धनगढी । कैलालीको धनगढीबाट डोटीको दीपायल हुँदै बझाङको उरै भन्ज्याङ जोड्ने सडकमा यसवर्ष चार पुल निर्माणको कामले तिव्रता पाउने भएको छ । यसअघि चार वटै पुलको निर्माण बजेट अभाव र निर्माण व्यवसायीले काम नगर्दा अलपत्र परेको थियो ।
गत आर्थिक वर्षदेखि निर्माणमा गति लिएको मटेली नदी, चौकीगडा, चेप्टेनदी र हाटखोली नदीको पुल निर्माणका लागि चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन भएको र काम पनि भइरहेको हुँदा यसवर्ष सम्पन्न हुने आयोजना कार्यालयले जनाएको छ । सो सडकमा ठेक्का लगाइएको आठ वटा पुलमध्ये सालकोट नदीको पुल गत असारमै निर्माण सम्पन्न भएको छ ।
चालु आर्थिक वर्षका लागि हाटखोली पुलका लागि तीन करोड ४० लाख, ग्वासी पुलका लागि तीन करोड, चेप्टेखोला पुलका लागि एक करोड ७५ हजार, चौकीगडा पुलका लागि एक करोड, मटेली खोला पुलका लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । यो रकम विनियोजनसंगै यसवर्ष चार वटा पुलको निर्माण सम्पन्न हुने र ग्वासी पुल समेत निर्माण सम्पन्न हुने अवस्थामा पुग्ने बताइएको छ।
कालागाड लामागडाम पुलमा ५० लाख र नकुराडी पुलमा २५ लाख रुपैयाँ मात्रै विनियोजन भएको छ । नकुराडी पुलमा गतवर्ष काम नै नभएपछि विनियोजित ८० लाख रुपैयाँ अर्को काम भएको पुलमा सारेर खर्च गरिएको थियो ।
निर्माण कम्पनीले काम नगरेकाले कालागाड लामागडा पुल, कनुराडी नदी पुल र ग्वासी नदी पुल सुरुवाती अमस्थामै छन् । ती पुलहरु यसैवर्ष सम्पन्न हुन नसक्ने भएकाले बजेट पनि कम विनियोजन भएको आयोजनाले जनाएको छ । कालागडा लामागाड पुलमा टिडिआर कन्स्ट्रक्सनले चार वर्षमा एसाइडको जग मात्रै खनेको छ । नकुराडी नदी पुलमा मालिका शनिदेव जेभीले एकतर्फ पिलरको जग खनेर अर्कोतर्फ खन्न थालेको आयोजनाका सूचना अधिकारी दिनेश रैखोलाले बताए । उनले ग्वासी नदीमा गुल्लीभार कुटुम्ब भुवनेश्वरी जेभीले एकसाइडको जन बनाएर अर्कोतर्फ खनिरहेको बताए ।
आयोजना कार्यालयले २०७८ माघमा छ वटा र २०७९ जेठमा दुई वटा गरी आठ वटा पुल निर्माणका लागि आयोजना कार्यालयले २८ करोड ७५ लाख २२ हजार १४० रुपैयाँमा ठेक्का लगाएको थियो । तर ती पुलहरुमा ठेकेदारहरुले काम नगरेको र बजेट अभाव समेत रहेकोले दुईदेखि चार पटकसम्म म्याद थप गर्दा पनि निर्माण सम्पन्न भएको छैन ।
मटेली नदी, चौकीगडा र चेप्टे खोलामा पुल निर्माण गर्न ठेक्का तथा हाटखोली र ग्यासी नदीमा पेटी ठेक्का लिएको मित्र बिल्डर्सले मटेली नदी, चेप्टे खोला र हाटखोलीमा पिलरको क्यापसम्म काम गरेको छ । ‘ती पुलहरुमा स्ल्याब हाल्न मात्रै बाँकी छ,’ इञ्जिनियर रैखोलाले भने, ‘चौकीगडा पुलमा स्ल्याब हालेर चाडी चल्ने बनिसकेको छ । यसमा नदी नियन्त्रणको काम मात्रै बाँकी छ ।’
गल्लीभर कुटुम्ब भुवनेश्वरी जेभीबाट पेटी ठेक्का लिएको मित्र बिल्डर्सले पुल निर्माणस्थलमा ढुंगा लागेकाले समयमा काम गर्न कठिन भएको जनाएको छ ।
मित्र बिल्डर्सले मटेली नदी पुल निर्माण गर्न दुई करोड ८८ लाख ६३ हजार ३१५, चेप्टेखोला पुल निर्माण गर्न, दुई करोड ६२ लाख ९७ हजार ३८२ र चौकीगडामा पुल निर्माण गर्न चार करोड ७० लाख ३३ हजार २८ रुपैयाँमा ठेक्का लिएको थियो । ग्वासी खोलामा तीन करोड ९८ लाख ७७ हजार ५५८ र हाटखोली खोलामा चार करोड ५९ लाख ९८ हजार ३५९ रुपैयाँमा पुल निर्माण गर्न गुल्लीभर–कुटुम्बा–भुवनेश्वरी जेभीसंग सम्झौतामा भएकोमा मित्र बिल्डर्सले नै काम गरिरहेको छ ।
यसैगरी, जमुनाबासस्थित कालागाडमा पुल निर्माण गर्नका लागि टिडिआर कन्स्ट्रक्शन प्रालिसंग तीन करोड ५८ लाख ४२ हजार ६३१ रुपैयाँमा सम्झौता भएको थियो । गडशेरास्थित नकुराडी गाडमा पुल निर्माण गर्नका लागि मालिका शनीदेव जेबी जेभीसंग तीन करोड ३८ ७१ हजार ९५४ रुपैयाँ सम्झौता भएको थियो । यो पुलमा सो जेभीले गतआर्थिक वर्षमा कुनै पनि काम नगरेको इञ्जिनियर रैखोलाले बताए ।
धनगढीदेखि थलारासम्मको १८६ किलोमिटर सडकमा ४१ किलोमिटर सडक कालोपत्रे भएको छ भने २१ किलोमिटर सडक कालोपत्रेको काम पनि यसवर्ष सम्पन्न हुने आयोजना कार्यालयले जनाएको छ । सो सडकमा गतआर्थिक वर्षमा एक अर्ब रुपैयाँ लागतमा सडक निर्माणको ठेक्का लगाउन नेपाल सरकारले स्रोत सहमति दिए पनि ठेक्का लगाउने प्रक्रियामा सर्वोच्च अदालतले स्टे अर्डर जारी गरेपछि नयाँ ठेक्का लाग्न सकेको छैन ।
प्रतिक्रिया