ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बजेटमा नयाँ विषय केही छैन : पूर्वमुख्यमन्त्री भट्ट

सोमबार ०९, असार २०८२ ०१:५९

धनगढी । सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा नयाँ विषय केही नभएको बताएका छन् । प्रदेश सरकारको आफ्नो योजना र कार्यक्रम के हो भन्ने नै बजेटमा नरहेको उनले टीप्पणी गरेका छन् ।

सुदूर सन्देश दैनिकले आज धनगढीमा गरेको बजेट सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा भट्टले कुनै पनि आशा लाग्ने कुरा नभएकाले बजेटप्रति आमनागरिक र वौद्धिक वर्गमा चाँसो पनि नदेखिएको बताए । ‘यो सरकारप्रति नागरिकमा धेरै चाँसो र आशा छैन, त्यसैले बजेटमा टीकाटीप्पणी पनि हुँदैन’ उनले भने, ‘कमीकमजोरी हाम्रो पालामा पनि थिए तर हामीले केही नयाँ गर्न खोजेका थियौँ ।’ 

प्रदेश गौरवका सडक, मुख्यमन्त्री कृषि कार्यक्रमसहित सिँचाइ, खानेपानीजस्ता पूर्वाधार निर्माणमा आफ्नो सरकारले विगतमा केही गर्न खोजेको उल्लेख गर्दै उनले यो बजेटमा त्यस्ता योजना नदेखिएको बताए । आफ्नो पालामा सुरु गरिएका योजनाहरुलाई सरकारले अगाडि बढाउन नसकेको उनको आरोप छ । 

दायित्व सिर्जना गरेर नयाँ योजनाहरु समावेश गर्ने र पुराना छोड्दै जाने प्रवृति सरकारमा देखिएको भट्टले बताए । प्रदेश सरकारले घाटा बजेट ल्याएको उल्लेख गर्दै उनले यस्तो बजेटले भोलिका दिनमा भुक्तानी गर्नै नसकिने गरी दायित्व सिर्जना हुने संस्थापक मुख्यमन्त्री भट्टले बताए ।

पूर्वमन्त्री पूर्णा जोशीले बजेट सरकारले नागरिकलाई निगाहा दिएजस्तो रहेको टीप्पणी गरिन् । उनले योजनाहरु आवश्यकताका आधारमा भन्दा पनि पहुँचका आधारमा बजेटमा राखिएको बताइन् ।

‘बजेटमा जनताको आवश्यकता हैन, मिसन ८४ छ, नेतादेखि नेतासम्म छ’ उनले भनिन्, ‘योजनाहरु बन्नुपर्ने ठाउँमा छैनन् । बजेट पहुँच भएका ठाउँमा लक्षित छ ।’

बजेट निर्माणमा पार्टीमा पनि गुटउपगुट हेर्न थालिएको उनले बताइन् । पूर्वमन्त्री जोशीले बजेट कार्यान्वयनको अवस्था के छ भनेर पनि हेर्न आवश्यक रहेको बताइन् ।

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले बजेट परम्परागत खालको रहेको टीप्पणी गरे । ‘परम्परागत खालको बजेट छ, यसो गरौँ भन्ने केही कुरा छैन’ उनले भने । प्रदेश सरकारले ऋण लिएर पनि काम गर्न सक्नुपर्ने जैसीले बताए ।

कार्यक्रममा एमाले नेता डेजी पाण्डेय, कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, महासचिव ओम बिष्ट, व्यवसायी मायाप्रकाश भट्ट, नागरिक अगुवा सचितानन्द जोशीलगायतले बजेटबारे टीप्पणी गरेका थिए ।  कार्यक्रमको सहजीकरण सुदूर सन्देश दैनिकका सम्पादक/प्रकाशक हेमन्त पौडेलले गरेका थिए ।    

प्रतिक्रिया