ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा ४ पुसदेखि भुवा उत्सव, प्रथम पुरस्कार ५० हजार

बुधबार ०२, पुष २०८२ १०:४७

धनगढी । बाजुरेली सेवा समाज कैलालीले हरेक वर्ष आयोजना गर्दै आएको भुवा उत्सव यसवर्ष पुस ४ गतेदेखि सुरु हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने भुवा पर्वमा प्रतिस्पर्धात्मक भुवा चाली प्रतियोगिता पनि सञ्चालन गरिने समाजका अध्यक्ष भरतबहादुर केसीले जानकारी गराए । 

बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै समाजले सुदूरपश्चिममा मौलिक पर्वका रुपमा स्थापित भुवा पर्वलाई यसवर्ष अझ भब्य ढंगले सञ्चालन गर्न लागिएको जनाएको छ । भुवा पर्व धनगढीस्थित खुला मञ्चमा आयोजना हुने समाजको भनाई छ । 

प्रतियोगितात्मक रुपमा सञ्चालन हुने उक्त उत्सवमा कम्तिमा सात वटा समूह चाली प्रतियोगितामा सहभागी हुने समाजका सहसचिव गगन अयडीले बताए । उनका अनुसार प्रथम हुने समूहलाई ५० हजार पुरस्कार राखिएको छ । 

भुवा पर्वको महिमा अभिवृद्धि गर्न पछिल्ला वर्षहरुमा बाजुरेली सेवा समाजले प्रतियोगितात्मक चाली पनि सञ्चालन गर्दै आएको छ । गतवर्ष पनि प्रतियोगिताको आयोजना गरिएको थियो । 

भुवा पर्व सुदूरपश्चिमका केही जिल्लामा दसैंतिहार पछिको दोस्रो ठुलो पर्वका रुपमा मनाउने गरिएको छ । पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइन्छ । पुस महिनाको चतुर्दशी तथा औंसीको अघिल्लो रातबाट दाउराका मुढा बालेर भुवा पर्व सुरु गरिन्छ । 

भुवा पर्वलाई भस्सो पनि भन्ने चलन छ । दौरा सुरुवालमा सजिएर हातमा ढाल तरवार लिएर दमाहाको बाजामा भुवा खेल खेलिन्छ । यस अवसरमा गाउँभरिका व्यक्तिहरु एक ठाउँमा जम्मा हुने, रमाइलो गर्ने र राती धुनी जगाउन काठका ठुला ठुला मुडा बाल्ने चलन छ । 

विशेषगरि बाजुरामा मनाइने भुवा पर्व पछिल्ला वर्षहरुमा प्रदेश राजधानी धनगढीमा पनि मनाइदै आएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरु बाजुरा, बझाङ, अछाम र डोटीमा यो पर्व परापूर्व कालदेखि उल्लासका साथ मनाइदै आएको छ । यसपर्वका अवसरमा भुवा चाली खेल्ने, डेउडा खेलहरु लगाउने, मौलिक तथा परम्परागत खानाका परिकारहरु बनाउने चलन रहिआएको छ । 


 

प्रतिक्रिया