धनगढी । सुदूरपश्चिम प्रदेश सभामा प्रमुुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद ओमबिक्रम भाट सरलले प्रदेश सभामा प्रतिपक्षीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् । प्रतिपक्षले आफ्नो भूमिका निर्वाह गर्न नसकेको भन्दै उनले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।
‘सुदूरपश्चिम प्रदेशमा सत्ता पक्ष र बजेट पक्षमात्र देखियो । प्रतिपक्षी कोमामा रहेको अनुभुतभो’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तर यत्तिमात्र कामना छ, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको मलामी जान विवश हुने दिन नआओस् ।’ बजेट निर्माणका सन्दर्भमा प्रतिपक्षको भूमिकामाथि उनले प्रश्न उठाएका हुन् । सदनमा आफ्नै पार्टीको भूमिकाप्रति उनको असन्तुष्टि छ ।
यसअघि प्रदेश सरकारले सदनमा पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा पनि उनले प्रतिपक्षको भूमिकामाथि प्रश्न उठाएका थिए । सत्तापक्षका सांसद भ्रष्टाचारसँग जोडिएको एकपछि अर्को अडियो सार्वजनिक हुँदा पनि तिनको छानविनका लागि प्रतिपक्षले सदनमा शसक्त भूमिका खेल्न नसकेको उनले बताएका थिए ।
‘अडियो प्रकरणको सही जाँचपड्ताल भएको भए, प्रतिपक्षीहरुले सशक्त ढंगले खबरदारी गर्न सकेको भए सरकार सायद मनमौजी र तानाशाही हुने थिएन, जनताप्रति थोरै भए पनि उत्तरदायी हुन्थ्यो होला । तर सरकारका कामकरबाही, गतिविधि र कार्यशैलीको आलोचना गर्दा योजना काटिएलान् की, फेरी सत्ताको लाभ लिन नपाइएला की भनेर सबै चुप छन्’ उनले भनेका थिए, ‘सदन वास्तवमा प्रतिपक्षीहरुको हो तर यहाँ सत्ता पक्षकै जस्तो किन हुन पुग्यो ? यसको समिक्षा हामी प्रतिपक्षीहरुले गर्न जरुरी देखियो ।’
प्रतिक्रिया