धनगढी । कैलालीका किसानलाई उत्पादन गरेको धान बिक्री गर्नै गाह्रो परिरहेको बेला घोडाघोडी–१० सिसैयाका किसान भागीराम चौधरीले सरकारले निर्धारण गरेको मूल्यमा थपेर धान बिक्री गरेका छन् । उनले यसपाली ३० क्विन्टल धान बिउका लागि स्थानीय जिविका कृषि सहकारीलाई बिक्री गरेका छन् ।
सहकारीको शेयर सदस्य भई खाद्यान्न बिउ उत्पादनमा संलग्न उनलाई न मलखादको चिन्ता छ न त बिउ र विषादीको । बरु उनलाई सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा बढीमा आफ्नो उत्पादन सहजै बिक्री हुने कुराले उत्साहित बनाइरहेको हुन्छ । जबकी आम किसानले एक कट्टा मलखाद पाउनका लागि रातदिन रायासनिक मल पाउने गोदाममा पालो कुरेर बस्नुपर्छ । त्यती गर्दा पनि पाउने–नपाउने सुनिश्चित हुँदैन । आम किसानलाई कुन उन्नत बिउ प्रयोग गर्ने र कहाँ पाइएला भन्ने चिन्ता हुन्छ भने बालीमा किरा वा रोग लागेमा कुन विषादी प्रयोग गर्ने र कसरी, कहाँ पाइन्छ भन्ने चिन्ताले पिरोली रहेको हुन्छ । उत्पादन भइसकेपछि कहाँ कतिमा बिक्री हुन्छ भन्ने चिन्ताले पनि सताएको हुन्छ भने यसवर्ष त किसानलाई धान बिक्री गर्न नै गाह्रो भइसकेको छ ।
४–५ वर्षदेखि धान र गहुँको बिउ उत्पादनमा संलग्न भागीरामका लागि प्रजनन् बिउ, रासायनिक मल र आवश्यक विषादी सहकारीले नै व्यवस्थापन गर्ने गरेको छ । ‘मल, बिउ र औषधि सहकारीले नै दिन्छ,’ उनले भने, ‘मुल बिउ ल्याएर सहकारीले ५० प्रतिशत अनुदानमा दिन्छ । बिउको आधा मूल्य मात्रै तिर्नुपर्छ । मल चाहिएको बेलामा व्यवस्थापकलाई फोन गर्नुपर्छ । चाहिएकै बेला पठाई दिनुहुन्छ । बेला बेलामा सहकारीका जेटिए खेत हेर्न आउँछन् । उनले सिफारिस गरे अनुसारको औषधी सहकारीबाटै ल्याएर छर्किन्छु । मलको पैसा तिर्नुपर्छ । औषधीको आधा पैसा मात्रै तिर्नुपर्छ ।’
यत्ति भएपछि भागीरामलाई खेती गर्न निकै सजिलो अनुभव भएको छ । डेढ बिघा जमीनमा खेती गर्दै आएका उनले हरेक वर्ष सहकारीलाई ४० बेरा गहुँ र त्यत्तिकै मात्रामा धान पनि बिक्री गर्छन् । ‘उत्पादन त अली धेरै नै हुन्छ,’ भागीरामले भने, ‘खानलाई राखेर बचेको ४०–४५ बोरा गहुँ र त्यत्ति नै बेरा धान सहकारीको खरिद केन्द्रमा लगेर बेच्छु । यो वर्ष एक लाख रुपैयाँको गहुँ भएको थियो । यसपाली ३० क्वीन्टल धान विक्री गरे । विक्रीबाट आएको पैसा सहकारीमै रहेको खातामा जम्मा गर्छु । आवश्यक परेको बेला मात्रै निकाल्छु ।’
