एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त ५०० मिटर लम्बाइ भएको नमुना पुल भएका कारण कर्णाली पुल आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षक बन्दै आएको छ । चिसापानीस्थित कर्णाली पुल हेर्नकै लागि यहाँ पर्यटक आउने गरेका छन् ।
नेपालको सुदूरपश्चिम क्षेत्रलाई अन्य भागसँग जोड्ने यो पुलको निर्माण २८ मंसिर २०५० मा सम्पन्न भएको थियो । करिब २३ करोड ६४ लाख रुपैयाँ (त्यसबेलाको १ करोड ५८ लाख डलर)मा बनेको यो पुल देशकै सुन्दर र महँगो पुलमा परेको थियो । विश्व बैंकको सहयोगमा बनेको यस पुलको सम्पूर्ण नक्सा अमेरिकी इञ्जिनियरिङ कम्पनीले बनाएको थियो भने निर्माणको काम जापानको कावासाकी हेभी ल्याब्सले गरेको थियो ।
पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिएको कर्णाली पुल नियमित मर्मत सम्भार तथा रेखदेखको अभावमा जीर्ण बन्दै गएको छ । ‘यो पुल निर्माण भएपछि अहिलेसम्म मर्मतसम्भार तथा रङरोगन हुन सकेको छैन,’ एक स्थानीयले भने ।
यो पुल काठमाडाैंबाट ५०० किलोमिटरको दूरीमा छ । पुलको डिजाइन र स्थानले यसलाई आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बनाएको छ । पुलको उद्घाटन २८ मंसिर २०५० मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट भएको थियो ।
यो पुलले बर्दिया र कैलालीलाई जोड्ने मात्रै नभएर लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलाई पनि जोडेको छ ।
तस्बिरहरू: प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया