ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

शेयर बजार असोज २ गतेसम्म बन्द रहने

शुक्रबार २७, भदौ २०८२ ०४:५२

काठमाडौं । सेयर बजार असोज २ गतेसम्म बन्द रहने भएको छ । नेपाल स्टक एक्स्चेन्जले एक सार्वजनिक सूचना जारी गर्दै असोज २ गतेसम्म कारोबार बन्द रहने जनाएको छ ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९० उपदफा १ खण्ड घ बमोजिम बजार ४ दिन बन्द गरिएको नेप्सेले जनाएको छ । यहीं व्यवस्थाअनुसार अर्को १ दिन बन्द अवधि थप्न सकिनेछ ।

ऐनको दफा ९० मा बोर्डको विशेष अधिकार समेटिएको छ । सोअन्तर्गत बुँदा नम्बर घ मा धितोपत्र बजारसँग परामर्श गरी बढीमा ५ दिनसम्म धितोपत्र बजार बन्द गर्न आदेश दिने व्यवस्था छ । यो व्यवस्थाअनुसार अधिकतम ५ दिन बजार बन्द गर्न सकिन्छ ।

यसअघि नेप्सेले मंगलबार, बुधबार र बिहीबार बजार बन्द गराएको छ । धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ मा आधारित भएर यी तीन दिन कारोबार स्थगित गराएको थियो ।

प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिई कारोबार प्रणालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सकिने सो नियमावलीमा उल्लेख छ ।

सेयर बजारका लगानीकर्ता बजार खोल्नेर नखोल्ने विषयमा दुईतिर बाँडिएका छन् । मनोभावना कमजोर रहेको अहिलेको अवस्थामा बजार खोल्दा थप घट्न गई नकारात्मकता बढ्ने भएकाले बजार बन्द लम्ब्याउनुपर्नेमा अधिकांश लगानीकर्ता छन् ।

तर केही लगानीकर्ता भने सम्पत्ति बन्धक बनाइरहन नमिल्ने भन्दै बजार खोल्नुपर्ने पक्षमा छन् । युवा पुस्ताको विरोध प्रदर्शनपछि निम्तिएको संकटका कारण मुलुक यतिबेला नेतृत्वबिहीन छ ।

प्रतिक्रिया