धनगढी । दसैं, तिहार लगायतका प्रमुख चाडबाड नजिकिएका छन् । विभिन्न कामकाजको शिलशिलामा घरबाहिर रहेकाहरु केही दिनमै घर फिर्ने क्रम सुरु हुनेछ ।
यतिबेला बाटोघाटोको ठीकठाक हुनुपर्ने, सडक यातायात सुचारु भइरहनुपर्ने बेला हो । तर, देशकै मानव विकास सूचांकमा सबैभन्दा पुछारमा रहेको बाजुरामा भने मार्तडी–कोल्टी सडक अवरुद्ध भएको महिनौं बितिसक्यो । वर्षायाम सुरु हुने बित्तिकै ठाउँठाउँमा भत्किएर यातायात सेवा अवरुद्ध भएको उक्त सडक अझै सुचारु हुन सकेको छैन ।
सदरमुुकाम मार्तडीदेखि करिब ४० किलोमिटर लम्बाई रहेको मार्तडी–कोल्टी सडकको यस अवस्थाको जिम्मेवार व्यक्ति इन्द्रबहादुर बाँनिया हुन् । राजनीतिक शक्ति केन्द्रमा रहेका बाँनिया बागमती प्रदेशका मुख्यमन्त्रीसमेत हुन् । इजाजतपत्र नम्बर ३४९० रहेको ‘क’ वर्गको निर्माण कम्पनी बाँनियाकै हो ।
नेपाली कांग्रेसका नेतासमेत रहेका मुख्यमन्त्री बाँनियाकै कम्पनी संलग्न बाँनिया कुशेश्वर जेभीले मार्तडी–पिलुचौर सडक खण्डअन्तर्गत चुथीदेखि ५ किलोमिटर ढम्कनेसम्म र ढम्कनेदेखि २६ किलोमिटर कोल्टी किनार दानसाँघुसम्म सडक निर्माणको ठेक्का पिएस बाँनिया जेभीले लिएको छ ।
दोस्रो प्याकेज चुथीदेखि ढम्कनेसम्मको ५ किलोमिटर कालोपत्रे सडक निर्माण ०७८ असार १७ सम्पन्न गरिसक्ने सर्तमा बाँनिया–कुशेश्वर जेभीले ०७६ कार्तिक ९ गते सम्झौता गरेको थियो । तर, चार पटक म्याद थप गर्दा पनि निर्माण कार्य गरेको छैन । पछिल्लो पटक ०८३ वैशाख ३० सम्मका लागि म्याद थप भएको पूर्वाधार विकास कार्यालय साँफेबगरले जनाएको छ ।
१२ करोड ११ लाख ७८ हजार ४९७ रुपैयाँमा ठेक्का सम्झौता गरेका उक्त कम्पनीका प्रतिनिधि रिसिराज बाँनियाले उक्त खण्ड हेरिरहेका छन् ।
यस्तै मार्तडीदेखि १४ किलोमिटर दुरीमा पर्ने ढम्कनेदेखि ४० किलोमिटरमा पर्ने कोल्टी किनारको दानसाँघुसम्मको २६ किलोमिटर सडकको ठेक्का पनि पिएस बाँनिया जेभीले लिएको छ । ५० करोड १६ लाख ९५ हजार ४५६ मा०७७ असार २९ गते ठेक्का सम्झौता गरेको कम्पनीले ०८० असार १६ भित्र सम्पन्न गर्ने सर्तमा मञ्जुरी गरेका थिए । तर, पटकपटक म्याद थप भएको छ । तेस्रो पटक म्याद थप गरी ०८४ असार २० सम्मका लागि फेरि म्याद लम्ब्याएका छन् । त्यसमा पनि फिल्डमा काम गर्ने प्रतिनिधि रिसिराज बाँनिया नै हुन् ।
मार्तडी–कोल्टी–पिलुचौर सडक सुदूरपश्चिम प्रदेश सरकारको बहुवर्षीय योजना हो । यो योजना ०७६/०७७ सालदेखि सुरु भएको हो । गत आर्थिक वर्ष ०८१/०८२ मा पूर्वाधार विकास कार्यालयले काम गराउन नसक्दा १३ करोड रकम फ्रिज गराएको छ ।
सम्झौता गरेको पाँच वर्ष बितिसक्दासम्म पनि ६ करोडभन्दा बढीको काम नभएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । काम नगरे पनि उनीहरुले पटकपटक म्याद थप गराएकै छन् । गत आर्थिक वर्षमा विनियोजित १४ करोडमध्ये १३ करोड फ्रिज गएको कार्यालयले जनाएको छ ।
यता, पूर्वाधार विकास कार्यालय साँफेबगरका कर्मचारीहरुले भने दर्जन पटक पत्राचार गर्दा पनि ठेकेदार कम्पनीले सुनुवाई नगरेको भन्दै लाचारी व्यक्त गरेका छन् । ‘दर्जनौ पटक पत्र काटिसक्यौं, टेर्दैनन्,’ पूर्वाधार विकास कार्यालयका इन्जिनियर देवी उपाध्यायले भने, ‘भनसुन र सोर्सफोर्सले म्याद थपिन्छ । गत वर्ष पनि करोडौं रकम फ्रिज भयो । बाँनियाका अछाममा दुई र बाजुरामा दुई ठेक्का छन् । चार वटै अलपत्र छन् ।’
मार्तडीदेखिको पहिलो प्याकेज ९ किलोमिटरमा पर्ने चुथीसम्मको निर्माण कार्य भने ०८१ असार १ गते नै सम्पन्न भइसकेको छ । २० करोड ६१ लाख ४६ हजार २४० रकममा धुलखेल, गल्वा र श्याम एण्ड शंकर जेभी निर्माण कम्पनीले ०७६ कार्तिक ५ गते सम्झौता गरेको थियो । निर्माण कम्पनीको इच्छाशक्ति भयो भने निर्धारित समयमै काम गर्न उक्त कम्पनीले सावित गरिदिएको थियो ।
सडक अवरुद्ध हुँदा बाजुराको पूर्वोत्तर क्षेत्र र कार्णालीको हुम्ला मुगु र कालिकोटका बासिन्दालाई सास्ती छ । विरामीहरुलाई उपचारका लागि सदरमुकाम ल्याउनु परे एम्बुलेन्स सञ्चालन हुने अवस्था छैन । कोल्टीबाट मार्तडी पुग्न सात ठाउँमा गाडी फेर्नुपर्ने बाध्यता छ ।
प्रतिक्रिया