ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
प्रतिपक्षी दलले गरे बैठक बहिष्कार

जब अधिकांश सांसद भ्रमणमा हुँदा सुदूरपश्चिम प्रदेशसभा बैठक बोलाइयो...

मङ्गलबार १०, असार २०८२ ०५:१७

धनगढी । मंगलबार बोलाइएको सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित भएको छ । बजेटमाथिको छलफलका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो । 

बिहीबार सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बजेटमाथिको छलफलका लागि आज अपराह्न ४ बजे प्रदेशसभा बैठक बोलाउने सहमति गरेको थियो । 

तर, बैठकमा प्रतिपक्षी सांसद सहभागी नहुने सूचना पाएपछि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रवक्ता जेतप्रकाश जोशीले बताए । ‘बिहीबार बसेको कार्यव्यवस्था समितिको बैठकमा पनि सबै दलको प्रतिनिधित्व थिएन,’ प्रवक्ता जोशीले भने, ‘बजेटमा कसैको पनि विमती नरहेको देखिएपछि आजका लागि बैठक बोलाइएको थियो । तर, एकजना पनि प्रतिपक्षी प्रदेशसभा सदस्य नआएपछि बैठक सुरु नहुँदै स्थगित गरिएको छ ।’ प्रवक्ता जोशीका अनुसार प्रदेशसभा सञ्चालनका लागि बुधबार कार्यव्यवस्था समितिको बैठक आह्वान गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले १ असारमा सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथिको छलफल १० दिनसम्म पनि सुरु हुन सकेको छैन । असार १ गते प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए ।
 
प्रतिपक्षी दलहरुले सरकारले सदन सञ्चालनमा पनि बहुमतको दंभ देखाउन थालेपछि आजको बैठकमा अनुपस्थित हुने निर्णय गरिएको बताएका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले सदन सञ्चालनका प्रतिपक्ष दलहरुले वातावरण बनाउँदा पनि सरकारले बलमिच्याइँ गर्न खोजेको आरोप लगाए ।

‘अधिकांश प्रदेशसभा सदस्यहरु भ्रमणमा रहेको बेला र ठुलो संख्यामा प्रदेश सांसदहरु अनुपस्थित हुने ग्यारेन्टी रहेको अवस्थामा सरकारले हचुवाको भरमा जवरजस्ती सदन चलाउने कुरा बेठिक हो,’ भट्टले भने, ‘यो हामीबीच भएको सहमति विपरीत छ । सहज ढंगले सदन सञ्चालन हुने वातावरण बनाउँदा पनि सरकारमा बहुमतको दंभ पैदा भएको अनुभुति भएको छ ।’ भट्टले बजेट पारित गर्ने समय अझै तीन साता बाँकी रहेको बताउँदै बजेटका विषयमा गम्भीर छलफल आवश्यक रहेको बताए । 

अहिले अधिकांश सुदूरपश्चिम प्रदेशसभा सदस्यहरु विषयगत समितिमार्फत भ्रमणमा निस्केका छन् । प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समिति असार ५ गते कर्णाली प्रदेशका संसदीय क्रियाकलापहरुको अध्ययन भ्रमणमा निस्केकोमा मंगलबार मात्रै फर्किएको छ । सामाजिक विकास समितिको १३ सदस्यीय टोली पनि काठमाडौं भ्रमणमा छ । यस्तै सत्तारुढ नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरु पनि पार्टीको बैठकका लागि काठमाडौंमै छन् ।

प्रतिक्रिया