धनगढी । जेठ महिनाभर बजेटका लागि हानथाप गरेका सुदूरपश्चिमका प्रदेश सांसद असार लागेपछि सरकारी खर्चमा घुमफिरमा छन् । सरकारी कार्यालयहरुमा असारे विकासको चटारो जस्तै लाग्ने गरी प्रदेश सांसदहरु पनि सरकारी भ्रमणमा छन् ।
प्रदेशसभाका विषयगत समितिमार्फत बजेट विनियोजन गराएर प्रदेश सांसद सरकारी भ्रमणमा निस्किएका हुन् । प्रदेशको सार्वजनिक लेखा समिति पदाधिकारी त लुम्बिनी प्रदेशको स्वीकृति लिएर भारतको उत्तराखण्डस्थित पर्यटकीयस्थल नैनीताल पुगेको चर्चा नै भयो ।
समितिका सभापति अक्कलबहादुर रावलसहित प्रदेश सांसदको टोली नैनीताल पुगेकोमा त्यसको आलोचना भएपछि उक्त भ्रमणलाई व्यक्तिगत बनाउन तथ्यहरु मेटाउने प्रयास गरिएको छ । ‘नैनीताल भ्रमणलाई सरकारी खर्चबाट हटाएर व्यक्तिगत भ्रमणमा राख्न लगाइएको छ,’ प्रदेशसभा सचिवालय स्रोतले भन्यो । सामाजिक सञ्जालमा नैनीताल घुमफिरको फोटो सार्वजनिक गरेकी प्रदेशसभा सदस्य मघु भारतीले आलोचनापछि हटाएकी थिइन् । ‘सरकारी बजेटमा गएका छैनौं, व्यक्तिगत रुपमा को–कहाँ जान्छ ? सबै कुरा भनिरहन पर्दैन होला,’ सभापति रावलले भने ।
अर्थ विकास तथा प्राकृतिक स्रोत समिति पनि भ्रमणमा छ । उक्त समितिको सभापति घनश्याम चौधरी छन् भने खगराज भट्ट, राजेन्द्रसिंह रावल, चक्रबहादुर मल्ल, ताराप्रसाद जोशी, नरेशकुमार शाही, ललिता सुनार र शिवसिंह ओली सदस्य छन् । असार ५ गते कर्णाली प्रदेशका संसदीय क्रियाकलापहरुको अध्ययन भ्रमणमा उक्त समिति निस्किएको थियो ।
भ्रमण टोलीले सुर्खेतमा कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका पदाधिकारीहरुसँग भेटघाट तथा अन्तरक्रिया गरेको थियो । त्यसपछि भ्रमण टोली कालिकोट हुुँदै राराको अवलोकनमा पुुगेका थियो । रारा घुमघाम गरेका विभिन्न तस्बिरहरु उनीहरुले सामाजिक सञ्जालमा राखेका छन् । सोमबार दैलेखको इन्धन उत्खनन् भइरहेको ठाउँको अवलोकन गरेर फर्किने योजना रहेको बताइएको छ ।
विधायन तथा प्रदेश मामिला समितिले भने भ्रमण कार्यक्रम सकेको छ । उक्त समिति कैलालीकै चिसापानी र टीकापुर भ्रमण गरेर फर्किएको हो । कैलालीमै भ्रमण कार्यक्रम बनाइएको हुँदा उक्त टोलीमा थोरै प्रदेश सांसद मात्रै सहभागी थिए ।
सांसद धर्मराज पाठक नेतृत्वको सामाजिक विकास समितिका सदस्यहरु अहिले काठमाडौंको भ्रमणमा छन् । भ्रमणका क्रममा उक्त टोलीले प्रतिनिधिसभाका तीन वटा विषयगत समितिका पदाधिकारीहरु, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षसँग भेटघाट गरेको छ । उक्त भ्रमण टोलीमा सभापति पाठकसहित प्रदेशसभा सदस्य ओमबिक्रम भाट, कैलाश चौधरी, खुसीराम डगौरा थारु, जानकीदेवी कुँवर, झपटबहादुर साउँद, तुलसी देवकोटा, माया पन्त र शिवराज भट्ट तथा प्रदेशसभाका चार जना कर्मचारीहरु सहभागी छन् ।
सुदूरपश्चिम प्रदेश सभामा पाँच वटा विषयगत समितिहरु छन् । यसैवर्ष गठन भएको विशेषाधिकार समितिबाहेक अन्य समितिका पदाधिकारीहरुले विगतदेखि नै अध्ययन भ्रमणका नाममा सरकारी बजेट खर्च हुँदै आएका छन् । प्रदेशसभा सचिवालयका अनुसार हरेक समितिलाई वार्षीक सात लाखसम्म अध्ययन भ्रमण शीर्षकमा विनियोजन गर्ने गरिएको छ । प्रदेश सभा सचिवालयका अनुसार भ्रमण खर्चका लागि सांसदहरुले यातायातबाहेक दैनिक दुई हजार पाँच सय भत्ता पाउने गरेका छन् ।
सभामुख भीमबहादुर भण्डारी असारमै भ्रमण गर्ने प्रवृतिले गलत सन्देश गइरहेको बताउँछन् । ‘भ्रमणहरु कर्मकाण्डी मात्र हुनु भएन । समितिहरुले आगामी वर्षका भ्रमणहरुको समय तालिकाहरु सच्च्याएर गयो भने राम्रो हुन्छ,’ उनले भने ।
प्रतिक्रिया