ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अमरेशले ५ जिल्लाबाहेक अरू विदेशीलाई दिऊँ भनेपछि संसदमा हंगामा

आइतबार ०८, असार २०८२ ०१:५७

काठमाडौं । स्वतन्त्र सांसद अमरेश सिंहले नेपालका ५ बाहेक बाँकी जिल्लालाई लिजमा दिन भनेपछि संसदमा एमाले सांसदहरूले आपत्ति जनाएका छन् ।  

आइतबार बजेटमाथिको छलफलमा भाग लिँदै सिंहले मुख्य नेताबाहेकका जिल्लामा बजेट नदिएको भन्दै अन्य देशलाई बाँकी जिल्ला लिजमा दिन भनेका थिए ।

‘नेपाल सरकारलाई म आग्रह गर्न चाहान्छु– यो भाग्यमानी चार/पाँच जिल्ला जुन छन्, त्यसलाई नेपालमा राखौँ । बाँकी ७२ जिल्लालाई अर्को देशलाई लिजमा दिऊँ, अमेरिकालाई दिऊँ, भारतलाई दिऊँ, चीनलाई दिऊँ,’ उनले भने । बजेट नदिने भए ती जिल्ला नेपालमा किन राख्ने भन्ने प्रश्न उनले गरे । ‘बजेट नै जाँदैन भने ती जिल्ला नेपालमा किन राख्ने ? खाली ट्याक्स लिनलाई राख्ने ?,’ सिंहले प्रश्न गरे । 

उनको अभिव्यक्तिलाई लिएर एमालेको प्रमुख सचेतक महेश बर्तौलाले नियमापत्ति जनाए । उनले सांसद सिंहको अभिव्यक्ति देशद्रोही भएको भन्दै त्यसलाई संसदकाे रेकर्डबाट हटाउन र सिंहमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए । 

लगत्तै सभामुख देवराज घिमिरेले सांसद सिंहको भनाइ रेकर्डबाट हटाउन संसद सचिवालयलाई आदेश दिएका थिए । ‘यो असंसदीय भाषा प्रयोग भयो,’ घिमिरेले भने, ‘म रेकर्डबाट हटाउन निर्देशन दिन्छु ।’ 

तर, सभामुखको रुलिङपछि पनि सांसद सिंह आफ्नो भनाइ राख्नबाट रोकिएनन् । उनले सबै जिल्लामा बजेट दिन सभामुखले रुलिङ गर्न किन नसक्ने भन्ने प्रश्न राखे । सांसद सिंह पछि नहटेपछि सत्तारुढ दलका सांसदहरू उठेर उनको विरोध गरेका थिए । सांसद सिंहविरुद्ध नाराबाजी भएपछि र होहल्ला हुन थालेपछि घिमिरेले सांसद सिंहलाई आफ्नो भनाइ बन्द गर्न आदेश दिए । 

प्रतिक्रिया