ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमको आर्थिक वृद्धिदर सबैभन्दा न्यून

शुक्रबार ३०, जेठ २०८२ ०६:०१

धनगढी । सुदूरपश्चिम प्रदेशको चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर अरु छ वटा प्रदेशभन्दा न्यून रहने भएको छ । आर्थिक सर्भेक्षणले सुदूरपश्चिमको आर्थिक वृद्धिदर सबैभन्दा न्यून हुने अनुमान गरिएको छ । 

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले सुदूरपश्चिमको आर्थिक सर्भेक्षण शुक्रबार प्रदेश सभामा पेश गरेका छन् । सर्भेक्षणअनुसार यस वर्ष सुदूरपश्चिमको आर्थिक वृद्धिदर ३.३२ प्रतिशत रहने छ । त्यस्तै सबैभन्दा बढी आर्थिक वृद्धिदर गण्डकी प्रदेशको ५.५१ प्रतिशत रहने अनुमान गरिएको छ ।

मन्त्री थापाले देशको कुल गार्हस्थ उत्पादनमा सुदूरपश्चिमको योगदान ७.०३ प्रतिशत रहने अनुमान रहेको जानकारी दिए । राष्ट्रिय स्तरमा यस वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार ४९६ अमेरिकी डलर हुने अनुमान रहेकोमा सुदूरपश्चिम प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन भने एक हजार १५३ डलर रहने अनुमान आर्थिक सर्भेक्षणमा गरिएको छ ।  

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदान ३४.९५ प्रतिशत द्धितीय क्षेत्रको १२.३० र तृतीय क्षेत्रको ५२.७५ प्रतिशत रहने सर्भेक्षणले देखाएको छ ।  गत फागुन मसान्तसम्म सुदूरपश्चिममा लघुवित्त तथा वित्तीय संख्याको शाखा संख्या आठ सय ४९ वटा छन् ।

सुदूरपश्चिम प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाको पुस मसान्तसम्मको निक्षेप संकलन एक खर्ब ४४ अर्ब रुपैयाँ र कर्जा प्रवाह एक खर्ब ५३ अर्ब रुपैयाँ रहेको जनाइएको छ । जुन बैंक तथा वित्तीय संस्थाको देशभरको निक्षेप संकलनमा सुदूरपश्चिमको योगदान २.१५ प्रतिशत र कुल कर्जा प्रवाहमा २.८२ प्रतिशत हुन आउँछ ।

सर्भेक्षणअनुसार सुदूरपश्चिममा गएको चैत मसान्तसम्म उद्योगको संख्या एक हजार ६३१ पुगेको, ती उद्योगमा कुल प्रस्तावित लगानी दुई अर्ब ६४ करोड ६० लाख र प्रस्तावित रोजगारी संख्या पाँच हजार ७७७ रहेको छ । मन्त्री थापाले सुदूरपश्चिममा चालु आर्थिक वर्षको चैत मसान्तसम्म प्रदेशमा १० हजार ७०६ वटा नयाँ सवारी दर्ता भएका जानकारी दिए 
 

प्रतिक्रिया