जिविका कृषि सहकारी संस्थाले यो वर्ष २५० क्वीन्टल गहुँको बीऊ उत्पादन गराएको छ । २४ जना सहकारीका सदस्य किसानहरुले उत्पादन गरेको गहुँको बीऊ सहकारीले आफ्नै गोदामा भण्डार गरेको छ । गहुँको बिउ उत्पादन गर्न सहकारीले ति किसानका लागि कृषि ज्ञान केन्द्रबाट ५० प्रतिशत मुल बीऊ व्यवस्था गरेको थियो । ‘बिउ उत्पादन गर्ने किसानलाई कृषि केन्द्र कैलाली र घोडाघोडी नगरपालिकाबाट मुल बीऊमा अनुदान सुविधा व्यवस्था गर्ने गरेका छौं,’ सहकारीका व्यवस्थापक सुन्दरराम चौधरीले भने, ‘किसानलाई कहिले सहकारीबाटै स्प्रेट्यांकी र विषादी सहयोग गर्छौ । कहिले सरकारी निकायबाट अनुदानको व्यवस्था गर्छौ ।’
व्यवस्थापक चौधरीका अनुसार किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउन समन्वय गर्ने र किसानले उत्पादन गरेको बीऊ विक्री गर्नमा सहकारीले सहयोग गर्दै आएको छ । ‘किसानले उत्पादन गरेको बिउ बजार भाउभन्दा १० प्रतिशत बढी रकममा खरिद गर्छौ,’ उनले भने, ‘किसानबाट खरिद गरिसकेपछि बीऊको ग्रेडिङ, उम्रिने शक्ति परीक्षण र प्याकेजिङ गर्छौ । सहकारी आफैले आफ्ना शेयर सदस्य र आम किसानलाई बिउ बिक्री गर्छ र आफैले बिक्री गर्न नसकेको बीऊ स्थानीय एग्रोभेट पसलहरुलाई बिक्रीका लागि दिन्छौं ।’
२०७७/७८ बाट बीऊ उत्पादन कार्यक्रम सञ्चालन गरिरहेको विजिका कृषि सहकारीले गएको सिजनमा १९ जना किसानद्वारा ३५० क्वीन्टल धानको बिउ उत्पादन गराएको थियो । कृषि ज्ञान केन्द्रले सिफारिस गरेको धान र गहुँको बिउ उत्पादनमा किसानलाई सहयोग गरिरहेको सो सहकारीले किसानलाई कृषि ज्ञान केन्द्र र घोडाघोडी नगरपालिकाको समन्वयमा प्राविधिक सेवा समेत उपलब्ध गराउने गरेको व्यवस्थापक चौधरीले बताए ।
बेलौरी नगरपालिका वडा नं. ३ बुटाबारीका किसान आनन्द गिरीलाई पनि बिउ उत्पादन कार्यक्रममा संलग्न भएदेखि खेती गर्न आनन्द छ । उनलाई पनि बिउ, मल, विषादी र उत्पादन बिक्रीको चिन्ता छैन । उनी शेयर रदस्य रहेको जनजागृति कृषि सहकारी संस्थाले बिउ, मल, विषादी, कृषि प्राविधिक र उत्पादन खरिदको व्यवस्था मिलाएको छ । बेला बेलामा सरकारी निकायसंग सहकार्य गरेर सहकारीले स्प्रेट्यांकी, डीप ट्युबेल, पावर टिलर लगायतका उपकरणहरु पनि ५० प्रतिशत अनुदानमा ल्याउने गरेको गिरीले बताए । उनले डीप ट्युले र स्प्रेट्यांकी आफूले पनि अनुदानमा पाएको बताए । ‘आफूसंग पैसा नभएपछि सहकारीले उधारोमै पनि बीऊ र मल दिन्छ,’ उनले भने, ‘उत्पादन भएको धान गहुँ पनि बजार मूल्यभन्दा १० प्रतिशत बढी मूल्यमा किन्छ ।’
गिरी १० वर्षदेखि खाद्यान्नको बीऊ उत्पादनमा संलग्न छन् । उने यस वर्ष २५ क्वीन्टल गहुँ र ३० क्वीन्टल धान सहकारीलाई बेचे । किसान सदस्यबाट किनेको धान गहुँ प्रशोधनका लागि बेलौरी नगरपालिका–३, खिरियाको जनजागृति कृषि सहकारी संस्थासंग आफ्नै मेसिन र भण्डारणका लागि आफ्नै गोदाम छ । २०६५÷६६ बाट धान र गहुँको उन्नत बीऊ उत्पादनमा संलग्न सहकारीले खाद्यान्न बीऊ उत्पादनमा किसानलाई सहयोग गरिरहेको छ । सहकारीले बीऊ प्याकेजिङ गरी शेयर सदस्य किसान, स्थानीय तह र एग्रोभेट पसलहरुलाई उन्नत बीऊ विक्री गर्ने गरेको छ ।
