ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

निरौलीको राजसी दसैँ यसरी पर्दैछ ओझेलमा

बुधबार १५, असोज २०८२ १०:४०

धनगढी ।  कुनै सयम रहडीहरूको भेला थियो, निरौली दसैँ मेला । अनि राजसी मेलाका रुपमा परिचित थियो निरौलीको दसैँ मेला  । तर, बसाइसराइले गाउँ रित्तिन थालेपछि अहिले अवस्था फेरिएको छ । 

डोटेली संस्कृतिविद् निर्मलकुमार भण्डारीका अनुसार डोटीको जोरायल गाउँपालिका– ६ मा लाग्ने निरौली दसैँ मेला राजसी मेला हो । निरौलीकै स्थानीय बासिन्दासमेत रहेका भण्डारी भन्छन्, ‘निरौली क्षेत्रको जग्गा सरकारी गुठीअन्तर्गतको थियो । सोही जग्गा भोगचलन गर्नेबाट मालपोतस्वरुप रकम संकलन गरेर दसैँ मेलाको पूजाआजाका लागि खर्च जुटाउने चलन थियो । राँगो किन्ने पनि सोही रकमबाटै हो । अष्टमीदेखि दशमीसम्म भव्य मेला लाग्ने गर्थ्यो ।’

वर्षौंअगाडिसम्म निरौली दसैँका लागि सरकारी बजेट नै विनियोजन हुने गरेको थियो । ‘मेलामा दिइने बलिमा पनि रकम संकलन गर्दा नेपालका राजाको नाम सम्बोधन गरिन्थ्यो,’ निरौली दसैँलाई सम्झिँदै भण्डारीले भने, ‘राजाबाट पनि केही रकम दसैँ मेलाका लागि आउँथ्यो । त्यसैले निरौलीको दसैँलाई राजसी दसैँ पनि भन्ने गरिन्थ्यो । त्यो दसैँ सुदूरपश्चिम प्रदेशमै प्रख्यात थियो ।’ 

डोटेली राजा निरैपालको पालादेखि निरौलीमा दसैँ मेला सुरु भएको बताउँदै भण्डारीले अहिले निरैपाल राजाको दरबार भने जीर्ण बनेको बताए । ‘उक्त मेलामा भण्डारीसँगै दलित समुदाय पनि सबैभन्दा बढी अधिकारप्राप्त हुन्छन्,’ उनले थपे, ‘दिउँसो गाउँको सिरानमा रहेको भागेश्वर र कामीक्षादेवीको मन्दिर तथा राति तोलीगडामा कार्यक्रम हुने गरेको थियो ।’

निरौली दसैँ मेला तीव्र बसाइँसराइका कारण ओझेलमा परेको भण्डारीको भनाइ छ । निरौलीका बासिन्दा अहिले तराईका कैलाली, कञ्चनपुरदेखि संघीय राजधानी काठमाडौंसम्म बसाइँ सरेपछि मेला पनि ओझेलमा परेको भण्डारीले बताए । 

निरौलीकै स्थानीय ओमप्रकाश भण्डारी पनि अहिले बसाइँसराइले गाउँ रित्तिन थालेपछि निरौली दसैँ पनि संकटमा परेको बताउँछन् । ‘अहिले त गाउँमा गाउने र बजाउने मान्छे नै पाउन मुस्किल छ,’ भण्डारीले भने, ‘सबै शहर पसेपछि राजसी दसैँ मनाउनका लागि निकै समस्या भइसकेको छ ।’ उनका अनुसार जिल्ला विकास समिति हुँदासम्म दसैँ मनाउनका लागि बजेट विनियोजन हुने गरेको थियो । केही वर्षसम्म जोरायल गाउँपालिकाले पनि दसैँ मेलाका लागि बजेट दिएको सम्झना भण्डारीसँग छ ।

‘अहिले निरौलीका बासिन्दा कोही कैलाली, कोही कञ्चनपुर त कोही काठमाडौंमा बस्दै आएका छन्,’ भण्डारीले भने, ‘दसैँ मनाउनका लागि उनीहरूबाट रकम संकलन गर्न पनि सम्भव भएन । त्यसैले मेलाको परम्परा पनि हराउन थालेको छ ।’

स्थानीय भण्डारीका अनुसार निरौली दसैँको मेलामा बलि चढाइने राँगोमा घाउ लगाउने चलन थियो भने राँगोसँगै तँछाडमछाड गर्दै उफ्रिँदै सहभागीहरू दौडिने चलन थियो । ‘सोही समयमा राँगोमाथि निर्मम प्रहार गर्ने गरिन्थ्यो,’ उनले भने, ‘लखेटीलखेटी तोलिगडा पुर्‍याइएको राँगोलाई त्यहाँ खुकुरीले प्रहार गर्ने चलन थियो । त्यतिले पनि नढलीकन राँगो गडसेरा चौकी गाडसम्म राँगो पुग्ने गर्थ्यो । यसरी दानवको प्रतीक मानेर मारिएको राँगोको टाउको ल्याई तोलिगडामा गिरी खेलिन्छ ।’

डोटेली संस्कृतिविद् भण्डारीका अनुसार दुई वर्षदेखि हुन नसकेको मेला यसवर्ष पनि हुन सकेन । पुजारीको निधनका कारण यसवर्ष मेला हुन नसकेको भण्डारीले बताए । 

निरौली दसैँ मेला आयोजना हुन छाडेपछि दुई हजार वर्ष पुरानो डोटीको ऐतिहासिक निरौली दरबार पनि जीर्ण बनेको छ । तत्कालीन राजा निरैपाल मल्लले बनाएको दरबार संरक्षणको अभावमा संकटमा परेको हो । दरबार क्षेत्रमा विक्रम संवत्‌को सुरुवातका बेलाको शिलालेख पनि छ ।

‘मासको गाह्रो लगाएर दरबार बनाइएको थियो,’ स्थानीय निर्मलकुमार भण्डारीले भने, ‘निरौली क्षेत्रमा मासको उत्पादन बढी भएकाले दरबारको गाह्रो मासले बनाइएको भनिन्थ्यो ।’ दरबारमा रहस्यमय शक्ति रहेको विश्वासका कारण अहिलेसम्म कोही पनि त्यसभित्र जान नसकेको स्थानीयवासीले बताए ।

प्रतिक्रिया