ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा मापदण्डविपरीत संघसंस्थालाई बजेट

शुक्रबार १३, असार २०८२ ०८:०२

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा संघसंस्थालाई तोकेर बजेट नदिने, २५ लाखभन्दा कम लागतका योजना बजेटमा समावेश नगर्ने र गर्नै परे पालिकालाई सशर्त अनुदानका रुपमा हस्तान्तरण गर्ने तथा उपभोक्ता समितिबाट योजना कार्यान्वयन नगर्ने चारवटा आधार तय गरेको बताएका थिए । तर, बजेट निर्माणका आधारलाई बेवास्ता गर्दै सरकारले बजेट विनियोजन गरेको छ ।

व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी वा सहकारी संस्थाहरुलाई तोकेर बजेट विनियोजन नगर्ने मुख्यमन्त्रीको प्रतिवद्धताविपरीत विभिन्न संघसंस्थाहरुलाई रकम वितरण गर्ने योजना बजेटमा समावेश गरिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको सामाजिक विकास कार्यालयहरुमा समूह, संस्थालाई तोकेर बजेट विनियोजन गरिएको छ ।

यसरी व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी वा सहकारी संस्थाहरुलाई तोकेर बजेट विनियोजन गर्दा बजेट निर्माण तथा कार्यान्वयन गर्ने कर्मचारी, जनप्रतिनिधिको स्वार्थ बाझिएको सजिलै अनुमान गर्न सकिन्छ ।

सुदूरपश्चिम विश्वविद्यायलयका उपप्राध्यापक डा.राजेन्द्रविर चन्दले सरकारी बजेट उत्पादन, राजश्व वृद्धिजस्ता क्षेत्रमा खर्च हुने विनियोजन हुनुपर्नेमा नेता, कार्यकर्तालाई रिझाउन विनियोजन हुने गरेको बताए । उनले तोकेरै बजेट विनियोजन गरेको कार्यक्रममा प्रत्यक्ष रुपमा कर्मचारी तथा पदाधिकारीहरुको कमिसनको कुरा जोडिने हुनाले त्यसरी बजेट विनियोजन नगर्न बजेट निर्माणको बेला आफूहरुले सुझाव दिएको उनले बताए ।

कुन संस्थालाई कति बजेट ?
सामाजिक विकास कार्यालय कैलालीले गुठीबाट सञ्चालन भए पनि निजी क्याम्पससरह चर्को शुल्क लिइरहेको धनगढी–५, हसनपुरको ऐश्वर्य बहुमुखी क्याम्सपको फर्निचर व्यवस्थापनका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ । सोही कार्यालयले गोदावरी–२ स्थित रेडक्रसको ब्लड बैंकको सामान खरिदका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ । सोही शीर्षकमा अर्को २० लाख पनि विनियोजन गरिएको छ ।

सामाजिक विकास मन्त्रालयको मातहतकै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले पनि टीकापुर साहित्य समाजले सञ्चालन गर्दै आएको टीकापुर साहित्य सम्मेलन सञ्चालन तथा व्यवस्थापनका लागि नौं लाख रुपैयाँ विनियोजन गरेको छ । प्रतिष्ठानले कैलाली जनपुस्तकालयमा ई–लाब्रेरी स्थापना तथा पुस्तक खरिदका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रतिष्ठानका उपकुलपति जोशी आफै जनपुस्तकालयका अध्यक्ष हुन् ।

सामाजिक विकास कार्यालय बझाङले महर्षि विश्वामित्र पुस्तकालयलाई पुस्तक खरिद र अन्य व्यवस्थापनका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ । सामाजिक विकास कार्यालय डोटीले दिपायल–सिलगढी नगरपालिका–६, स्थित मदन आश्रित सार्वजनिक पुस्तकालयका व्यवस्थानका लागि १५ लाख विनियोजन गरेको छ । 

