धनगढी । २८ भदौमा हुने कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको लागि उम्मेदवारहरु मतदाता रिझाउन व्यस्त छन् । २२ पदका लागि भइरहेको निर्वाचनमा ५० जनाकाे उम्मेदवारी छ ।
शुक्रबार भएको उम्मेदवारी दर्ताअनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा र पूर्वमहासचिव रुपेश स्वाँर प्यालनसहित चुनावी मैदानमा छन् । अध्यक्षमा ओझा भर्सेस स्वाँर हुँदा वर्तमान अध्यक्ष पुष्पराज कुँवरको भूमिकाबारे चर्चा हुन थालेको छ ।
१५ भदौमा धनगढीमा पूर्वमहासचिव स्वाँर नेतृत्वको प्यानल घोषणा कार्यक्रम थियो । कार्यक्रममा वर्तमान अध्यक्ष कुँवर सहभागी भए । प्यानल घोषणा कार्यक्रममा कुँवरको सहभागिताले उनको समर्थन स्वाँर टिमलाई नै छ भन्ने अनुमान लगाउन थालियाे ।
त्यसको भोलिपल्ट १६ भदौमा पुष्करराज ओझा समूहको प्यानल घोषणा र घोषणापत्र सार्वजनिक कार्यक्रम भयो । उक्त कार्यक्रममा पनि सहभागी भए वर्तमान अध्यक्ष कुँवर । ओझा टिमबाट कुँवरका आफन्त पनि उम्मेदवार बनेपछि उनको समर्थन ओझालाई नै हुन्छ की भन्ने अनुमान पनि लगाइयो । तर, कोपिला कुँवरले सचिवमा स्वतन्त्र उम्मेदवारी घोषणा कार्यक्रममा गर्दा पनि सहभागी भए, वर्तमान अध्यक्ष कुँवर ।
प्यानलसहित उम्मेदवारी घोषणा गरेका ओझा र स्वाँर तथा स्वतन्त्र उम्मेदवारी दिएकी कोपिलाको कार्यक्रममा वर्तमान अध्यक्ष कुँवर सहभागी भएपछि उनको समर्थन कसलाई भन्नेबारे व्यवसायीमा अन्योलता छ । यता अध्यक्ष कुँवर भने उम्मेदवारी घोषणा कार्यक्रममा निमन्त्रण भएपछि सहभागी भएको बताउँदै आफू कसैको समर्थन वा विरोधमा नरहेको बताए । ‘म अध्यक्ष भएकाले साझा व्यक्ति हो,’ अध्यक्ष कुँवरले भने, ‘स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन सक्ने मेरो जिम्मेवारी हो । कसैको पछि लाग्दा राम्रो सन्देश जाँदैन ।’
व्यवसायीहरुका अनुसार अध्यक्ष कुँवर खुलेर कुनै पनि पक्षमा नलाग्नुको पछाडि अर्को कारण पनि । उनी उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्ष बन्ने लाइनमा छन् । ‘प्रदेशको अध्यक्ष बन्दा अहिले कैलालीको नेतृत्वको लागि चुनावी मैदानमा उत्रिएका दुबै पक्षको समर्थन आवश्यक रहेकोले उनी खुलेरै कुनै टिमको समर्थनमा लाग्ने सम्भावना छैन,’ एक व्यवसायीले भने । अध्यक्ष कुँवरले अग्रलेखसंग कुराकानी गर्दै आफू प्रदेश अध्यक्षको दाबेदार भएको बताए ।
यी हुन् उम्मेदवार
कैलाली उद्योग वाणिज्य संघका निर्वाचनका लागि ओझा र स्वार अध्यक्षमा उम्मेदवार छन् । ओझा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा ओमबहादुर बिष्ट, उद्योग उपाध्यक्षमा बासुदेव भट्ट, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा भीमराज ओझा, महासचिवमा दिनेश लम्साल, कोषाध्यक्षमा सुरेन्द्रबहादुर कडायत र सचिवमा कृष्णाकुमारी बिष्टले उम्मेदवारी दर्ता गरेका छन् । उक्त प्यानलबाट १३ जनाले सदस्यमा उम्मेदवारी दिएका छन् ।
यस्तै स्वाँर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा केशवराज जोशी, उद्योग उपाध्यक्षमा लक्ष्मणराज पन्त, एसोसिएट उपाध्यक्षमा अनिलकुमार भोजनिया, वाणिज्य उपाध्यक्षमा राधिका चौधरी, वस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्द उम्मेदवार बनेका छन् । उक्त समूहबाट पनि १३ जना सदस्यमा उम्मेदवार छन् ।
निर्वाचनमा तीन पदाधिकारी र तीन सदस्य गरि छ जना स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा रहेका छन् । वरिष्ठ उपाध्यक्ष पदमा सुरेन्द्र राठी, एसोसिएट उपाध्यक्षमा कविन्द्र पन्त र सचिव पदमा कोपिला कुँवर स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएका छन् । २८ गते हुने निर्वाचनमा दुई हजार २७४ जना व्यवसायी मतदाता छन् ।
प्रतिक्रिया