डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकाले ऐनविपरीत सरकारी रकम प्रयोग गरेर ३९ जना जनप्रतिनिधिको बीमा गराएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गाउँपालिकाले जनप्रतिनिधिहरूको बीमाका लागि एसियन लाइफ इन्स्योरेन्स कम्पनी जोगबुडा शाखालाई चार लाख ३७ हजार ९९५ भुक्तानी गरेको हो ।
स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ को दफा २९१० अनुसार गाउँ कार्यपालिका अध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरूलाई निर्धारण गरिएको सुविधामा बीमा सुविधा भने स्पष्ट रूपमा उल्लेख गरिएको छैन । यस्तो अवस्थामा पालिकाले ऐनविपरीत बीमा खर्च गर्न नपाइने व्यवस्था छ ।
तर, आलिताल गाउँपालिकाले उक्त कानुनी व्यवस्थाको उल्लङ्घन गर्दै सरकारी कोषबाट अनधिकृत रूपमा बीमा खर्च गरेको छ । प्रतिवेदनअनुसार यो खर्च अनियमित देखिएको छ ।
यस्तै, आलितालले पदाधिकारी तथा कर्मचारीलाई ३३ लाख ६३ हजार ६०९ बराबरको भ्रमण तथा अनुगमन खर्च भुक्तानी गरेको छ । तर, तीमध्ये अधिकांश भ्रमणमा न उद्देश्य स्पष्ट छ, न त कार्यसम्पादनको विवरण नै प्रस्तुत गरिएको छ।
वित्तीय नियमावलीअनुसार सरकारी भ्रमणमा खर्च भएपछिको कार्य विवरणसहितको प्रतिवेदन अनिवार्य पेस गर्नुपर्ने व्यवस्था छ । तर, आलिताल गाउँपालिकाले अधिकांश भ्रमण खर्च त्यस्ता प्रतिवेदनबिनै भुक्तानी गरेको देखिएको छ । कतिपय भ्रमण त पालिका वा कार्यालयको नियमित कामसँग सरोकार नभएका अन्तरपालिका भ्रमणसमेत रहेका छन् ।
प्रतिक्रिया