धनगढी । बैतडीका १० स्थानीय तहमध्ये नौ वटाले आगामी आर्थिक वर्ष २०८३/०८३ को बजेट ल्याएका छन् । मेलौली नगरपालिकाले भने विवादका कारण बजेट सार्वजनिक गर्न सकेको छैन ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्रै सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेकोमा मेलौलीले भने विवादका कारण निर्धारित समयमै बजेट ल्याउन नसकेको हो । १७ गते बजेट सार्वजनिक गर्ने तयारी रहेको नगरपालिकाका उपमेयर पार्वती बोहरा बिष्टले जानकारी दिइन् । ‘वडामा सिलिङ पनि ढिलो गरि गएको थियो, तयारीमा समय लागेकोले १७ गते मात्रै बजेट सार्वजनिक गर्छाै,’ उनले भनिन् ।
जिल्लामा सबैभन्दा बढी बजेट दशरथचन्द नगरपालिकाले ल्याएको छ । उसले ८८ करोड ३८ लाख ५० हजार ७१६ रुपैयाँ बराबरको बजेट ल्याएको हो ।
यस्तै, पुर्चाैडी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६४ करोड १२ लाख बराबरको बजेट ल्याएको छ । पाटन नगरपालिकाले ६६ करोड ९३ लाख १७ हजार, सुर्नया गाउँपालिकाले ४५ करोड २२ लाख १० हजार, शिवनाथ गाउँपालिकाले ३८ करोड ४८ लाख २७ हजार र दोगडाकेदार गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५२ करोड ६८ लाख ७४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
डिलाशैनी गाउँपालिकाले ६५ करोड २३ लाख ८५ हजार, पञ्चेश्वर गाउँपालिकाले ४२ करोड ८२ लाख ३० हजार र सिगास गाउँपालिकाले ५५ करोड ९० लाख ७४ हजारको बजेट ल्याएको छ ।
प्रतिक्रिया