ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सहसचिव भट्टराईको डायरीमा सेटिङमा पठाइएकाहरूको हिसाब

मङ्गलबार ०३, असार २०८२ ०३:४६

काठमाडौँ । भिजिट भिसामा विदेश पठाएर रकम असुलेको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईमाथि अनुसन्धान गरिरहेको छ । हाल आफूहरूले भट्टराईबाट जफत गरिएको डायरीको विवरण विश्लेषण गरिरहेको अख्तियारका अधिकृतहरू बताउँछन् । 

उनीमाथि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको प्रमुख हुँदा बिचौलियाहरूसँग मिलेर भिजिट भिसामा ‘सेटिङ’ गरेर कागजात नपुगेका नेपालीलाई विदेश पठाएको आरोप छ । कागजात नपुगेकाहरूलाई विदेश उड्ने अनुमति दिएर भट्टराईले गिरोहसँग मिलेर लाखौँ असुलेको अख्तियारको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

भट्टराईको डायरीमा सेटिङमा पठाइएका मानिसहरूको सूची र हिसाब किताव भेटिएको अख्तियारका एक जना उच्च अधिकृतले बताए । जेठ ७ देखि आयोगले भट्टराईमाथि अनुसन्धान गरिरहेको छ । डायरीमा भिजिटमा पठाउनुपर्ने व्यक्तिहरूको विवरण र को मार्फत आएको भनेर पनि उल्लेख गरेका छन् । विवरण अनुसार गृह मन्त्रालयका उच्च अधिकृतहरूको नाम पनि उल्लेख छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘यो फलानोको मान्छे, यिनीहरूलाई आज उडाउनुपर्ने भनेर उल्लेख गरेको देखिन्छ ।’

बिचौलिया मार्फत आएका र मन्त्रालयका अधिकृतहरूले सिफारिसमा अध्यागमन क्लियर गर्नुपर्ने व्यक्तिहरूको सूची डायरीमा रेखाङ्कन गरेर विवरण राखेको फेला परेको छ । ‘कोड वर्ड’ र संकेतहरु पनि डायरीमा भेटिएको छ । कोड वर्डबारे अनुसन्धान अधिकृतहरूले सहसचिव भट्टराई, सेटिङमा संलग्न आरोपीहरू खगेन्द्र सुवेदी, बालकृष्ण पौडेल र एक जना महिलासँग सोधपुछ गरेका छन् ।  

अनुसन्धान अधिकृतहरूले भट्टराईको दुई वटा मोबाइल बरामद गरेका छन् । मोबाइलको पासवर्ड भन्न भट्टराईले ‘आनाकानी’ गरेको अख्तियारका अधिकृतहरू बताउँछन् । अख्तियार स्रोतका अनुसार भट्टराईले भनेको पासवर्डबाट मोबाइल खुलेन । त्यसपछि पटक–पटक सोधपुछ गर्दा उनले भन्ने गरेका छन्, ‘पहिला त्यही थियो, किन खुलेन मलाई त्यसबारे थाहा भएन ।’

सहसचिव तीर्थराज भट्टराई, ‘द होलिडेज’ ट्राभलका सञ्चालक बालकृष्ण पौडेल र अर्का एक जना खगेन्द्र सुवेदी सहित चार जनाको डिभाइस आयोगले बरामद गरेको छ । खगेन्द्र सुवेदी र तीर्थराज भट्टराई पछिल्लो समय निकट भनेर चिनिन्छन् । बालकृष्ण पौडेल एसकेआर मेनपावरसँग पनि आबद्ध छन् ।

अनुसन्धानको दायरामा अर्की एक जना महिला पनि छिन् । ती महिलासँग आयोगले बयान लिइसकेको छ । ती महिलासँग भट्टराईको आर्थिक ‘लेनदेन’ रहेको भेटिएको छ । पर्यटक भिसा लगाएर बिदेसिनेहरुसँग असुल्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र बिचौलियाले ‘कोड वर्ड’ प्रयोग गर्दै आएका थिए । उनीहरूले युएई र कुवेततर्फ जाने महिलाहरूबाट धेरै रकम असुल्ने गरेको अख्तियारको भनाइ छ । 

प्रतिक्रिया