जनजागृति कृषि सहकारीका अध्यक्ष विष्णदत्त बडुले बीऊ उत्पादनबाट किसान सदस्य र सहकारी दुबैलाई राम्रो मुनाफा हुने गरेको बताए । ‘बीऊ उत्पादन कार्यक्रमबाट सहकारी र किसान कहिल्यै घाटामा जाँदैन,’ उनले भने, ‘किसानले पनि बजार भाउ भन्दा १० प्रतिशत बढिमा आफ्नो उत्पादन बेच्न पाउँछन् । सहकारीले हरेक सिजनमा ६० हजारदेखि डेढ लाख रुपैयाँसम्म बीऊ बिक्री गरेर नाफा कमाउछ ।’
सहकारीले थोरै लगानी गरेर किसानलाई अलिकति प्रोत्साहन दिंदा बीऊ उत्पादन कार्यक्रम सफल हुने गरेको अध्यक्ष बडुले बताए । उनले जनजागृतिका ५–७ जना किसान सदस्यहरुले बीऊ उत्पादन कार्यक्रममा भाग लिने गरेको बताए । ‘यो वर्ष एक सय क्वीन्टल गहुँको बीऊ स्टक छ,’ उनले भने, ‘तीनदेखि छ बिघा जमीनमा धान र गहुँको बीऊ उत्पादन गराउँदै आएको छौं । बीऊ बिजन प्रयोगशालाबाट यसपाली तीन बोरा मात्रै मुल बीऊ पाएका थियौं । तीन बीघा जमीनमा धानको बीऊ उत्पादन भइरहेको छ ।’
उनले कृषि ज्ञान केन्द्र कञ्चनपुरको अनुदान सहयोगमा सहकारीसंग आफ्नै ग्रेडिङ मेसिन रहेको बताए । किसानबाट किनेको बीऊ ग्रेडिङ गरिसकेपछि प्याकेजिङ गरेर आम किसानलाई विक्री गर्छौ । कहिलेकाँही स्थानीय तहसंग सम्झौता गरी स्थानीय तहलाई पनि सप्लाई गर्छौ ।’
जानकी गाउँपालिका वडा नं. ४ मुनुवा किसान सन्तलाल कठरियाले आफूले खेती गर्न थालेदेखि नै बीऊ नै उत्पादन गरिरहेको बताउँछन् । उनले ७ विघा जमीनमा धान, ५ विघा जमीनमा गहुँ, डेढ विघा जमीनमा मसुरो र तीन विघा जमीनमा तोरीको बीऊ उत्पादन गर्ने गरेको बताए । ‘२०५७ सालबाट बुवाहरुले बीजबृद्धि कृषक समूह बनाएर बीऊ उत्पादनको काम शुरु गर्नुभएको थियो,’ उनले भने, ‘बुवापछि मैले खेतीपाती सम्हाले । त्यत्ति बेलादेखि नै बीऊ उत्पादन गरिरहेका छु । बुवाहरुले शुरु गरेको बीजबृद्धि कृषक समूह सहकारीमा रुपान्तरण भएको छ ।’
सहकारीबाट आफूहरुले जोताईदेखि बाली लगाउन र उत्पादित बीऊ विक्रीसम्म सहुलियत पाइरहेको सन्तलालले बताए । उनका अनुसार सहकारीको रोटाभेटरले जोताई गर्दा पाँच सय र हैरोले जोताई गर्दा तीन सय रुपैयाँ प्रतिविघा छुट पाइन्छ । ‘सहकारीले बीऊ, मल, जींक, बाली पोषणा र औषधी बीऊ उत्पादक किसानलाई ५० प्रतिशत छुटमा उपलब्ध गराउँछ,’ सन्तलालले भने, ‘उत्पादन गरेको बीऊ पनि सहरकारीले नेपाल सरकारले निर्धारण गरेको मूल्यमा तीन सय रुपैयाँ थपेर दिन्छ । सहकारीका कृषि प्राविधिकले निःशुल्क बाली निरीक्षण र बालीमा लागेको रोगको निदान गर्न सल्लाह दिन्छन् । बाली खराब भएको थाहा पाउने वित्तिकै सिधै प्राविधिकलाई फोन गर्छौं । उहाँहरु खेतमै आएर समाधनको उपाय बताउनु हुन्छ ।’
