ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
घाइते २२ कैदीबन्दीको स्थानान्तरण

कैलाली कारागार : आक्रमणमा संलग्नको पहिचान भएन, त्रासमा छन् कैदीबन्दी

बुधबार ११, भदौ २०८२ ०४:५०

धनगढी । २३ साउनको राति कैलाली कारागारको ब्लक ‘ए’मा रहेका कैदीबन्दीले ब्लक ‘बी’मा रहेका कैदीबन्दीमाथि हमला गरे । कैदीबन्दी भरत चौधरीको मृत्यु भयो भने ४७ जना घाइते भए । घटनाको तीन साता पुग्नै लाग्दा पनि आक्रमणमा संलग्नको पहिचान भने हुन सकेको छैन । 

घटनापछि छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा गठित समितिले प्रतिवेदन बुझाइसकेको छ । तर, छानबिन टोलीले पनि आक्रमणमा संलग्नको पहिचान गर्न सकेन । छानबिन समितिले बुझाएको प्रतिवेदनमा घटनामा संलग्न कैदीबन्दी किटान गरिएको छैन भने कारागारभित्रको सिसिटिभी फुटेज स्पष्ट नभएको र फरेन्सिक जाँच नभएकाले संलग्न ठम्याउन नसकिएको उल्लेख छ । 

समितिले विज्ञ सम्मिलित उच्चस्तरीय छानबिन समिति आवश्यक रहेको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार आक्रमणमा ज्यान गुमाएका चौधरीका आफन्तले जाहेरी दिएपछि प्रहरीले पनि घटनाको अनुसन्धान गरिरहेको छ ।  

आक्रमणमा संलग्न कैदीबन्दीको पहिचान गर्दै कारबाहीको थप प्रक्रिया अगाडि नबढेपछि ‘बी’ ब्लकमा रहेका कैदीबन्दीमा भने त्रास कायमै छ । ‘व्यक्तिको ज्यान जाने गरी भएको आक्रमणमा संलग्नलाई सरुवासम्म पनि गरिएको छैन,’ बी ब्लकमा रहेका एक कैदीबन्दीका आफन्तले भने, ‘उल्टै घटनामा घाइते भएकाहरुको सरुवा गर्न थालिएको छ । जसका कारण बी ब्लक झनै कमजोर भएको छ । ए ब्लकका कैदीबन्दीबाट फेरि पनि आक्रमण हुने त्रास उनीहरुमा छ ।’ 

घाइते कैदीबन्दीको अन्य जिल्लाका कारागारमा स्थानान्तरण हुन थालेपछि ‘बी’ ब्लकमा रहेका कैदीबन्दीले पनि सरुवा माग्न थालेका छन् । कैलाली कारागारका जेलर प्रकाश ढुंगानाले बन्दीगृहमा रहेका कैदीबन्दीको पनि सरुवाका लागि निवेदन आइरहेको बताउँदै भने, ‘पहिले घाइते कैदीबन्दीको व्यवस्थापन सक्छौं । त्यसपछि अन्य कैदीबन्दीको निवेदनमाथि सम्बोधन हुन्छ ।’
यसअघि स्थानीय प्रशासन र कारागार प्रशासनले कैदीबन्दीको इच्छाअनुसार सरुवा गरेर कारागारको समस्या समाधान गर्ने बताएको थियो । घाइते कैदीबन्दीले आफूहरुको नभई आक्रमणमा संलग्न कैदीबन्दीको स्थानान्तरण गर्नुपर्ने माग राखेका थिए । तर, अहिले घाइते कैदीबन्दीकै स्थानान्तरण भइरहेको छ । जेलर ढुंगानाका अनुसार २२ गते एक र २३ गते ४७ गरी ४८ जना कैदीबन्दी घाइते भएका थिए । उनीहरुमध्ये २२ जनाको स्थानान्तरण भइसकेको छ भने २६ जना अस्पतालमै छन् । 

घाइते कैदीबन्दीमध्ये चार जनालाई डडेल्धुरा कारागार, तीन जनालाई जिल्ला कारागार डोटी, छ जनालाई कञ्चनपुर, पाँच जनालाई नौवस्ता कारागार बाँके र एक जनालाई नवलपरासी कारागार स्थानान्तरण गरिएको जेलर ढुंगानाले बताए । तीन जना कैदीबन्दीलाई उपचारका लागि काठमाडौं लगिएकोमा उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेपछि उतैको कारागारमा सरुवा गरिएको छ । 

प्रतिक्रिया