ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली भन्सारबाट पाँच महिनामा तीन अर्ब २० करोड राजस्व संकलन

बिहिबार १७, पुष २०८२ ११:४२

धनगढी । कैलाली भन्सार कार्यालयले पाँच महिनामा तीन अर्ब बढी राजस्व संकलन गरेको छ । चालुआर्थिक वर्ष २०८२/८३ को साउनदेखि मंसिर मसान्तसम्म तीन अर्ब २० करोड ७४ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । यो अवधिमा तीन अर्ब ३५ करोड ५० लाख ७१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य भए पनि आर्थिक मन्दीका कारण आयात घटेकोले लक्ष्यको ९५.६० प्रतिशत मात्रै राजस्व संकलन भएको कैलाली भन्सार कार्यालयले जनाएको छ ।

यसआर्थिक वर्षमा कैलाली भन्सारलाई नौ अर्ब ७१ करोड १५ लाख छ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य प्राप्त भएको छ । सो लक्ष्यको ३३ प्रतिशत पाँच महिनामा संकलन भएको भन्सार कार्यालयका अधिकृत यज्ञराज जोशीले बताए ।

तथ्यांकअनुसार भन्सार कार्यालयले साउनमा ८०.७२, भदौमा ७२.३६, असोजमा ८८.२९, कात्तिकमा ८५.६७ र मंसिरमा ८७.९७ प्रतिशत राजस्व संकलन गरेको थियो । साउनमा ५७ करोड ८० लाख ३८ हजार, भदौमा ५३ करोड ७० लाख १९ हजार, असोजमा ६७ करोड ७८ लाख पाँच हजार, कात्तिकमा ७२ करोड ५४ लाख ५४ हजार र मंसिरमा ६८ करोड ९१ लाख ५६ हजार रुपैयाँ संकलन गरेको छ ।

आर्थिक मन्दीले गर्दा बजारमा सामानको माग घटेको भए पनि भन्सारमा राजस्व संकलनको लक्ष्य नघटाइएकाले हरेक वर्ष कैलाली भन्सार कार्यालयको राजस्व संकलनको लक्ष्य पूरा हुन सकेको छैन भने निर्यात पनि बढ्न नसकेको हुँदा भन्सार राजस्व संकलन प्रभावित भएको छ ।

चालुआर्थिक वर्षको पाँच महिनामा ४६ करोड ३७ लाख ८७ हजार रुपैयाँको सामान निर्यात हुँदा सोबाट ६२ लाख ८२ हजार ५४३ रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । त्रिनगर भन्सार नाकाबाट रोजिन, प्लाई उड, वेल–केक, कत्था, खरिढुंगा, चुनढुंगा लगायत नौ प्रकारका सामाग्री मात्रै निर्यात हुने गरेको छ । यो अवधिमा कैलाली भन्सारबाट छ अर्ब ८४ करोड ९० लाख ६८ हजारको आयात भएको छ । 
 

प्रतिक्रिया