ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

घोडाघोडीमा अवण्डा बजेट राखेर अपारदर्शी खर्च

शनिबार ०७, असार २०८२ १२:०८

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा एक करोड ४७ लाख ९० हजार रुपैयाँ अवण्डा बजेट राखेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको गत वर्षको प्रतिवेदनअनुसार नगरपालिकाले उक्त अवण्डा बजेटको एक करोड २१ लाख रुपैयाँ पछि विभिन्न ३० वटा योजनामा खर्च गरेको छ ।

नगरपालिकाले अवण्डा बजेट कार्यपालिकाबाट निर्णय गराएर खर्च गरेको हो । यसरी अवण्डा बजेट राखेर खर्च गर्दा वित्तीय अनुशासन र पारदर्शीता कायम नभएको महालेखाले औँल्याएको छ । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा अवण्डा बजेट नराखी आयव्ययको अनुमान पेश गर्नुपर्ने व्यवस्था छ । तर कतिपय स्थानीय तहहरुले अवण्डा बजेट राखेर पछि मनोमानीरुपमा खर्च गर्दै आएका छन् ।

घोडाघोडीले गत वर्ष अतिथि सत्कार शीर्षकमा मात्र सात लाख रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा जनाइएको छ । त्यस्तै इन्धनमा ५६ लाख ७८ हजार ४३७ र सवारी साधन मर्मतमा ३९ लाख ९९ हजार खर्च गरेको छ । महालेखाले नगरपालिकालाई इन्धन तथा सवारी मर्मत खर्चको अभिलेखलाई व्यवस्थित गर्नुका साथै यस्तो खर्चमा मितव्ययिता अपनाउन भनेको छ ।

तीन करोड ४० लाख ३९ हजार ७७५ रुपैयाँ आन्तरिक आम्दानी रहेको नगरपालिकाले पदाधिकारीकारीको सेवासुविधा शीर्षकमा एक करोड १२ लाख ७१ हजार रुपैयाँ खर्च गरेको छ । महालेखाले आन्तरिक आयको परिधिभित्र रही औचित्यताका आधारमा खर्च गर्न तथा आयको आधार र पदाधिकारीको सुविधाबीच तादात्यता मिलाइ चालु खर्चलाई व्यवस्थित गर्न सुझाव दिएको छ ।

प्रतिक्रिया