ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
यात्रा संस्मरण

धनगढी टु दीपायल, एक मनमगन यात्रा

शनिबार ०७, भदौ २०८२ १२:३६

धनगढी । रातको अन्धकारलाई चिरेर सूर्यको तेजिलो किरणले तराईको सम्म परेको मैदानमा उज्यालो छरिदिन्छ । म पनि त्यहीँ शुभ प्रभातिकरणसँगै हातमा कालो झोला र निधारमा रातो टिका लगाएर दीपायलको लागि प्रस्थान गर्न लाग्छु । धनगढी बजारमा चहल पहल सुरु भइसक्छ । रिक्सामा बसेर बसपार्क तिर लाग्छु । बसले लामो हर्न बजाइरहको हुन्छ । सायद छुट्नै लाग्यो क्यार । हतारहतार दीपायलसम्मको लागि एउटा टिकट लिएर बस भित्र छिरे । ए मेरी बास्सै ! बसभित्र त यात्रुहरु भेडाबाख्रा हुलिए झैँ हुलिएका थिए । बसभित्र बसेका हैनौं कोचिएका थियौँ । ठिक सात बजे बस पाङग्रा गुडाउन थाल्छ ।

बस एक तमासले गुड्दै अत्तरिया हुँदै गोदावरी पुगिसक्छ । तराईको मैदानी फाँटहरु छिचोलेर बस पहाडका उकलीहरुमा चढ्न थाल्छ । गोदावरी नदीको पुल क्रससँगै, बस गोदावरीका मोडहरु पार गर्दै हुन्छ, म बसको शिसाबाट तराईको हरियाली फाँटहरुको दृश्यावलोकन गर्न व्यस्त हुन्छु । पूर्वको क्षितिजबाट आएको सूर्यको तेजिलो किरणले मलाई न्यानो स्पर्श दिन्छ । बसको घुम्तीसँगै म पनि मेरा यी चञ्चल नजरहरु यताउता चारैतिर दौडाइरहन्छु । बसभित्र यात्रुहरु आ–आफ्नै ध्यानमा हुन्छन् । कोही गफमा व्यस्त त कोही निन्द्रा देवीसँग लुकामारी खेलिरहेका हुन्छन् । कोही बीर पुरुषहरु चुरोटको लामो धुँवा उडाइरहेका हुन्छन्, आफ्नै धुनमा । कसैको प्रवाह नगरी । मेरा नजरहरु बसभित्रको यस्तो वातावरणमा कैद हुन सकेनन् । प्रकृतिको स्वतन्त्र वातावरण नियाल्नमा आँतुर हुन्छन् ।

जतिजति बस उकालो चढ्दै थियो त्यति तराईका ती हरिया फाँटहरुको दृश्य स्पष्ट हुँदै जान्थ्यो । नागबेली झँै बग्दै गरेका ती नदीहरु आहा ! कति सुन्दर ।

बसभित्र बज्ने गितसंगितले यो मन झनै रोमाञ्चित बन्न पुग्छ । पहाडको उकाली सँगै चिसो चिसो हावाले शिशाको चियाँबाट भित्र पसेर चिमोठ्न थाल्छ । यो चिमोठाईमा पनि कति आनन्द आउँछ । बुढितोला, खानीडाँडा हुँदै बस भासुको भीरमा गुड्दै हुन्छ । अहो ! कस्तो डरलाग्दो भिर ? यहाँबाट खस्यो भने त, अहँ यस्तो सोच्नै हुन्न । म झ्याल खोलेर राम्ररी नियाल्छु । सडकका किनारमा कतैकतै सानासाना स्मारकहरु बनाइएका थिए । सायद भासु सडकखण्डमा भएका सडक दुर्घटनामा ज्यान गुमाएका चालक वा अन्य कुनै व्यक्तिको सम्झनामा बनाइएका हुनुपर्छ, मैले अनुमान लगाएँ ।

पहाडमा यात्रा गर्नुको मज्जै बेग्लै । हरिया डाँडाकाँडा बनैया चराचुरुङ्गीहरुको मिठो संगितमय आवाजहरु । चिसो स्वच्छ हावा । जता हेरे पनि प्रकृतिका ती सुन्दर उपहारहरु । पतझर मौसम सिद्धिएर बसन्तको आगवन हुने बेला भइसकेको थियो । बनैया बोट वृक्षहरु नयाँनयाँ बस्त्र आभुषण फेर्न सपिङ्ग गर्न जाँदै र आउँदै थिए । मानव हुँदो हो त वर्ष दिनमा दर्जनौँ बस्त्र फेरी हिँड्दो हो । तर , ती त बनैया बोटवृक्ष थिए । तै पनि प्रकृतिले यिनीहरुलाई पटक्कै ठगेको भान हुँदैन । वर्षमा एक पटक भए पनि नयाँ बस्त्र पहि¥याइदिन्छ । बोट वृक्षहरुमा जवानी चढेको आभाष हुन्छ । हावाको बेगसँगै बोटवृक्षहरु पनि एकअर्कासँग स्पर्श गर्न पुग्छन्, चुम्वन गर्न पुग्छन् । बसबाट म यी दृश्यहरु हेरिरहन्थे ।

