धनगढी । नेकपा माओवादी केन्द्रका सांसद ओमबिक्रम भाट सरलले केन्द्रजस्तै प्रदेशमा पनि सरकार भ्रष्टाचारीलाई जोगाउन लागि परेको आरोप लगाएका छन् । सदनमा आज सरकारको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले सांसदहरुका एकपछि अर्को भ्रष्टाचारसम्बन्धी अडियोहरु सार्वजनिक हुँदा पनि सरकारले अनुन्धान र छानविन गर्न नसकेको बताए ।
‘सत्तारुढ सांसदहरुका अडियोहरु एकपछि अर्को आइरहेका छन् । यही विषयमा केही समय यो सभा अवरुद्ध पनि भयो । तर यो विषय सामसुम पारियो’ भाटले भने, ‘भ्रष्टाचार खुलेआम भइरहेको कुरा बाहिर आएको छ । अडियो आएका छन् । बयान आएका छ्न् । तर अनुसन्धान हुँदैन ।’ प्रदेश सभाको प्रमुख प्रतिपक्षी दलका सांसद भाटले प्रतिपक्षीहरुले पनि सदनमा सशक्त भूमिका निर्वाह गर्न नसकेको टीप्पणी गरे ।
सांसदहरु नै जोडिएका अडियो काण्डहरुको छानविनका लागि प्रतिपक्षहरुले सशक्त ढंगले खबरदारी गर्न नसकेको उनको भनाइ थियो । सरकारको आलोचना गर्दा योजना काटिएलान् भन्ने डरले भ्रष्टाचारका विषयमा सबै चुप रहेको उनले बताए ।
‘अडियो प्रकरणको सही जाँचपड्ताल भएको भए, प्रतिपक्षीहरुले सशक्त ढंगले खबरदारी गर्न सकेको भए सरकार सायद मनमौजी र तानाशाही हुने थिएन, जनताप्रति थोरै भए पनि उत्तरदायी हुन्थ्यो होला’ सांसद भाटले भने, ‘तर सरकारका कामकरबाही, गतिविधि र कार्यशैलीको आलोचना गर्दा योजना काटिएलान् की, फेरी सत्ताको लाभ लिन नपाइएला की भनेर सबै चुप छन् ।’
प्रतिपक्षी पनि सत्तापक्षजस्तै देखिएको उनले टीप्पणी गरे । ‘सदन वास्तवमा प्रतिपक्षीहरुको हो तर यहाँ सत्ता पक्षकै जस्तो किन हुन पुग्यो ? यसको समिक्षा हामी प्रतिपक्षीहरुले गर्न जरुरी देखियो । माननीयहरुको बडी ल्याङ्वेजले त्यो देखाइरहेको छ ।’ सांसद भाटले भने ।
आर्थिक लेनदेनसँग जोडिएको अडियो सार्वजनिक भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले गत चैतमा राजीनामा दिएका थिए । तर उक्त अडियोबारे छानविन हुन सकेका छैन । एमाले सांसद जानकी ऐरको आर्थिक लेनदेनसँग जोडिएको अडियो पनि हालै सार्वजनिक भएको छ ।
सांसद भाटले सत्ता पक्षमात्र नभइ विपक्षमा पनि सरकारलाई चोखो र शुद्ध देखाउने र प्रमाणित गर्ने होडबाजी चलेको टीप्पणी गरे । ‘यहाँ कुराहरु आए, मुख्यमन्त्रीको कोटमा दाग लाग्ला, उहाँ यस्तो, उस्तो साफ भन्ने पनि सुनियो । एकपछि अर्कोले सफाइको सर्टिफिकेट दिने प्रतिस्पर्धा पनि देखियो’ उनले प्रश्न गरे, ‘यदी सरकार शुद्ध र यतिनै साफ हो भने संसदीय समिति बनाएर छानविन गर्न कसले रोक्यो ?’
सांसद भाटले नीति कार्यक्रम राम्रो छैन भनेर आलोचना गर्दा सरकारले योजना नहालिदेला भन्ने पिर रहेको बताए ।
प्रतिक्रिया