ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गेटाको विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान

आइतबार १६, कार्तिक २०८२ ०४:५२

धनगढी । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त दिन आह्वान गरिएको छ । सिफारिस समितिले १५ दिनको समय दिएर दरखास्त मागेको हो ।

उपकुलपति र रजिष्ट्रारको नाम सिफारिस गर्न गठित सिफारिस समितिले १४ कात्तिकमा कार्यविधि स्वीकृत गरेको थियो । सोही कार्यविधिअनुसार उपकुलपति र रजिष्ट्रार पदका लागि दरखास्त पेस गर्न भनेको हो ।

उपकुलपतिका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्सा शिक्षासँग सम्बन्धित कुनै विधामा विद्यावारिधि, डीएम, एमसीएच वा सो सरहको उपाधि प्राप्त गरेको हुनुपर्ने छ । कुनै विश्वविद्यालयको प्राध्यापक पदमा रही कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने छ । दरखास्त दिनु तत्कालअघि कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने भनिएको छ ।
रजिस्ट्रारको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने छ । उच्च शिक्षामा प्राध्यापन वा प्राज्ञिक अनुसन्धान वा स्वास्थ्य सेवाको कार्यकारी प्रशासनको पदमा वा नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको पद वा सोभन्दा माथिको पदमा कम्तीमा पाँच वर्ष कार्यअनुभव हासिल भएको हुनुपर्ने भनिएको छ ।

उपकुलपति र रजिस्ट्रार दुबैका लागि उमेर हद एउटै छ । दरखास्त पेस गर्ने अन्तिम दिनसम्म ३५ वर्ष उमेर पूरा भई ६१ वर्ष उमेर ननाघेको हुनुपर्ने छ ।

यसअघि असोज २८ गते बसेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको पहिलो बैठकले उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस समिति बनाएको थियो । सभाले प्रा.डा. जयराज अवस्थीको संयोजकत्वमा समिति बनाएकोमा डा. दीपक महरा र प्राध्यापक भारती जोशी सदस्य रहेका थिए । 

प्रतिक्रिया