सहकारीले सरकारबाट पाउने अनुदानका लागि किसानलाई डकुमेन्टेशन गर्न सहयोग गर्ने गरेको बताए । उनले सहकारीको सहयोगबाट सरकारी अनुदानको स्प्रेट्यांकी, पावरलिटर, रोटाभेटर लगायतका उपकरण पाउन पनि सहज भएको बताए । उनले सहकारीले कृषिको सबै चरणमा सहयोग गर्ने भएकोले आफूहरुलाई खेती गर्न धेरै सहज भएको बताए । उनले सहकारीले बाली बिमा गर्न समेत मद्दत गर्ने गरेको बताए ।
मुनुवा सिड्स ब्राण्ड नाम दिएर बीऊ उत्पादन कार्यक्रम चलाइरहेको बीजबृद्धि कृषि सहकारीका व्यवस्थापक गोविन्द रावतले यसवर्ष तीन हजार क्वीन्टल धानको बीऊ विक्री गरेको बताए । उनले दुई हजार क्वीन्टल गहुँ, ६० क्वीन्टल तोरी र मसुरोको बीऊ स्टक रहेको बताए । उनले बीऊ उत्पादन कोष कडा गरी सहकारी बीऊ उत्पादन गर्ने किसानहरुलाई मल, बीऊ, विषादी र बाली उपचार सहुलियत दिंदै आएको बताए । उनले उत्पादन भएको बीऊ सुदूरपश्चिम र लुम्बिनी प्रदेशका किसान, सरकारी निकाय र निजी फर्महरुलाई विक्री गर्ने गरेको बताए ।
सहकारीका अध्यक्ष विजय कठरियाले बीऊ उत्पादन गर्ने शेयर सदस्यहरुलाई प्रति क्वीन्टल ३५ रुपैयाँका दरले बीऊ बोनस समेत दिंदै आएकोमा आगामी साधारण सभाबाट बोनस दर बढाउने तयारी भइरहेको बताए । किसानलाई खेत जोत्न, बाली लगाउन र बाली भित्र्याउन आवश्यक पर्ने सबै उपकरण सहाकारीसंग रहेको बताउँदै उनले बीऊ प्रशोधन र प्याकेजिङ पनि सहकारी आफैले गरी बजारमा पठाउने गरेको बताए ।
व्यवस्थित नभएका सहकारीको किसानलाई भुक्तानी पाउन सकस
कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा गहुँको बीऊ उत्पादन कार्यक्रम पाएपछि धनगढी उपमहानगरपालिका वडा नं. १६ भादाको शिखर व्यवसायिक कृषि सहकारी संस्थाले उत्पादन भएको बीऊ दिने सर्त राखी वडा नं. ११ को अपिहिमाल एग्रो एण्ड लाइभष्टक कम्पनी प्रालिबाट उधारोमा मुल बीऊ उठायो । किसानले उत्पादन गरिसकेपछि अपिहिमालले गाउँमै ट्रक पठाएर उत्पादित उन्नत बीऊ खरिद ग¥यो । संस्थाका अध्यक्ष सन्तराम चौधरीका अनुसार किसानबाट २५४.५० क्वीन्टल गहुँको उन्नत बीऊ २०८२ बैशाखमा गहुँ लगेको अपिहिमालले गहुँ छर्ने बेला मात्रै भुक्तानी दिएको बताए । उनले चार हजार ९४५ रुपैयाँ प्रति क्वीन्टलका दरले कुल मूल्य १२ लाख १३ हजार ९९७ रुपैयाँको गहुँ लगेको अपिहिमालले तीन लाख ९५ हजार ७१९ रुपैयाँ कात्तिक तेस्रो साता भुक्तानी दिएको बताए ।
