ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमको राजश्व अझै ऋणात्मक

मङ्गलबार १०, असार २०८२ ०८:३६

धनगढी । संघीय अनुदानको भरमा प्रदेशको खर्च धानिएको सुदूरपश्चिममा राजश्वको सन्तुलन सुधारोन्मुख भए पनि अझै ऋणात्मक नै छ । आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षणअनुसार राजश्व र बजेट सन्तुलनमा सुधार देखिए पनि राजश्व सन्तुलन ऋणात्मक रहेको उल्लेख छ । 

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बजेट सन्तुलन कुल गार्हस्थ्य उत्पादनको तुलनामा १.०७ प्रतिशतले धनात्मक र राजश्व सन्तुलन १.६४ प्रतिशतले ऋणात्मक रहको बताए । अघिल्लो आर्थिक वर्षमा यो अनुपात क्रमशः १.१९ प्रतिशत धनात्मक र १.७९ प्रतिशत ऋणात्मक थियो ।

आर्थिक वर्ष २०८०/०८१ को चैत मसान्तसम्मको प्रदेशको कुल आय १९ अर्ब ६१ करोड ११ लाख रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ०.८४ प्रतिशतले वृद्धि भई कुल आय १९ अर्ब ७७ करोड ६१ लाख भएको छ । सो अवधिमा गतवर्ष प्रदेशको कुल खर्च ९ अर्ब १३ करोड २० लाख भएकोमा चालु आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु खर्चमा १०.२ प्रतिशतले वृद्धि र पुँजीगत खर्चमा १६.७ प्रतिशतको गिरावटले कुल खर्चमा ३.७ प्रतिशतले संकुचन भएको छ । 

यसवर्ष सो अवधिमा कुल खर्च आठ अर्ब ७० करोड ५१ लाख भएको आर्थिक मामिला मन्त्री थापाले बताए । गतवर्षको चैत मसान्तको तुलानामा कर राजस्वतर्फ १४.२ प्रतिशतले र गैरकर राजस्वतर्फ २५.७ प्रतिशतले वृद्धि हुन गई कुल प्रादेशिक आन्तरिक राजस्व १९ प्रतिशतले बढ्न गएको उनले बताए ।

‘सार्वजनिक वित्त चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा प्रदेशको सवारीसाधन कर र घरजग्गा रजिष्ट्रेशन शुल्क संकलनमा देखिएको सुधारले कर राजस्व बढ्न गएको छ,’ आर्थिक सर्वेक्षणमा भनिएको छ, ‘यातायात क्षेत्रको आम्दानी र सवारी चालक अनुमति पत्र तथा ब्लुबुक नविकरण तर्फको आम्दानीमा केही सुधार देखिएको हुँदा गैरकर राजस्वमा समेत सुधार देखिएको छ । बाँडफाँट भई प्राप्त हुन राजस्वमा सुधार देखिएको छ भने संघीय अनुदान प्राप्तिमा गिरावट देखिएको छ । प्रादेशिक कुल आयमा सामान्य वृद्धि देखिएको छ । चालु खर्च बढ्दो क्रममा रहेको छ भने पुँजीगत खर्च घट्न गई कुल खर्च समेत घट्न गएको छ । बजेट सन्तुलन अत्याधिक धनात्मक रहेको छ भने राजस्व सन्तुलन ऋणात्मक नै रहेको छ ।’ 

कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सुदूरपश्चिमको कुल आय र कुल खर्च घट्दो क्रममा छ । ‘आन्तरिक राजस्वतर्फ केही स्थायीत्व देखिएता पनि कुल गार्हस्थ्य उत्पादनमा योगदान सानो छ,’ आर्थिक सर्वेक्षणमा भनिएको छ, ‘यस अवधिमा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा प्रादेशिक आय ५.६२ प्रतिशत र खर्च ४.५५ प्रतिशत छ । संघीय अनुदान र राजस्व प्राप्तिको अनुपात समेत घट्दो क्रममा छ । बजेट सन्तुलन घनात्मक देखिएता पनि कमजोर खर्च गर्ने सक्ने क्षमतालाई संकेत गरेको छ ।’

आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा प्रदेशको कुल खर्च २३.१ प्रतिशत घट्न गई १८ अर्ब ५१ करोड ३६ लाख पुग्न गगेको छ । सोही अवधिमा चालु खर्चमा ३.६ प्रतिशतले र पुँजीगत खर्च ३३.२ प्रतिशतले घटेको मन्त्री थापाले बताए । उनले चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल खर्च ३.७ प्रतिशत घटी ८ अर्व ७९ करोड ५१ लाख भएको, चालु खर्चमा १०.२ प्रतिशतले वृद्धि भएको र पुँजीगत खर्च १६.७ प्रतिशतले घटेको छ ।
 

प्रतिक्रिया