ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा जात्राको रौनक, कहाँ कहिले लाग्दै छ मेला ?

शुक्रबार ०७, कार्तिक २०८२ ०८:५२

धनगढी । तिहार सकिएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ । डोटी, बैतडी, दार्चुला, डडेल्धुरा, अछामलगायत जिल्लामा कात्तिक शुक्ल पक्षको सुरुवातसँगै जात्राको रौनक सुरु भएको हो ।

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष मनाइने देहिजाँत अर्थात् उग्रतारा मेला भने कात्तिक १९ मा लाग्ने भएको छ । उग्रतारा क्षेत्र विकास समितिका अनुसार हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन दिउसेडी मेला लाग्दै आएको छ ।

यसवर्ष कात्तिक १८ मा रतेडी र १९ मा गतेका दिन दिउसेडी लाग्ने छ । डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को सुन्दर डाँडामा अवस्थित उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पुग्ने गरेका छन् ।

चौलोले प्रख्यात रहेको सुदूरपश्चिमको प्रसिद्ध बडाल जाँत भने कात्तिक १५ मा हुने भएको छ । १४ गते राति रतेडी र १५ गते दिउसेडी मेला लाग्ने वडाध्यक्ष मनोज देउवाले बताए । लाटा गन्याप देवताको भक्ति स्वरुप मनाइने चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले उक्त मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ ।

उता सुदूरपश्चिम प्रदेशको प्रख्यात धार्मिक एवं पर्यटकीयस्थल बडीकेदार धाममा कात्तिक १७ गते मेला लाग्ने भएको छ । डोटीको दक्षिणी क्षेत्रमा अवस्थित बडिकेदार गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकाको संगमको रूपमा रहेको बडीकेदार धाममा १७ गते मेला लाग्ने बडीकेदार धामका मूल पुजारी सिद्धराज बिनाडीले जानकारी दिए । मेलाको भोलिपल्ट १८ गते पूजन कार्य हुने बिनाडीले बताए ।

दार्चुलाको शैल्यशिखर, महाकाली नगरपालिका, मालिकार्जुन  र लेकम गाउँपालिकामा करिब एक महिनासम्म रात्रिकालीन जात्रा लाग्ने गर्दछ । 
शैल्यशिखर नगरपालिकाको लटिनाथ मन्दिर बन्तोली र मालिकार्जुन गाउँपालिकाको लटिनाथ कैयलपाल मन्दिर चौडमा जात्रा सुरु भएको छ ।

जिल्लाको सबैभन्दा ठूलो शैल्यशिखरमा त्रयोदशीको दिन र मालिकार्जुन जात्रा चतुर्दशीमा सकिन्छ । लेकाली क्षेत्रमा दशैँ तिहारभन्दा जात्रालाइ बढी महत्व दिइन्छ । 

भाइटिका लगाएपछि शैल्यशिखर–७ स्थित लटिनाथ मन्दिर बन्तोली, मालिकार्जुन–३ स्थित लटिनाथ मन्दिर चौडमा जात्रा लाग्ने गर्दछ । 

लटिनाथ मन्दिर बन्तोलीको व्यवस्थापन समितिले जात्रा अवधिभर मदिरा सेवन, जुवातास र अवाञ्छित गतिविधि पूर्णरूपमा निषेध गरेको जात्रा संयोजक मनिराज जोशीले बताए । जात्रामा भक्तजनले पूजाआजा गर्नुका साथै दमाहालगायत बाजा बजाउने, डेउडा खेल्ने गर्दछन् । 

प्रतिक्रिया