पटक पटक ताकेता गर्दापनि भुक्तानी नपाएको किसान सुकराम चौधरीले बताए । उनले भुक्तानीका लागि कम्पनी र सहकारीमा पटक पटक पुग्ने गरेको बताए । गहुँको बजार मूल्य चार हजार आठ सय रुपैयाँ रहेको बेला कम्पनीले १५ प्रतिशत थपेर दिने सम्झौता सहकारीसंग गरेपछि आफूहरुले सहकारी मार्फत् अपिहिमाललाई बीऊ गहुँ दिएको किसान चौधरीले बताए । तर सात महिनापछि मात्रै भुक्तानी पाएको उनले बताए । ‘केही मूल्य बढि पाउने आशमा बीऊ उत्पादनमा लागेको थिएँ,’ उनले भने, ‘पटक पटक भुक्तानीमा ठगिएपछि बीऊ उत्पादनको कामले हामी किसानलाई फाइदा हुन सकेको छैन ।’ यसअघि, धानको बीऊ उत्पादन गर्दा सुख्खडको उग्रतारा बीऊ कम्पनीले २० बोरा धानको मूल्य नै नदिएको सुकरामले बताए ।
अपिहिमाल एग्रो एण्ड लाइभष्टक कम्पनी प्रालिका लोकेश भट्टले पनि किसानहरुको ८–१० प्रतिशत बीऊ गहुँको भुक्तानी दिन ढिलो भएको बताए । सहकारीसंग भण्डारणको व्यवस्था नभएकोले किसानले उत्पादन गरेको बीऊ सोझै कम्पनीलाई विक्री गर्ने व्यपस्था मिलाएको अध्यक्ष चौधरीले बताए । ‘हामीले उत्पादन गरेको बीऊ दिन्छौं भनेर कम्पनीसंग मुल बीऊ लिएका थियौं,’ उनले भने, ‘बीऊ खरिदमा कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदान दिएको थियो । उत्पादन भएपछि किसानबाट संकलन गरेर कम्पनीलाई बेच्यौं ।’
तरकारीको बिउ उत्पादनमा पनि सहकारी
डोटीको जोरायल गाउँपालिका वडा नं. १ को जैविक विविधता कृषि सहकारीले मकै, रायो, मुला, केराउ, धनिया, भटमास र पालुंगोको बीऊ उत्पादन गर्दै आएको छ ।
विगत ३ वर्षदेखि बीऊ उत्पादन कार्यक्रम सञ्चालन गरिरहेको सो सहकारीले २८० जना शेयर सदस्यले उत्पादन गरेको मकै र तरकारीको बीऊ संकलन गरेर चितवनको बीऊ प्रशोधन उद्योगलाई विक्री गर्ने गरेको सो सहकारीका व्यवस्थापक गणेश विष्टले बताए । उनले कहिले सरकारी निकायको अनुदानमा त कहिले सहकारीले नै किसानलाई मुल बीऊ उपलब्ध गराएर बीऊ उत्पादन कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
सहकारीका शेयर सदस्य किसानलाई बिउ उत्पादनमा सरकारी सहयोग
सुदूरपश्चिम प्रदेशको कृषि विकास निर्देशनालयले तराईमा धान र गहुँ तथा पहाडमा मकै र तरकारीको बीऊ उत्पादन हुँदै आएको जनाएको छ । निर्देशनालयको तथ्यांक अनुसार प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा ६६ वटा बीऊ उत्पादन गर्ने कम्पनी, कृषि समूह र सहकारी मध्ये १८ वटा कृषि सहकारी छन् । प्रदेशमा यो वर्ष पाँच लाख २५ हजार ५८७ क्वीन्टल गहुँ स्टक छ भने दुई लाख नौ हजार ३७७ क्वीन्टल धानको बीऊ उत्पादन भएको थियो । त्यसैगरी, मकैको बीऊ ७१ हजार १९० क्वीन्टल र तरकारीको बीऊ १९ हजार ११९ किलो उत्पादन भएको छ ।
