धनगढी । तीन तहका सरकारहरुले कृषिलाई व्यवसायीकरण र कृषि क्षेत्र विस्तारका लागि हरेक वर्ष बजेट सहितको कार्यक्रम ल्याउँछन् । ती कार्यक्रमअन्तरगत केही किसानहरुलाई सहयोग समेत पुग्छ । तर, पछिल्ला वर्षहरुमा सुदूरपश्चिम प्रदेशमा कृषि उपजले ढाकेको क्षेत्रफल घट्दै गएको छ ।
प्रदेशमा रहेको खेतीयोग्य जमिनको खण्डीकरण, युवाहरुको कृषि क्षेत्रप्रतिको विकर्षण तथा वैदेशिक रोजगारीको बढ्दो मोह, पहाडी तथा हिमाली भेगबाट शहरी क्षेत्रमा बसाइसराइ लगायतका कारणले यस्तो भू–क्षेत्रमा गिरावट आएको नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक गतिविधि सर्वेक्षण अर्धवार्षिक प्रतिवेदन २०८१÷८२ ले जनाएको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक समेटिएको सो प्रतिवेदनमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसला)ले ढाकेको क्षेत्रफलमा २.८५ प्रतिशतले ह्रास आएको उल्लेख छ ।
‘गत वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल ४.२५ प्रतिशतले ह्रास भएको थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘समीक्षा अवधिमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल ३.०७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो क्षेत्रफलमा ५.७५ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा मकै, कोदो, फापर, दलहन, र उखुको क्षेत्रफल क्रमशः ३.९७ प्रतिशत, ८.३७ प्रतिशत, १६६.६३ प्रतिशत, ६.४४ प्रतिशत र ०.४० प्रतिशतले वृद्धि भएको छ भने धान, आलु, भटमास र तेलहनको क्षेत्रफल क्रमशः ३.२८ प्रतिशत, १३.५६ प्रतिशत, २.०८ प्रतिशत र २.१६ प्रतिशतले ह्रास आएको छ ।’
प्रदेश कृषि विकास निर्देशनालयका अनुसार सुदूरपश्चिममा तीन लाख ६९ हजार ७९६ हेक्टर जमीनमा खेती हुँदै आएको छ । आर्थिक वर्ष २०८०÷८१ को आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनका अनुसार सो वर्ष सुदूरपश्चिम प्रदेशमा प्रमुख कृषि बाली खेतीको क्षेत्रफल ७.७१ प्रतिशत र खाद्यान्न बाली खेतीको क्षेत्रफल ८.९१ प्रतिशतले ह्रास भएको थियो । आर्थिक वर्ष २०७९÷८० मा खेती गरिएको क्षेत्रफल २.१८ प्रतिशतले घटेको थियो ।
चालुआर्थिक वर्षमा फलफूलले ढाकेको क्षेत्रफल २.७५ प्रतिशतले ह्रास भएको प्रतिवेदनले जनाएको छ । ‘गत वर्ष सोही अवधिमा यस्तो क्षेत्रफल १.६६ प्रतिशतले ह्रास भएको थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘समीक्षा अवधिमा मसला बालीले ढाकेको क्षेत्रफल ८.६२ प्रतिशतले ह्रास भएको छ । गतवर्ष सोही अवधिमा यस्तो क्षेत्रफल २.२५ प्रतिशतले वृद्धि भएको थियो । त्यसैगरी, समीक्षा अवधिमा मह घारको संख्या ५३.९४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो संख्या ४.५४ प्रतिशतले बढेको थियो ।’
मुख्य तथा अन्नबालीको खेती गरिएको क्षेत्रफल घटे पनि समीक्षा अवधिमा तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा १.२५ प्रतिशतले बृद्धी भएको छ । प्रतिवेदनमा यसवर्ष २७ हजार ३२ हेक्टर जमीनमा तरकारी खेती गरिएको उल्लेख छ । गतवर्षको तरकारी खेती गरिको क्षेत्रफल १२.३२ प्रतिशतले वृद्धि भएको थियो ।
चालुआर्थिक वर्षमा खेती गरिएको क्षेत्र घटे पनि प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलपूmल तथा मसला) को उत्पादन २.२६ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । ‘प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी दलहन र धानको उत्पादन क्रमशः १७.०१ प्रतिशत र ५.०९ प्रतिशतले वृद्धि भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘उखुको उत्पादन भने १.१२ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा समग्र कृषि बालीको उत्पादनमा ०.९५ प्रतिशतले वृद्धि भएको थियो । समिक्षा अवधिमा यस प्रदेशको कृषि वालीले ढाकेको क्षेत्रफलमा केही कमी आएतापनि कृषिमा बढेको व्यावसायिकता, सिँचाइमा भएको विस्तार, चक्लाबन्दी तथा बेमौसमी तरकारी खेतीमा आकर्षण लगायतका कारणले प्रमुख कृषि बालीको उत्पादनमा वृद्धि भएको देखिएको छ ।’
प्रमुख कृषिबालीको उत्पादन बढेपनि फापरको उत्पादनमा सबैभन्दा बढी ७१.२२ प्रतिशतले ह्रास आएको छ । अन्य बालीहरुमा मकै, कोदो, आलु, भटमास र तेलहनको उत्पादनमा क्रमशः ९.७९ प्रतिशत, २४.१६ प्रतिशत, १.५४ प्रतिशत, ९.८४ प्रतिशत र ४.५९ प्रतिशतले कमी आएको छ ।
प्रतिक्रिया