ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा अझै सक्रिय हुन सकेन मनसुन, कहिले पर्छ पानी ?

मङ्गलबार २७, जेठ २०८२ ११:०२

धनगढी । नेपालमा मनसुन भित्रिएको दुई साता पुग्न लागेको छ । जेठ १६ गते मनसुन भित्रिएकोमा कोशी प्रदेशभन्दा पश्चिमतर्फ सर्न सकिरहेको छैन । 

जसका कारण पश्चिम नेपालका तराइका जिल्लामा अत्यधिक गर्मी बढेको छ । महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार कैलाली र कञ्चनपुर जिल्लामा निरन्तर गर्मी बढेको छ । कैलालीको धनगढी र आसपासका क्षेत्रमा सोमबार अत्यधिक गर्मी थियो । मंगलबार बिहान सामान्य वर्षा भए पनि गर्मी भने घट्न सकेको छैन । 

मौसमविद्हरुका अनुसार मनसुनी वायुले पश्चिमी वायुलाई विस्थापित गर्दै पूर्वी नेपालबाट सुदूरपश्चिमसम्मै फैलिएपछि पानी पर्छ । तर, अझै पनि पश्चिम र मध्य नेपालमा पश्चिमी वायुको प्रभाव छ । त्यसैले पश्चिमी वायु र स्थानीय वायुको प्रणाली विकसित भएर केही क्षेत्रमा पानी पर्नुबाहेक मनसुनी वायुको कारण पानी पर्न सकेको छैन । 

तर अब चर्किएको घामबाट एक/दुई दिनमै राहत मिल्ने संकेत देखिएको मौसमविदले बताएका छन् । त्यसको संकेत आजैदेखि देखिएको छ । आज बिहानैदेखि सुदूरपश्चिमका केही क्षेत्रमा पनि बादल लागेको छ ।

साथै आज बिहानदेखि सुदूरपश्चिम प्रदेश लगायत लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा वर्षा गराउने प्रणाली विकसित भई दक्षिण–पूर्व दिशामा फैलिरहेको छ । सो क्षेत्रका थोेरै स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । एक–दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ ।
मौसमविद गोविन्द झा भन्छन्, ‘अबका केही दिन मनसुनी झरी जस्तो लगातार पानी नपरे पनि बेलाबेला पानी पर्ने सम्भावना छ ।’

सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन सुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ । यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ । केही वर्षयता भने सरदर मितिभन्दा अगाडि मनसुन भित्रिने र सरदर मितिभन्दा पछाडि मनसुन बाहिरिने गरेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा वर्षा र गर्मी दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ । 
 

प्रतिक्रिया