनपुर जिल्लाको अंश २०.०९ प्रतिशत, डडेल्धुरा, डोटी, अछाम, बझाङ, दार्चुला, बैतडी, तथा बाजुरा जिल्लाका ेअंश क्रमशः ३.०५ प्रतिशत, २.१९ प्रतिशत, २.१६ प्रतिशत, १.६२ प्रतिशत, १.५८ प्रतिशत, १.४१ प्रतिशत र १.१२ प्रतिशत रहेको छ ।
वित्तीय समावेशीता तथा विविध कर्जा बढ्यो
०८१ पुस मसान्तसम्म कुल निक्षेपकर्ताको संख्या ०८० पुस मसान्तको तुलनामा ३.२६ प्रतिशतले बढ्न गई ३७ लाख ५४ हजार ९ सय ९० पुगेको छ भने कुल ऋणीको संख्या गत पुस मसान्तको तुलनामा २७.५६ प्रतिशतले बढ्न गई १ लाख ४ हजार १ सय ९३ पुगेको छ ।
०८१ पुस मसान्तसम्म विपन्न वर्गको कर्जा ०८० पुस मसान्तको तुलनामा २३.३६ प्रतिशतले घट्न गई रु.८ अर्ब ४९ करोड पुगेको छ । यसैगरी, ०८१ पुस मसान्तसम्म सहुलियतपूर्ण कर्जा ०८० पुस मसान्तको तुलनामा ६५.३१ प्रतिशतले घट्न गई रु.३ अर्ब ६० करोड ९६ लाख पुगेको छ ।
कुल कर्जा प्रबाह पनि बढ्यो
०८१ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा ०८१ असार मसान्तको तुलनामा ०.२७ प्रतिशतले वृद्धि भएर एक खर्ब ५३ अर्ब २६ करोड ६२ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ७.२८ प्रतिशतले घटेको थियो । २०८१ पुस मसान्तसम्म प्रदेशमा प्रवाहित कुल कर्जा अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने रु. १२.६० अर्बले बढेको छ ।
समीक्षा अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ४८.६० प्रतिशत र बाजुरा जिल्लाको अंश सबैभन्दा कम अर्थात् २.२७ प्रतिशत रहेको छ ।
त्यसैगरी, समीक्षा अवधिसम्ममा अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ६८.७७ प्रतिशत र बाजुरा जिल्लाको सबैभन्दा कम अर्थात् १.०१ प्रतिशत प्रतिशत रहेको छ ।
प्रतिक्रिया