धनगढी । सुदूरपश्चिम प्रदेशका स्वास्थ्य संस्थाहरूमा परिवार नियोजनका अस्थायी साधनहरूको अभाव भएको छ । स्वास्थ्य संस्थाहरूमा परिवार नियोजनका कतिपय अस्थायी साधनको मौज्दात सकिएपछि सेवाग्राहीले चाहेअनुसार अस्थायी साधन पाएका छैनन् ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी जयन्द्र बोगटीले केन्द्रमा इम्प्लान्ट, डिपो र साइनाप्रेसको मौज्दात सकिएको दुई–तीन महिना भएको जानकारी दिए । उनका अनुसार अन्य साधनको पनि आकस्मिक मौज्दातसमेत सकिँदै गएको छ । कन्डम, पिल्सलगायत अन्य साधनको आकस्मिक मौज्दात पनि सकिन लागेको उनले बताए ।
सबै जिल्लाबाट परिवार नियोजनका साधनको माग भइआए पनि मौज्दात थोरै भएकाले पठाउन नसकिएको केन्द्रले जनाएको छ । केन्द्रमा अहिले कन्डम दुई लाख पिस, पिल्स चक्की तीन हजार २४ साइकल र आइयुडी ३५० सेट मौज्दात रहेको सूचना अधिकारी बोगटीले जानकारी दिए । केन्द्रले पछिल्ला १३ महिनामा प्रदेशभरि २३ लाख ५० हजार सात सय पिस कन्डम, दुई लाख पाँच हजार ३७८ साइकल पिल्स, एक हजार २५ सेट आइयुडी वितरण गरेको जनाएको छ । त्यस्तै, डिपो ७५ हजार चार सय, इम्प्लान्ट १६ हजार ३१० भाइल र साइनाप्रेस २४ हजार सात सय भाइल वितरण गरिएको बोगटीले जानकारी दिए । केन्द्रका अनुसार साइनाप्रेस कैलालीसहित तीन जिल्लामा मात्र लागू भएको छ।
महिलाले प्रयोग गर्ने डिपो र साइना तीन–तीन महिनामा लगाउनुपर्छ भने आइयुडी, इम्प्लान्ट बहुवर्षीय अस्थायी साधन हुन् । पिल्स खानेचक्की हो । सुदूरपश्चिममा खपत हुने अस्थायी साधनको करिब ४० प्रतिशत कैलाली र २० प्रतिशत कञ्चनपुरमा खपत हुने गरेको सूचना अधिकारी बोगटीले जानकारी दिए ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवर परिवार नियोजनका साधनको सहज उपलब्धता नहुँदा पर्ने असर बहुआयामिक रहेको बताउँछन् । चाहनाभन्दा बढी सन्तान, जनसंख्या वृद्धि, गर्भपतन, बढी सन्तान जन्माउँदा महिलाको स्वास्थ्यमा समस्याजस्ता असर देखिने उनले बताए ।
सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइने परिवार नियोजनका साधनमध्ये कतिपय निजी अस्पताल र मेडिकलमा पाउँदैनन् । आपूर्ति केन्द्रका अनुसार इम्प्लान्ट, आइयुडीलगायत केही साधन निजी क्लिनिकमा किन्न पाइँदैन ।
प्रदेशभरि अहिले क्षयरोगविरुद्धको औषधि पनि अभाव रहेको आपूर्ति केन्द्रले जनाएको छ । संघीय सरकारले आपूर्ति गर्ने उक्त औषधि बजारमा किन्न पाइँदैन ।
प्रतिक्रिया