धनगढी । सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषबाट सहुलियत दरमा ऋण पाएका विपन्न परिवारहरुलाई लघु उद्यमी बनेका छन् ।
कोषले स्थानीय सहकारी संस्थाहरु मार्फत् पाँच वर्षका लागि पाँच लाख रुपैयाँसम्म ऋण दिन थालेपछि दुई हजार ८०४ जना स्वरोजगार बनेका छन् । ति व्यक्तिहरुलाई कोषले ६० करोड २९ लाख २५ हजार रुपैयाँ सहुलियत व्याजदरमा ऋण लगानी गरेको छ । हालसम्म १४ करोड ६२ लाख ७७ हजार पाँच सय रुपैयाँ कोषमा सावाँ फिर्ता भइसकेको छ ।
ऋण लगानीबाट ६० लाख ५९ हजार ९६ रुपैयाँ व्याज प्राप्त भएको कोषको सचिवालयले जनाएको छ । बैंकमा रहेको रकममा १० करोड ५६ लाख ३७ हजार ७२४ रुपैयाँ व्याज प्राप्त भएको कोषको कार्यकारी निर्देशक चुडामणी तिम्सिनाले बताए । उनले ४५ करोड ६६ लाख ४७ हजार पाँच सय रुपैयाँ कर्जा लगानी बाँकी रहेको बताए ।
गोदावरी–३ की तुली पार्कीले कोषबाट २ लाख रुपैयाँ सहुलियत दरको ऋण लिएर १५ वटा बाख्रा पालेकी छन् । उनले ५ वटा माउ बाख्रा, ६ वटा पाठापाठी र ४ वटा खसी पालेको बताइन् । उनले ऋण रकमबाट गोठ बनाएको र माउ बाख्रा खरिद गरेको बताइन् । उनले एउटा जर्सी गाई समेत पालेको बताइन् । सहुलियत व्याजदरको ऋण भएको हुनाले किस्ता तिर्न पनि सहज रहेको उनले बताइन् । ‘पहिलो किस्ता घरबाटै तिरेको थिएँ,’ उनले भनिन्, ‘त्यसपछिको किस्ता एउटा खसी विक्री गरेर तिरे । खसी, बाख्रा बेचेर किस्ता तिर्न सहज भएको छ । घर खर्च पनि आफ्नै आम्दानी चलाएको छु ।’ उनले ६÷६ महिनामा किस्ता तिर्ने गरेको बताइन् ।
गोदावरी नगरपालिका वडा नं. ३ चौकीडाँडाका टेकबहादुर कामीले कोषबाट ऋण पाएपछि नास्ता पसल सञ्चालन गरेका छन् । उनको नास्ता पसलबाट मासिक ५० हजार रुपैयाँको कारोबार हुन्छ भने व्याज, किस्ता, खाजा पसलका सामाग्री लगायत सबै खर्चहरु कटाएर मासिक २० हजार रुपैयाँसम्म नाफा हुने गरेको उनले बताए ।
४२ वर्षीय टेकबहादुरले २० वर्ष भारतको सोलपुरमा होटलमा कुक भएर काम गरेका थिए । उनले त्यहाँ सो काम गरे वाफत् पाउने तलब भन्दा १५ हजार रुपैयाँ कम कमाएपनि आफू निकै खुशी रहेको बताए । ‘सोलापुरको होटलमा काम गर्दा मासिक ४० हजार रुपैयाँ तलब थियो,’ उनले भने, ‘तर यहाँ परिवारसंगै बसेर काम गरी आम्दानी गर्न पाउँदा म एकदमै सन्तुष्ट छु ।’
स्वरोगजार विकास कोषबाट सबै भन्दा पहिले थोक ऋण पाएको गोदावरी नगरपालिका वडा नं. ३ को मालाखेती बहुउद्देश्यीय सहकारीले आफ्ना ३० जना शेयर सदस्यहरुलाई वार्षिक ५ प्रतिशत व्याजदरमा ऋण दिएको छ । कोषबाट एक प्रतिशत व्याजदरमा ८० लाख रुपैयाँ थोक ऋण लिएको सहकारीले आफ्नो शेयर सदस्यहरुलाई २ देखि ३ लाख रुपैयाँसम्म ऋण लगानी गरेको छ ।
सहकारीका व्यवस्थापक लालबहादुर खड्काले चिया नास्ता पसल, व्युटीपार्लर, विजुली पसल, कुखुरा पालन, बाख्रापालन, गाईभैसीं पालन, डेरी, किसाना पसल, च्याउ तथा तरकारी खेती, बेकरी, चाउमीन उत्पादन जस्ता स्वरोजगार व्यवसाय गर्न सहुलियत ऋण लगानी गरिएको बताए । उनले निकै सस्तो दरमा ऋण दिइएको हुनाले लाभग्राहीले पनि समयमै किस्ता बुझाइरहेको बताए । ‘हामीले पनि कोषलाई समयमै किस्ता बुझाउन सकेका छौं,’ उनले भने, ‘सहुलियतमा पाएको ऋणले विपन्नलाई स्वारोजगार बन्न मद्दत गरेको छ ।’
कोषले सहकारीलाई २०७९ पुस १२ गतेबाट थोक ऋण दिन थालेको थियो । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६।७७ मा स्वरोजगार विकास कोष स्थापना र सञ्चालनका लागि एक अर्ब रुपैयाँ विनियोजन गरेको थियो । तर कोष सञ्चालन सम्बन्धी नीति, ऐन, नियमावली र कार्यविधि नबनेको हुनाले दुई वर्ष ढिलो कोष स्थापना भइसञ्चालन भएको थियो ।
कोषले हिमाली, पहाडी, तराईका स्थानीय तहहरुको आधारमा चार वटा क्षेत्र वर्गीकरण गरी सहकारीहरुलाई ४० लाखदेखि डेढ करोड रुपैयाँसम्म वार्षिक १ प्रतिशत व्याजदरमा पाँच वर्षका लागि थोक ऋण दिने गरेको छ । निर्देशक तिम्सिनाले थोक ऋण दिनुपुर्व सहकारीको योग्यता, आवश्यक मापदण्ड परीक्षण र सहकारीबाट ऋण असुलीको सुरक्षण लिने लगायतका सम्पूर्ण प्रक्रिया पुरा गरी लाभग्राहीको अनुगमन गरिसकेपछि मात्रै थोक ऋण दुई किस्तामा दिने गरेको बताए । उनले हालसम्म दिएको ऋणबाट सहज रुपमा किस्ता असुली भइरहेको बताए ।
कोषले प्रदेशका नांै वटै जिल्लाका ३७ वटा स्थानीय तहमा रहेका ९९ वटा सहकारी संस्थामार्फत् कर्जा प्रबाह गरिरहेको छ । सेवा क्षेत्र विस्तारका लागि गतफागुनमा सूचना प्रकाशन गरिएपछि नौं जिल्लाका ४४ स्थानीय तहबाट ८६ वटा सहकारी संस्थाले थोक कर्जा प्रस्ताव पेश गरेको कोषको सचिवालयले जनाएको छ । कोषले कर्जाग्राहीलाई स्वरोजगार तथा उद्यमशीलता अभिमुखीकरण तालीम समेत दिदै आएको छ ।
प्रतिक्रिया