ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जानकीमा उत्पादनका आधारमा अनुदान वितरण

शुक्रबार १३, असार २०८२ ०४:२०

टीकापुर । कैलालीको जानकी गाउँपालिकाले उत्पादनमा आधारित अनुदान वितरण सुरु गरेको छ । गाउँपालिकाले आव २०८०÷०८१ मा गहुँ बालीमा यस्तो कार्यक्रम परिक्षण गरेको थियो । सो आवमा पालिकाले १३ जना किसानलाई २ लाख १३ हजार रुपैयाँ अनुदान वितरण गरेको कृषि शाखा प्रमुख लालविर चौधरीले जानकारी दिए ।

पालिकाले चालु आर्थिक वर्षमा समेत गहुँ उत्पादक किसानलाई अनुदान दिने तयारी गर्दैछ । जसका लागि १६६ जना किसान छनौट भएका छन । चौधरीका अनुसार पालिकाले ती किसानलाई १९ लाख ७४ हजार ८६५ रुपैयाँ अनुदान दिनेछ । अनुदानका लागि २०५ जना किसानले आवेदन दिएका थिए । ‘किसानको खातामा सोझै भुक्तानी गरिनेछ’ चौधरीले भने, ‘यस्तो अनुदान कार्यक्रमले किसान निकै हौसिएका छन् ।’

पालिकाले परिक्षणका रुपमा सुरु गरेको उत्पादनमा आधारित अनुदान वितरण कार्यको सकारात्मक प्रतिक्रिया प्राप्त भयो । सकारात्मक प्रतिक्रियालाई मध्यनजर गर्दै पालिकाले कार्यविधि नै बनाएर अघि बढ्ने सोँच बनायो । उसले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन कार्यविधि २०८१ लागु गरेको छ । यो कार्यविधि आगामी आर्थिक वर्षबाट लागु हुनेछ । 

कार्यविधिअनुसार किसानलाई तीन भागमा वर्गीकरण गरिनेछ । जसमा साना, मझौला र ठुला किसान हुने छन् । ‘जति उत्पादन भयो त्योअनुसार किसानको वर्गीकरण हुनेछ’ गाउँपालिका अध्यक्ष गणेश चौधरीले भने, ‘यसले किसानहरु धेरैभन्दा धेरै उत्पादनतर्फ अग्रसर हुने छन् ।’ 

किसानले वर्गीकरणअनुसार अनुदान रकम प्राप्त गर्ने बताइएको छ । कार्यविधिअनुसार साना किसानले प्रतिकेजी छ रुपैयाँ, मझौला किसानले प्रतिकेजी पाँच रुपैयाँ र ठुला किसानले प्रतिकेजी चार रुपैयाँ अनुदान रकम पाउने छन् । 

चौधरीका अनुसार पालिकाले अनुदानका लागि आवेदन दिन सूचना प्रवाह गर्छ । किसानले दिएका आवेदन उपर कृषि शाखाले छानविन गर्छ । यसरी छानविनपछि योग्य भएका किसानलाई अनुदानका लागि छनौट गर्ने कार्यविधिमा उल्लेख छ । 

कार्यविधिमा छनौटका लागि केही प्रावधान राखिएका छन् । जसमा पालिकाको बासिन्दा हुनुपर्ने, स्वदेशी बिउँ प्रयोग गरेको हुनुपर्ने, प्रतिहेक्टरमा २० क्विन्टलभन्दा माथि उत्पादन गरेको हुनुपर्नेलगायत छन् । कार्यविधिअनुसारको मापदण्डमा नपरेका किसान भने अनुदानबाट बञ्चित रहने अध्यक्ष चौधरीले बताए । ‘अनुदानका लागि हाम्रो मापदण्डभित्र परेको हुनुपर्छ’ उनले भने–‘त्यो बाहेकलाई समावेश गर्न सकिदैन ।’

कार्यविधिमा गहुँ बाहेकका अन्य बालीलाई पनि समेटिएको छ । तर पालिकाले तत्काल गहुँ बाहेकको बालीमा यो कार्यक्रम लागु गर्न सक्ने अवस्था नरहेको कृषि शाखा प्रमुख चौधरीले बताए । उनले आगामी दिनमा भने कार्यविधिमा उल्लेख भएका सबै बालीमा कार्यक्रम लागु गरिने जानकारी दिए । उनका अनुसार कार्यविधिमा खाद्यान्न तर्फ गहुँका साथै धान र मकै, दलहन, तेलहन, आलु र प्याजमा यो कार्यक्रम लागु हुने उल्लेख छ । 
 

प्रतिक्रिया