कृषि विकास निर्देशनालयका निर्देशक खगेन्द्र शर्माले बीऊ उत्पादन गर्ने किसान, सहकारी र निजी फर्मलाई कृषि ज्ञान केन्द्रमार्फत् प्रदेश सरकारले ५० देखि ७५ प्रतिशत अनुदानमा मुल बिऊ वितरण गर्नेको छ । यसका साथै स्प्रेट्यांकी, पावर टिलर, मिनि टिलिर, रिपर, थ्रेसर, साना सिंचाई लगायतका कृषि औजार अनुदान दिनुका साथै प्राविधिक परामर्श उपलब्ध गराउँदै आएको छ । ‘सहकारीले मुल बीऊ उत्पादन गरेको रहेछ भने प्रदेशले पनि सो उत्पादन खरिद गरी किसानलाई वितरण गर्ने गरेको छ,’ शर्माले भने, ‘उन्नत बीऊ उत्पादन गरिएको छ भने स्थानीय तहले खरिद गरी किसानलाई विक्री गर्ने गरेका छन् ।’
सुदूरपश्चिम प्रदेश सरकारको प्रथम पञ्च वर्षीय योजनाले बीऊ बिजन क्षेत्रको दीर्घकालीन सोच अनुरुप निजी र तथा सरकारी क्षेत्रको समन्वयमा उन्नत तथा वर्णशंकर जातको विकास गर्न सहजीकरण गरी बालीको बीउ प्रतिस्थापन दरमा सुधार ल्याउने रणनीतिक लक्ष लिएको छ । सोही रणनीतिक लक्ष्य अनुसार प्रदेश सरकारले खाद्यान्नको बीउ उत्पादनमा वार्षिक कार्यक्रम बनाई बिज बृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै निर्देशक शर्माले बताए । बीज बृद्धि कार्यक्रममा किसान समूह, सहकारी र निजी क्षेत्रको उत्तिकै योगदान रहेको उनले बताए ।
उनले किसान समूह, सहकारी र निजी क्षेत्रको सहयोगमा सुदूरपश्चिम प्रदेशले खाद्यान्न बीऊ उत्पादनमा आत्मनिर्भर मात्रै नभई निर्यात समेत गर्न थालेको बताए । उनले सुदूरपश्चिम प्रदेशमा कुल ९ हजार एक सय टन धान र १९ हजार ५ सय टन गहुँको बीउ आवश्यक पर्ने गरेको बताए । आवश्यकता भन्दा बढि भएको बीऊ उत्पादक कम्पनी र सहकारीहरुले अन्य प्रदेशमा विक्री गर्ने गरेको बताए । आवश्यक मध्ये ७५ प्रतिशत बीऊ किसान आफैले जोगाएर राख्ने गरेको र २५ प्रतिशत उन्नत बीऊ प्रतिस्थापन गर्ने अवस्थामा बीऊ बजारबाट आपूर्ति हुने गरेको निर्देशक शर्माले बताए । उनले सो २५ प्रतिशत बीऊ उत्पादनमा बीऊ उत्पादक किसान समूह, सहकारी र निजी कम्पनीहरुले योगदान गरिरहेको बताए ।
आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले बीज बृद्धिका लागि ७० लाख २५ हजार रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा बिज बृद्धिका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ९३ लाख ९ हजार ९७३ रुपैयाँ अनुदान वितरण गरेको थियो । मन्त्रालयले २०७७/७८ देखि २०८० चैतसम्म एक करोड ९० लाख ४ हजार ३३८ रुपैयाँ बिउ उत्पादनका लागि किसान, सहकारी र बीउ उत्पादक कम्पनीहरुलाई अनुदान वितरण गरेको छ । गतआर्थिक वर्षमा प्रदेश सरकारले बिज बृद्धि कार्यक्रममा पाँच करोड ४० लाख रुपैयाँ विनियोजन गरेको प्रदेश सरकारले चालुआर्थिक वर्षमा खाद्यान्न बाली, तरकारी, फलफूल तथा घाँसको रैथाने र वर्णशंकर बीऊ उत्पादन गरी सुदूरपश्चिम प्रदेशलाई बीऊ उत्पादनको हबको रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया