धनगढी । चालु आर्थिक वर्षभरिको खर्चहरु भुक्तानी गर्ने अन्तिम समय आउदा सरकारी लेखा प्रणाली (सिगास र शुत्र) एक सातादेखि ह्याङ्ग भएको छ ।
प्रदेश र संघ सरकारले खर्चको लेखा राख्ने सिगास र स्थानीय तहले लेखा राख्ने शुत्र ह्याङ्ग हुँदा भुक्तानी प्रभावित भएको हो । धनगढी उपमहानगरपालिकाले एक सातादेखि सुत्र नचलेर भुक्तानी कार्य रोकिएको जनाएको छ । त्यस्तै गोदावरी नगरपालिकाले दुई दिनदेखि सुत्र नचलेको जनाएको छ ।
गोदावरी नगरपालिकाका लेखा अधिकृत खगेन्द्र चौधरीले एप्लिकेशन सञ्चालन गर्ने महालेखा नियन्त्रणकको कार्यालयमा सोध्दा एप्लिकेशनमा समस्या आएको जानकारी प्राप्त भएको बताए । सो जानकारीअनुसार सुत्र खुल्न अझै २/३ दिन लाग्ने बताए ।
यसैगरी, प्रदेश सरकारका मन्त्रालय र मातहतका कार्यालयहरुले पनि सिगास ह्याङ्ग भएको हुनाले भुक्तानी गर्न पाएका छैनन् । एक हप्तादेखि सिगास नचलेपछि भुक्तानीको कुनैपनि काम गर्न नपाएको एक जना लेखा अधिकृतले बताए ।
प्रदेश लेखा नियन्त्रक बाशुदेव जोशीले पनि सिगास डिस्टर्ब रहेको बताए । ‘एकछिन चल्छ, एकछिन बन्द हुन्छ,’ उनले भने, ‘केही घण्टा खुल्ने, केही घण्टा बन्द हुने भएको हुँदा त्यसमा लागि रहने साथीहरुले भुक्तानीको फाइल बनाएर पठाइरहनु भएको छ । अलिबेर घुम्न थालेपछि चलेन भनेर छोडेर हिन्ने साथीहरुले काम गर्न सक्नु भएको छैन ।’
लेखा नियन्त्रक जोशीले सिगास एप्लिकेशनमा आएको समस्याले भुक्तानी प्रभावित भएको बताए । उनले वर्षभरि गरिएको कामको भुक्तानीको लागि फाइलहरु कार्यालय र मन्त्रालयमा आइरहेको भएपनि अहिले चाप नबढेको बताए । उनले कही दिन यो समस्या समाधान नभए ठूलो समस्या हुने बताए ।
प्रदेश सरकारले हालसम्म ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँ बजेट मध्ये करिब १२ अर्ब ६५ लाख खर्च गरिको छ भने १९ अर्ब रुपैयाँ खर्च गर्न बाँकी छ । बाँकी रकमको अधिकांश अंश असारमै भुक्तानी हुने गरेको छ ।
प्रतिक्रिया