सामाजिक विकास कार्यालय बझाङले दुर्गाथली–१ को मदन भण्डारी बालआश्रमलाई अनुदान दिन दुई लाख रुपैयाँ विनियोजन गरेको छ । सो कार्यालयले खप्तडछान्ना–४, बह्रम्मास्थलको श्रेयांश पुस्तकालयलाई पुस्तक खरिदका लागि पनि दुई लाख रुपैयाँ विनियोजन गरेको छ भने अन्य सामुदायिक तथा सार्वजनिक पुस्तकालयहरुलाई अनुदान दिन पनि दुई लाख रुपैयाँ विनियोजन गरेको छ ।

सामाजिक विकास कार्यालय डडेल्धुराले जिल्ला भलिबल संघ डडेल्धुरालाई द्वारिकादेवी ठकुरानी स्मृति महिला भलिबल प्रतियोगिता आयोजना गर्न पाँच लाख रुपैयाँ विनियोजन गरेको छ । कञ्चनपुरमा पनि जिल्ला फुटबल संघलाई खेलकुद सामाग्री खरिद गर्न १० लाख विनियोजन गरिएको छ । कञ्चनपुरमै पुनर्वास नगरपालिका–८ को प्रगति युवा क्लबको खेलमैदान मर्मत १० लाख र पुनर्वास ५ को भानु युवा क्लाबको मैदानमा रहेको अपुरो भवन निर्माण १० लाख विनियोजन गरिएको छ । 

कैलालीमा गोदावरी–६ लालपुरको पीएफएन युथ क्लबको मर्मत तथा खेल मैदान निर्माण गर्न १० लाख र धनगढी–१८ फूलबारीको मिहचुली युवा क्लबको खेलमैदन बनाउन १५ लाख विनियोजन गरिएको छ । सामाजिक विकास कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका–५ मा सञ्चालित महिला तथा वृद्ध सेवा केन्द्रका लागि आर्थिक सहयोग शीर्षकमा एक लाख रुपैयाँ विनियोजन गरेको छ । भीमदत्त १ राजिपुरको आइसिटीका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

सो कार्यालयले जेसिस संस्थाले सञ्चालन गरेको भीमदत्त नगरपालिका–१, को जेसिस माविको भवन निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ । सो विद्यालयको भवन बनाउन चालु आर्थिक वर्षमा समेत बजेट दिइएको छ । कैलालीमा पनि धनगढी–२, दक्षिण बेहडीको जेसिस एभरेष्ट स्कूलको अधुरो भवन निर्माण गर्न २५ लाख विनियोजन गरिएको छ ।

सो कार्यालयले समाज कल्याण संघले सञ्चालन गरेको समाज कल्याण अञ्चल बाल अनाथालयको छात्रावास निर्माणको लागि समेत १० लाख रुपैयाँ विनियोजन गरेको छ । कञ्चनपुरको बेलौरीमा परिवार बालगृह निर्माण एवम् मर्मत सम्भारका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको छ । भीमदत्त–५, मा महिला तथा वृद्ध सेवा केन्द्र भवन निर्माण गर्न ३० लाख तथा भीमदत्त–६ मा पतञ्जली योग केन्द्र भवन निर्माण गर्न ७५ लाख विनियोजन गरिएको छ ।

सामाजिक विकास कार्यालय डडेल्धुराले अजयमेरु–५ निनालको ऐश्वर्य आमा समूहको सामुदायिक भवन निर्माणका लागि १० लाख  रुपैयाँ विनियोजन गरेको छ । सामाजिक विकास कार्यालय बैतडीले आनन्ददेव पृथ्वी स्मृति प्रतिष्ठानको भवन निर्माण गर्न १० लाख विनियोजन गरेको छ । बैतडीकै दशरथचन्द नगरपालिका–५ को सहिद दशरथचन्द प्रतिष्ठानको भवन निर्माण १० लाख विनियोजन गरिएको छ । कैलालीमा मानव अधिकारका लागि एकल महिला समूहको धनगढी–५, मा अपुरो भवन निर्माण गर्न १० लाख र कैलारी गाउँपालिका–६, सुमी गाउँको कैलारी सहिद प्रतिष्ठानको बहुउद्देश्यीय भवन निर्माण गर्न २० लाख विनियोजन गरिएको छ ।

प्रतिक्रिया