धनगढी । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार द्वारिकाप्रसाद न्यौपाने सहित १६ जना उम्मेदवारको धरौटी जफत भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ (१) बमोजिम ति उम्मेदवारहरुको धरौटी जफात भएको हो । उक्त ऐनको उक्त दफामा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तरगतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश (१०) प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफात हुने’ व्यवस्था छ ।
कैलाली क्षेत्र नं. १ मा कुल ५४ हजार ७९ मत सदर हुँदा धरौटी जोगाउन पाँच हजार ४०८ मत कम्तिमा प्राप्त गर्नुपर्ने थियो । उक्त क्षेत्रमा वियजी भएकी राष्ट्रिय स्वतन्त्र पार्टीर्की (रास्वपा) की कोमल ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरिन् । उनका प्रतिद्वन्दी कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत पाए । टीकापुर नगरपालिकाको मेयर पदबाट राजिनामा दिएर चुनाव लडेका नेकपाका रामलाल डगौरा थारुले ८ हजार ३९२ मत पाए ।
यि तीन उम्मेदवार बाहेक १९ जना उम्मेदवार रहेको कैलाली क्षेत्र नंं. १ मा एमालेका उम्मेदवार न्यौपाने सहित १६ जनाले कुल सदर मतको १० प्रतिशत भन्दा बढि मत पाउन सकेनन् । निर्वाचन आयोगका अनुसार एमालेका उम्मेदवार न्यौपानेले चार हजार ४९३ मत पाएर धरौती गुमाए ।
यसैगरी, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएका स्वतन्त्र उम्मेदवार फागुराम थारुले तीन हजार ३८८ मत पाएर धरौटी जोगाउन सकेनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्र कुँवरले दुई हजार ९३७, उज्यालो नेपाल पार्टीका उम्मेदवार प्रदिपकुमार चौधरीले दुई हजार ३५७, श्रम संस्कृति पार्टीका विमलकुमार डगौराले ९०८, नेकपा माओवादीका उम्मेदवार रामबहादुर विश्वकर्माले ३१५, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार २१६, स्वतन्त्र उम्मेदवारहरु राजेन्द्रबहादुर शाहीले १४०, भगतराम डगौराथारुले ११३, नरेश रावतले ९३, रुपाकुमारी चौधरीले ६०, सुनिता भण्डाराले ४१, तपेन्द्र शाहले २७, मरुण ठकुल्लाले २४ र सत्यनारायण भट्टराईले २२ मत पाएर धरौटी गुमाए ।
निर्वाचन ऐनको दफा ७० (१) अनुसार प्रत्यक्ष उम्मेदवारले दश हजार रुपैयाँ धरौटी राख्नुपर्छ । उक्त दफाको उपदफा २ मा महिला र दलित वा अल्पसंख्यक समुदायका उम्मेदवारले उपदफा १ बमोजिमको धरौटीमा ५० प्रतिशत छुट पाउने व्यवस्था छ ।
प्रतिक्रिया