ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेशको २५ वर्षीय विकास रणनीति बनाइने

शनिबार १४, असार २०८२ ११:१६

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशको २५ वर्षीय विकास रणनीति बनाउने भएको छ । 

प्रदेश नीति तथा योजना आयोगअन्तर्गत विकास रणनीति बनाउन लागिएको हो । प्रदेश सरकारले प्रदेशको २५ वर्षीय विकास रणनीति तर्जुमा तथा प्रवोधिकरणका लागि प्रदेश नीति तथा योजना आयोगलाई आगामी वर्ष १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

नेपाल सरकारको १६ औँ योजना, दीगो विकासका लक्ष्यहरु, मुलुक विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धी रणनीति तथा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्षसँग तादम्याता हुने गरी प्रदेशको २५ वर्षीय विकास रणनीति बनाइने आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।

यसैगरी, प्रदेश सरकारले प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणसमेत आगामी वर्ष अगाडि बढाउने भएको छ । दोस्रो पञ्चवर्षीय योजना निर्माण गर्न प्रदेश नीति तथा योजना आयोगका लागि ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको अवधि आगामी आर्थिक वर्षमा सकिदैछ । प्रथम पञ्चवर्षीय योजना २०७८/०७९ मा लागु गरिएको थियो । प्रथम पञ्चवर्षीय योजनाको नीति, रणनीति र कार्यनीतिअनुसार कार्यक्रम तय गरी बजेट विनियोजन र कार्यान्वयन हुन नसक्दा कतिपय लक्ष्यहरु पुरा हुन नसक्ने अवस्थामा पुगेको छ । 

यसअघि प्रदेश सरकारले प्रदेशको १० वर्षीय पर्यटन गुरुयोजना बनाई २०७९/०८० बाट लागु गरेको छ । २०८९/०९० सम्मको लक्ष्यहरु राखिएको पर्यटन गुरुयोजनाअनुसार पर्यटनका कार्यक्रममा बजेट विनियोजन नहुँदा प्रदेशमा सो गुरुयोजनाअनुसार पर्यटन विकास हुन सकेको छैन । 

पर्यटन गुरुयोजनामा पर्यटनका लागि विनियोजन हुने बजेट धार्मिक पर्यटकीय स्तरका मन्दिरको भौतिक संरचना निर्माण, प्रबद्र्धन तथा प्रचारप्रसारमा खर्च गर्ने उल्लेख भए पनि स–साना र कुलदेवतास्तरका सांस्कृतिक मन्दिरमा खर्च हुँदा पर्यटनबाट प्रदेश सरकारले लाभ लिन सकेको छैन ।

प्रतिक्रिया