धनगढी । २८ भदौमा हुने कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको लागि ५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । नौ पदाधिकारी र १३ सदस्य गरि २२ पदका लागि भइरहेको निर्वाचनमा २१ जनाले पदाधिकारी र २९ जनाले सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
निर्वाचन समितिका अनुसार शुक्रबार उम्मेदवारी दर्ता गरिएकोमा आज दाबीविरोधमाथि छानबिन, उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली सार्वजनिकको तालिका छ ।
शुक्रबार भएको उम्मेदवारी दर्ताअनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा र पूर्वमहासचिव रुपेश स्वाँर प्यालनसहित चुनावी मैदानमा उत्रिएका छन् । संघको अध्यक्ष पदमा ओझा र स्वाँरले उम्मेदवारी दर्ता गरेका छन् ।
ओझा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा ओमबहादुर बिष्ट, उद्योग उपाध्यक्षमा बासुदेव भट्ट, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा भीमराज ओझा, महासचिवमा दिनेश लम्साल, कोषाध्यक्षमा सुरेन्द्रबहादुर कडायत र सचिवमा कृष्णाकुमारी बिष्टले उम्मेदवारी दर्ता गरेका छन् । उक्त प्यानलबाट १३ जनाले सदस्यमा उम्मेदवारी दिएका छन् ।
यस्तै स्वाँर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा केशवराज जोशी, उद्योग उपाध्यक्षमा लक्ष्मणराज पन्त, एसोसिएट उपाध्यक्षमा अनिलकुमार भोजनिया, वाणिज्य उपाध्यक्षमा राधिका चौधरी, वस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्द उम्मेदवार बनेका छन् । उक्त समूहबाट पनि १३ जना सदस्यमा उम्मेदवार छन् ।
निर्वाचनमा तीन पदाधिकारी र तीन सदस्य गरि छ जना स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा रहेका छन् । वरिष्ठ उपाध्यक्ष पदमा सुरेन्द्र राठी, एसोसिएट उपाध्यक्षमा कविन्द्र पन्त र सचिव पदमा कोपिला कुँवर स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएका छन् ।
भदौ २८ गते हुने निर्वाचनले संघमा अध्यक्षसमेत गरी नौ जना पदाधिकारीसहित २२ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । नेतृत्व चयनका लागि निर्वाचनमा दुई हजार २७४ जना व्यवसायी मतदाता छन् ।
प्रतिक्रिया