धनगढी । आइतबार ५ बजे हुने भनिएको सुदूरपश्चिम प्रदेश सरकारको बजेट भाषण ७ बजेका लागि सारिएको छ । प्रदेश सरकारको अनुरोधमा बेलुका ७ बजेका लागि बैठक सारिएको बताइएको छ ।
सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले भनेका छन्, ‘५ बजे बस्ने भनिएको सुदूरपश्चिम प्रदेशसभाको छैटौँ अधिवेशनको ११औं बैठक विशेष कारणले साँझ ७ बजे बस्ने व्यहोरा जानकारीका लागि अनुरोध छ ।’
प्रदेश सरकारले असार १ गते प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सरकारले बजेट निर्माणको काम नसक्दा प्रदेशसभा बैठक सारिएको बताइएको छ । प्रदेशको आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बजेट निर्माणको काम अझै नसकिएको बताए । ‘भौतिक पूर्वाधार विकास मन्त्रालयका योजना बजेटमा समेट्ने काम सकिएको छैन,’ उनले भने ।
बजेट निर्माणमा प्रदेशको आर्थिक मामिला मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबीच खिचातानी थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयले आफ्नो मन्त्रालयको दायित्व बढी भएको भन्दै बजेट बढाउन माग गर्दै आएको थियो ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३० अर्ब हाराहारीको बजेट ल्याउने जनाएको छ । चालु आर्थिक वर्षको लागि भने प्रदेश सरकारले ३१ अर्ब ५३ करोडको बजेट ल्याएको थियो ।
प्रतिक्रिया