काठमाडौँ । सरकारले प्राचीन चिकित्सा पद्धतिलाई प्राथमिकता दिएर राष्ट्रिय कार्यक्रमको रूपमा सुरु गरेको ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम विवादमा तानिएको छ । कार्यक्रम सुरु गरेको एक साता नबित्दै स्वर्णभस्म र स्वर्णकल्प वितरण तत्काल रोक्न माग गरिएको छ ।
बिहीबार स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उक्त कार्यक्रम सुदूरपश्चिम प्रदेशको धनगढीबाट सुरु गरेका थिए । जसअनुसार मन्त्रालयले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ खुवाउन सुरु गरेको हो । तर, बालबालिकाको स्वास्थ्यसँग जोडिएको यस अभियानमा वैज्ञानिक प्रमाणको अभाव, गुणस्तरको अनिश्चितता र सम्भावित जोखिम देखिएको भन्दै नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) ले अभियान स्थगित गर्न आग्रह गरेको छ ।
नेपासका अध्यक्ष डा. अरुणकुमार न्यौपानेले प्रतिरक्षा प्रणालीको वृद्धि हुने आधारमा वितरण गर्न लागिएको स्वर्णकल्पबारे हालसम्म पर्याप्त वैज्ञानिक र क्लिनिकल प्रमाण उपलब्ध नभएको बताएका छन् । यस्तै बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंले हेभी मेटल (गोल्ड), सिसा (लिड), पारो (मर्करी) र आर्सेनिकजस्ता हानिकारक तत्त्व हुन सक्ने जोखिम रहेको बताए ।
बजार सर्वेक्षणमा केही आयुर्वेदिक उत्पादनमा यस्ता तत्त्व पाइएको र यसले बालबालिकामा ‘लिड पोइजनिङ’ जस्तो गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने खतरा रहेको उनले बताए । डा. चापागाईंले चरक संहिता र आयुर्वेद विज्ञान जस्ता प्राचीन ग्रन्थहरूमा यसको उल्लेख भएता पनि आधुनिक चिकित्सा प्रणालीले खोज्ने वैज्ञानिक प्रमाण, सामग्रीको निश्चित मात्रा, र सम्भावित साइड इफेक्टबारे स्पष्ट जानकारीको अभाव रहेको स्पष्ट पारे ।
नेपासका अध्यक्ष डा. न्यौपानेले बालबालिकाको उमेर, सुरक्षा र मात्राबारे स्पष्ट मापदण्ड र चेतावनी राखिनुपर्ने, विशेष अध्ययन र अनुसन्धानबाट सुरक्षित प्रमाणित भएपछि मात्रै यसको प्रयोगबारे सोच्नुपर्ने बताएका छन् । बालरोग विशेषज्ञ डा. चापागाईंका अनुसार स्वर्ण भस्मले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भनेर प्रचार गरिएको छ तर यसले साँच्चै इम्युन रेस्पोन्स बढाउँछ र रोगसँग लड्ने क्षमता वृद्धि गर्छ भन्ने पुष्टि गर्ने कुनै प्रकाशित वैज्ञानिक अध्ययन र प्रमाण भेटिएको छैन ।
के भन्छ औषधि व्यवस्था विभाग ?
औषधि व्यवस्था विभागले स्वर्ण भस्म उत्पादनको दर्ता, वैधता, ब्याच नम्बर, प्रयोग गर्न मिल्ने उमेर समूह र शुद्धताको प्रमाणपत्रजस्ता विषयमा पारदर्शी नियमन गर्न सकेको छैन । ठुलो संख्यामा खुवाउनका लागि उत्पादन गर्दा विभिन्न ब्याचको गुणस्तरमा एकरूपता छ कि छैन भन्ने पनि महत्त्वपूर्ण प्रश्न रहेको चापागाइको भनाइ छ । एउटा ब्याच र अर्को ब्याचबिचको प्रभावकारिता र सुरक्षामा स्थिरता छ भन्नेबारे कुनै स्वतन्त्र अध्ययन नभएको उनको तर्क छ ।
कुनै पनि औषधि वा पूरक खाद्यपदार्थलाई सामूहिक प्रयोगमा ल्याउनुअघि त्यसको प्रभावकारिता र सुरक्षाबारे स्वतन्त्र र वैज्ञानिक अध्ययन हुनुपर्ने उनको भनाइ छ । ‘यसलाई प्रयोगमा ल्याउनुअघि स्वतन्त्र रूपमा अध्ययन गरेर यसले साँच्चै फाइदा गर्छ भन्ने पुष्टि हुनुपर्छ, त्यसपछि मात्र प्रयोगको लागि सिफारिस गर्नु उपयुक्त हुन्छ,’ उनले भने ।
उता औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले ‘स्वर्ण भस्म’ पहिलेदेखि नै विभागमा दर्ता भएको र अनुमति प्राप्त उत्पादन भएको बताए । उनले भने, ‘भस्म पहिलेदेखि नै दर्ता अनुमति पाएको प्रोडक्ट नै हो ।’
महानिर्देशक ढकालले कार्यक्रम औषधि व्यवस्था विभागको नभई आयुर्वेदिक प्रणालीअन्तर्गत मन्त्रालयले सुरु गरेको हो । ‘यो औषधि व्यवस्था विभागको कार्यक्रम होइन । यो आयुर्वेदिक सिस्टमको कुरा हो,’ उनले भने, ‘उहाँहरूले कश्यप संहितामा छ भनेर सुरु गर्नुभएको हो ।’
यसको औचित्यबारे कार्यक्रम सञ्चालन गर्ने निकायले नै जवाफ दिनुपर्ने भन्दै विभागको भूमिका औषधि दर्ता र नियमनमा मात्र सीमित हुने महानिर्देशक ढकालको जिकिर छ ।
के भन्छ स्वास्थ्य मन्त्रालय ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बालबालिकालाई स्वर्ण भस्म खुवाउने कार्यक्रम हचुवाको भरमा वा कुनै तयारीविना सुरु नगरिएको बताएका छन् । यो कार्यक्रम प्रणालीगत प्रक्रिया पूरा गरेरै अघि बढाइएको भन्दै स्वर्ण भस्मको अभ्यास नेपालमा परापूर्वकालदेखि चल्दै आएको उनले दाबी गरे ।
यो अभ्यास भारतमा २००–३०० वर्षदेखि र ‘काश्यप संहिता’जस्ता करिब २५०० वर्ष पुराना आयुर्वेदिक ग्रन्थहरूमा समेत उल्लेख भएको हुँदा यसको ऐतिहासिक आधार बलियो रहेको मन्त्रालयको तर्क छ । उता आयुर्वेद विभागका पूर्वमहानिर्देशक डा. वासुदेव उपाध्याय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम शास्त्रीय ज्ञानमा आधारित भए पनि यसको वैज्ञानिक परीक्षण र प्रमाणहरू समेत रहेको जिकिर गर्छन् ।
विभिन्न विश्वविद्यालयहरूले गरेको अनुसन्धानले स्वर्ण प्राशनले बालबालिकामा हुने बारम्बारको रुघाखोकी, कुपोषण र अन्य स्वास्थ्य समस्यालाई कम गर्न मद्दत पुर्याएको देखाएको उनको दाबी छ ।
प्रतिक्रिया