धनगढी । गरिबी र बेरोजगारी दरको उपल्लो तहमा रहेको सुदूरपश्चिममा प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति आकर्षण घट्दै गएको छ । नेपाल जीवनस्तर सर्वेक्षण २०७९/०८० का अनुसार सुदूरपश्चिमको गरीवि दर ३४.१६ प्रतिशत र नेपाल श्रमशक्ति सर्वेक्षण २०७५ का अनुसार बेरोजगारी दर ११.५ प्रतिशत छ ।
२०७५ मा बेरोजगारी सूचिकृत गरी कम्तिमा एक सय दिनको काम दिने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भए पनि प्रदेशमा वार्षिक ठूलो संख्यामा बेरोजगार युवाहरुले स्थानीय तहमा सूचिकृत हुन थालेका थिए । तर, सरकारले प्रतिवद्धताअनुसार रोजगारी दिन नसकेपछि प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति युवाहरुको आकर्षण घट्दै गएको हो ।
नागरिक समाजका अगुना प्रमोद पाठक सरकारप्रति मानिसको विश्वास घट्दै गएको हुनाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचिकृत हुनेको संख्या घटेको बताउँछन् । ‘सरकार र सरकारी निकायप्रतिको मानिसहरुको विश्वास उठेको छ,’ उनले भने, ‘मानिसहरु बरु भारत गएर काम गर्न रुचाउँछन् । सरकारी निकायमा गएर म काम गर्छु, काम दिनुस् भन्दा काम पाइदैन । अनि युवाहरुले बेरोजगारको फारम भर्न छोड्दै छन् ।’
तथ्यांक अनुसार सुदूरपश्चिममा सबैभन्दा बढी २०७९/०८० एक लाख ८८ हजार १४० जना युवा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचिकृत भएका थिए । त्यसपछि सूचिकृत हुने युवाको संख्या घट्दै गएको छ । २०८०/०८१ मा एक लाख ७७ हजार २४१ जना र चालु आर्थिक वर्षको हालसम्म एक लाख ३९ हजार ९३६ जना सूचिकृत भएका छन् । २०७७/०७८ मा एक लाख ५४ हजार ९८९ जना सूचिकृत भएकोमा २०७८/०७९ मा एक लाख ६१ हजार ९२४ जना रोजगारीका लागि सूचिकृत भएका थिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा लाखौं युवा सूचिकृत भए पनि रोजगारी पाउनेको संख्या भने एकदमै न्यून छ र रोजगार पाउनेको संख्या पनि घट्दै गएको छ । आर्थिक वर्ष २०७७/०७८ देखि २०८१/०८२ सम्म क्रमशः ३७ हजार ८८८, ३५ हजार ३३४, १६ हजार ७०४, सात हजार ८७२ र ४४५ जनाले मात्रै रोजगारी पाएका छन् ।
चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमसंग जोडेर सुदूरपश्चिमका ७७ स्थानीय तहहरुले एक हजार ३४ वटा आयोजना सञ्चालन गरेको भएपनि चार सय ४५ जनालाई मात्रै औषत ६८ दिन रोजगारी दिएको आर्थिक सर्वेक्षण २०८१/०८२ ले जनाएको छ ।
धनगढी उपमहानगरपालिका रोजगार संयोजक चन्द्रबहादुर महराले संघीय सरकारबाट एक सय दिनका लागि एक जनालाई रोजगार दिन बजेट आउने गरेको बताए । उनले फाराम हजारौंले जनाले भरेपनि गरीव, विपन्न वर्गका युवालाई मात्रै रोजगारी दिने गरिएको बताए ।
पहिले पहिले धेरै मानिसले सबैले रोजगार पाउँछन् कि भनेर फाराम भरेको बताउँदै उनले त्यो कुरा बुझिसकेपछि फारम भर्नेको संख्या कम हुँदै गएको बताए ।
प्रतिक्रिया