धनगढी । सुदूरपश्चिमका १७ लाख १५ हजार ७६० मतदाताले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भोट हाल्न पाउने भएका छन् । प्रदेशमा कुल मतदाता संख्या १७ लाख १५ हजार ७६० कायम गरिएको हो । प्रदेश निर्वाचन कार्यालयको तथ्यांकअनुसार प्रदेशमा आठ लाख ६४ हजार ४२३ महिला, आठ लाख ५१ हजार ३१९ पुरुष र १८ जना अन्य मतदाता रहेका छन् । २०७९ को निर्वाचनमा यस प्रदेशमा १६ लाख ६९ हजार ४११ मतदाता थिए ।
जिल्लागत रूपमा सबैभन्दा बढी मतदाता कैलालीमा पाँच लाख ५१ हजार ५२ जना छन् भने सबैभन्दा कम बाजुरामा ८६ हजार ९६१ रहेका छन् । यस्तै कञ्चनपुरमा तीन लाख १४ हजार ३८५, अछाममा एक लाख ६५ हजार ३३७, बैतडीमा एक लाख ५६ हजार ३७२, डोटीमा एक लाख २८ हजार ३९९, बझाङमा एक लाख २६ हजार ९०३, डडेल्धुरामा ९३ हजार ४०३ र दार्चुलामा ९२ हजार ९४८ मतदाता रहेका छन् ।
यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिममा ४१ वटा मतदानस्थल थपिएका छन् । मतदाताको संख्या वृद्धि र भौगोलिक सुगमतालाई ध्यानमा राख्दै निर्वाचन आयोगले नौ जिल्लामा मतदान स्थल थप गरेको हो । यसअघि एक हजार १३५ मतदानस्थल रहेकोमा यसपटक ४१ वटा थपिएका हुन् । सबैभन्दा बढी डडेल्धुरामा २४ वटा स्थल थपिएर १०४ कायम भएको छ ।
यस्तै, बाजुरामा पाँच वटा थपिएका छन् भने डोटीमा तीन वटा थपेर ११८ र कैलालीमा दुई वटा थपेर २३७ मतदान स्थल कायम गरिएको छ । दार्चुलामा पनि दुई मतदान स्थल थपिएर ११२ पुगेको छ । बझाङ १३३, कञ्चनपुर १३२ र अछाम १३० मतदानस्थल रहेका छन् ।
प्रतिक्रिया