ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बजेटमा परिवारका मान्छे कसरी परिचालन भएका छन् सबै सूचना राखेर बसेका छौँ : शाही

आइतबार २५, जेठ २०८२ ०७:३८

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्य नरेशबहादुर शाहीले बजेट निर्माणका क्रममा भइरहेका बेथिति रोक्न सरकारसँग माग गरेका छन् । सदनमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले बजेट निर्माणका क्रममा बेथिति भइरहेका प्रशस्त सूचनाहरु आफूकहाँ आएको र ती सूचना मुख्यमन्त्रीलाई समेत आफूले जानकारी गराएको बताए ।

बजेटमा योजनाहरु राखिदिने भनेर पैसा असुल्ने काम भइरहेकोतर्फ संकेत गर्दै उनले त्यसमा परिवारका सदस्य र पार्टीका नेताहरु परिचालन भइरहेको दावी गरे । पूर्वआर्थिक मामिला मन्त्रीसमेत रहेका शाहीले बजेट निर्माणका क्रममा भइरहेका यस्ता विकृतिहरु रोक्न मुख्यमन्त्रीलाई आग्रह गरे ।

‘बजेका विषयमा टीम कहाँ बसिरहेको छ, कुन कुन टीमले कसरी काम गरिरहेको छ ? परिवारतिरका मान्छे कसरी ‘मोबिलाइजेसन’ भइरहेका छन् ? पार्टीका मान्छे कसरी मोबिलाइजेसन भइरहेका छन्, मन्त्रालयभित्र विवाद सिर्जना भएपछि ‘हाइकमाण्ड’ले अर्को को मान्छे तोकिरहेको छ यी सबै कुराहरु सूचना राखेरै बसिरहेका छौँ’ उनले भने, ‘गाउँमा साँझ–बिहान छाक टार्न नसकिरहेकाहरुले तिरेको करबाट हामी बजेट बनाउँदैछौँ । त्यो बजेटलाई जनपक्षीय बनाउने कुरामा ध्यान दिनुहोला ।’

बजेट निर्माणका क्रममा देखिएका बेथिति नरोकिए त्यसको परिणाम बजेट आएपछि देखिने उनले चेतावनी दिए ।  ‘बजेटका विषयमा जे बाहिर आइरहेको छ, यो सूचना हामीले दिइरहेकै छौँ । म अनुरोध गर्न चाहन्छु यो सूचनालाई मित्थ्या सावित गर्नोस् । बजेट कसरी बनिरहेको छ यो कुरालाई कन्ट्रोल गर्नोस्’ शाहीले भने, ‘म पूर्वमुख्यमन्त्री र माननीय मुख्यमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु । चाहियो भने सूचना दिउला, हामीले कुनै हावादारी बोलिरहेका छैनौँ ।’

राज्यको पूँजी कसैको निजि र कसैको घरबाट ल्याएको सम्पत्ति नभएको उनले बताए । बजेट निर्माणमा भइरहेको विकृतिबारे समयमै सूचना दिन खोज्दा पनि सरकार तर्कन खोजेकोजस्तो देखिएको उनको भनाइ थियो । उनले बजेट वितरणको पाटो न्यायिक हुनुपर्ने माग गरे । 

नीति तथा कार्यक्रममा राखिएका मुख्यमन्त्री गरिबी निवारण कार्यक्रम, लगानी तथा विकास सम्मेलन, स्टार्टअप, दशरथचन्द सीपमुलक कार्यक्रम, भीमदत्त पन्त कृषि प्रवद्र्धन कार्यक्रम, बाकाबीर पर्यटन प्रवद्र्धन कार्यक्रम सकारात्मक रहेको शाहीले बताए ।
 

प्रतिक्रिया