ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट (पूर्णपाठ)

आइतबार ०१, असार २०८२ ०९:१०

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/०८३ का लागि झण्डै साढे ३३ अर्बको बजेट ल्याएको छ । आइतबार प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेशसभाको बैठकमा अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ७० लाख ४८ हजार बराबरको वार्षिक बजेट प्रस्तुत गरेका हुन् । 

मन्त्री थापाले अगामी वर्षका लागि चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार (३०.४९) र पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार (५९.२५) बजेट विनियोजन गरेको जानकारी दिए । 

यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ४२ करोड ७७ लाख र वित्तीय व्यवस्थातर्फ एक करोड विनियोजन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । प्रदेश सरकारले सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई झण्डै साढे १५ अर्ब बजेट विनियोजन गरेको छ ।

प्रदेशका आर्थिक मामिलामन्त्री थापाले १५ अर्ब ४० करोड ३० लाख १७ हजार बजेट विनियोजन गरिएको जानकारी दिए । चालु आर्थिक वर्षमा उक्त मन्त्रालयका लागि १४ अर्ब ६० करोड १४ लाख ७४ हजार विनियोजन गरिएको थियो । आगामी वर्षका लागि करिब एक अर्ब बढाइएको छ । पौने नौ अर्ब मात्रै सिलिङ दिइएकोमा अन्तिम समयमा खिचातानीकाबीच भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि बजेट बढाइएको हो । 

सडक निर्माण, खानेपानी योजना निर्माण तथा मर्मत, जल उत्पन्न प्रकोप नियन्त्रण लगायतका योजनाका लागि बजेट विनियोजन गरिएको मन्त्री थापाले बताए । आगामी वर्षमा प्रदेश सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना सञ्चालन गर्ने मन्त्री थापाले बताए । प्रादेशिक र स्थानीय सडक सुधार आयोजना सञ्चालन गर्न एक अर्ब ३१ करोड ६२ लाख विनियोजन गरिने उनले बताए । उनले प्रदेश गौरव, बहुवर्षीय आयोजना, विगतमा निर्माण सुरु भएर निर्माण सम्पन्न नभएका योजनाको कार्यलाई उच्च प्राथमिकतामा राखेको बताए ।

मन्त्री थापाले जलवायु अनुकुल सिंचाई सुविधा विस्तारका लागि १० करोड २५ लाख विनियोजन गरको बताए । उनले निजी सार्वजनिक साझेदारीमा जलविद्युत उत्पादन सुरुवात गर्न बजेट विनियोजन गरेको बताए ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रका लागि तीन अर्ब ३० करोड १० लाख बजेट विनियोजन गरिएको मन्त्री थापाले जानकारी दिए । कृषि क्षेत्रमा एक स्थानीय तह दुई उत्पादन कार्यक्रम सञ्चालन गरिने मन्त्री थापाले जानकारी दिए । उक्त कार्यक्रमका लागि एक सय ७६ पकेट निर्माण गरिने प्रदेश सरकारले जनाएको छ । उक्त कार्यक्रमका लागि ७० करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री थापाले बताए । उक्त कार्यक्रमका लागि प्रदेशभर एक ७६ जना प्राविधकि परिचालन गरी पाँच हजार कृषक लाभान्वित हुने उनको दाबी छ । 

प्रदेश सरकारले किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिने भएको छ । त्यसका लागि १३ करोड ४५ लाख विनियोजन गरिएको मन्त्री थापाले बताए । यसले कृषि क्षेत्रमा लाग्न युवालाई प्रोत्साहन मिल्ने उनले बताए । त्यस्तै एक जिल्ला एक उद्योगका लागि एक करोड विनियोजन गरिएको छ ।

प्रदेश सरकारले उद्योग, वन र पर्यटन क्षेत्रका लागि दुई अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ । मन्त्री थापाले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका लागि दुई अर्ब ३४ करोड ४८ लाख बजेट विनियोजन गरेको जानकारी दिए । 

यस्तै खेलकुदतर्फ एक जिल्ला एक क्रिकेट खेल मैदान निर्मााण गरिने मन्त्री थापाले बताए । उक्त कार्यका लागि एक करोड २५ लाख बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट कैलालीमा टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणको काम सुरु गर्ने भएको छ । त्यसका लागि आगामी वर्षको बजेटमा साढे पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ । सामाजिक विकास मन्त्रालयका लागि प्रदेश सरकारले सात अर्ब सात करोड चार लाख बजेट विनियोजन गरेको छ । यस्तै, आन्तरिक मामिला मन्त्रालयलाई ३६ करोड चार लाख बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया