ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

चार महिनापछि खुल्यो डीडीसी अत्तरियामा लगाइएको ताला

मङ्गलबार ३१, भदौ २०८२ ०५:५०

धनगढी । दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालय र कारखाना कैलालीको अत्तरियाबाट धनगढी नसार्न माग गर्दै लगाइएको ताला चार महिनामा खुलेको छ । डीडीडीको केन्द्रीय कार्यालयले अत्तरिया कार्यालयलाई तत्कालका लागि पहिलेकै स्थानमै प्रशासनिक, आर्थिक र उत्पादन सम्बन्धी सम्पूर्ण कार्यहरु गर्न पत्र पठाएपछि मंगलबार सर्वपक्षीय बैठक बसेर डीडीसीको अत्तरियास्थित दुग्ध विकास आयोजना कार्यालयमा लगाइएको ताला खोलिएको हो । गोदावरी नगरपालिकाका नगरप्रमुख बीरेन्द्र भट्ट र स्थानीयहरुले जेठ ८ गते सो आयोजना कार्यालय र कारखाना धनगढी सार्न थालिएको भन्दै तालाबन्दी गरेका थिए ।

तालाबन्दीका कारण डीडीसीको अत्तरियास्थित कारखानाबाट उत्पादन, दुग्ध संकलन तथा बिक्री बाहेकको आर्थिक र प्रशासनिक काम प्रभावित भएको थियो । डीडीसीले तालाबन्दीकै कारण गत माघ महिनादेखि किसानहरुलाई दुधको मूल्य भुक्तानी गर्न पाएको छैन । ६ देखि ८ करोड रुपैयाँ भुक्तानी दिन बाँकी हुनसक्ने अनुमान डीडीसीले गरेको छ । अत्तरिया आयोजना कार्यालयका प्रमुख निरन्जन भट्टराईले कार्यालयमा तालाबन्दी गरिएको हुँदा भुक्तानी योग्य दुधको मूल्य हिसाब गर्न बाँकी रहेको बताए ।

लामो समयसम्म अत्तरिया कारखाना र कार्यालयका लागि उपयुक्त स्थान खोजी गरिए पनि प्राप्त नभएको भन्दै डीडीसीले धनगढी–१५ कनरीस्थित जडीबुटी प्रशोधन उद्योगको गोदाममा कारखाना र कार्यालय सार्ने तयारी गरेको थियो । सो गोदाममा खारखानाको लागि आवश्यक संरचना निर्माण गरी सार्ने तयारी गरिरहेकै बेला तालाबन्दी भएको थियो ।

संस्थानको कारखानाका लागि अत्तरियामा लामो सयमसम्म जमीन खोज्दा उपयुक्त जमीन नपाएपछि धनगढी उपमहानगरपालिकासंग सम्झौता गरी कारखाना सार्नका लागि ८ लाख रुपैयाँ खर्च गरी धनगढी–१५, कनरीस्थित जडिबुटी प्रशोधन केन्द्रको गोदामलाई दुग्ध कारखानाका लागि आवश्यक फाउण्डेशन बनाएको छ । ‘हामीले लामो सयमसम्म अत्तरियामा जमीन खोजे पनि नमिलेपछि विकल्पको रुपमा धनगढी रोजेका थियो,’ भट्टराईले भने, ‘धनगढीमा सस्तो भाडादरमा भवनसहित ठाउँ मिलेको छ ।’

अत्तरियामा २०६७ सालमा स्थापना संस्थानको दुग्ध विकास आयोजना कार्यालय र कारखाना कृषि थोक बजारको सटरमा छ । संस्थानले थोक बजार व्यवस्थापन समितिलाई मासिक ३८ हजार छ सय रुपैयाँ भाडा तिर्दै आएको छ । कैलाली, कञ्चनपुर र डडेल्धुराको आलिताल क्षेत्रबाट दैनिक चार हजारदेखि सात हजार लिटर दुध संकलन गर्दै आएको छ ।

सो कारखानाबाट संस्थानले तयारी दुध, दहि, मही, घ्यू, लस्सी, पनिर, आइसक्रिम लगायत उत्पादन गरी गर्दै आफ्नो विक्री केन्द्रहरुबाट मार्फत् बिक्री गर्दै आएको छ । सो कारखानामा दैनिक तीन सय लिटर दुध खपत भइरहेको भट्टराइले जनाए । बाँकी दुध कार्यालयले हेटौडा र पोखरास्थित दुग्ध विकास आयोजना कार्यालयमा पठाउने गरेको छ ।

गोदावरी नगरपालिकाले पनि डीडीसीलाई जग्गा उपलब्ध गराउनको लागि गोदावरीकै तीन ठाउँमा जग्गा दिन सकिने प्रतिवेदन डीडीसीलाई बुझाएको थियो । उक्त जग्गामध्ये डीडीसीलाई एक ठाउँको जग्गा छनोट गर्न भनिएको भए पनि हालसम्म उक्त प्रतिवेदनको जवाफ नआएको गोदावरीका मेयर भट्टले बताए ।

प्रतिक्रिया