विभिन्न घुम्तीसँगै सहजपुर, फल्टुडे हुँदै बुडर आइपुग्छौँ । कैलालीबाट डोटीको भूमीमा प्रवेश गरिसकेका हुन्छौँ । बुडरको अलिमाथि देखिने सल्लाघारी, अनि त्यसबिचमा सेताम्मे गाई बथान पुच्छर डोलाउदैँ चरिरहेको दृश्यले अष्ट्रेलियाको भेडाफार्मको धीत मार्दथ्यो । 

घडीमा ११ बजीसकेको हुन्छ । बस टक्क अडिन्छ , बसभित्रको त्यो हुल भेडा गए झैँ होटलभित्र लम्किन्छन् । होटेलवालाहरुको पनि प्रतिस्पर्धा नै हुन्छ, आफ्ना ग्राहक बनाउने विषयमा । विभिन्न मिठामिठा शब्दावलीमार्फत् ग्राहक लोभ्याउने प्रयास तिनीहरुको जारी नै हुन्छ । म रमाइलो मानेर हेरिरहन्छु । धेरै यात्रुहरु खाना खाँदै हुन्छन्, चालकले लामो हर्न बजाइदिन्छ । थालको भात त्यसै छोडी यात्रुहरु तछाडमछाड गरेर बसभित्र पुनः कोचिन्छन् । म सोच्छु, कति चलाख छन् है, यी होटेलवाला पनि । चालकसँग मिलेर यात्रुहरुलाई पेटभर खान पनि दिन्नन् । तर पैसा लिने बेलामा भने पुरै खानाको लिन्छन् । मनमनै घृणा जाग्न थाल्छ ।

बसले पुन ः आफ्नो गन्तव्य सुरु गर्छ । पहाडको उकाली सुरु हुन थालिसकेको हुन्छ । बस क्रमश ः उचाईमा गुड्न थालिसकेको हुन्छ । सल्लाघारी छिचोल्दै अघि बढीरहेको हुन्छ । पहाडको चिसो हावाले स्वागत गरिरहेको हुन्थ्यो । गोगनपानी हुँदै गैरा बजार पनि कटिसकेको हुन्छ, साहुखर्क पुग्छौँ । चिसोले झनै सताउँछ । ३–४ गाडीहरु लामबद्ध भएर उभिरहेका हुन्छन् । हाम्रो बस पनि त्यहीँ रोकिन्छ । हिउँदको अन्त्य भए पनि, उच्च पहाडी इलाका भएका कारण चिसोले सबैलाई सताइरहेकै थियो । तातो चिया पिउने चाहनाले हामी सबै होटेलतर्फ लाग्छौँ । होटेलभित्र अगेनामा ठूल्ठूला मुढाहरु बालिरहेका थिए । त्यसमाथी मगमग बासना आइरहेको खिर उम्लिरहेको थियो । खिर देखेपछि कसको मन मान्दो हो र ? सबैले खिर र चिया अर्डर ग¥यौँ । चिसो मौसममा आगोको रापसँगै तातो खिर कति मिठो ! आज पनि त्यो साहुखर्कको खिरको सम्झना आउँछ । चिसो हावाको रप्तारसँगै बसले पनि आफ्नो गती लिन्छ ।

गाडी पहाडको माथिमाथि पुग्दै जाँदा वनका दायाँबायाँ राताम्य गुराँसका फूल देखिन थाल्छन् । अझै पनि कहीँ कतै चाँदी जस्तै सेतो हिउँ परेको माथि हरिया रुखहरुमा राता फूलहरु फूलेर कति सुहाएको ! प्यासी भँवरा आफ्नो सुस्त सुस्त भुँ....भुँ आवाज निकाल्दै एक फूलबाट अर्को फूलमा आफ्नो प्यार बाँढेर उड्दै हुन्छन् । फूलहरु पनि त्यस प्यारमा डुबेर रोमाञ्चले पुलकित हुँदै हुन्छन् । चिसो पहाडी हावामा चङ्गाझैँ आकाशीदैँ गएको मन तिनै फूलका थुङ्गाहरुमा लठारिएर बस्यो । मलाई कताकता स्वर्गकै आनन्द पाए झैँ महशुस भयो ।

प्रकृतिको रमणिय दृश्यसँग लुकामारी खेल्दै हाम्रो यात्रा अघी बढ्दै हुन्छ । बसभित्र यात्रुहरु अआफ्नै धुनमा हुन्छन् । म भने बसभन्दा बाहिर प्राकृतिक दृश्यहरुसँग लुकामारी खेल्दै, हाई, हेलोको सम्बोधनसहित मित्रताको साइनो गाँस्दै बसिरहेको हुन्छु । म आफ्नै संसारमा एक्लएक्लै रम्दै हुन्छु । जबजब बसले आफ्नो गन्तव्य छोट्याउँदै जान्थ्यो, तब प्रकृतिले पनि आफ्नो नौलोनौलो प्रस्तुति देखाउँदै जान्थी । उत्तर तिरका ती राष्ट्रका सच्चा पहरेदार चाँदी जस्तै टल्कने हिमशृङखलाहरुको दृश्यले मलाई झनै आकर्षित गर्दछ । म एकटकले बसको अघिल्लो शिशाबाट हेरिरहन्छु । सुदूरपश्चिमका धरोहर तिनै साइपाल र अपीहरु मुस्कुराइरहेको देख्दा कसको मन पो नलोभिएला र ! उनीहरुसँग अन्य हिमालहरु पनि मुस्कुराइरहेका हुन्छन् । म पनि मनमनै मुस्कुराउँछु, एक्लै । आहा ! त्यतिबेलाको खुसी र आनन्दको क्षणलाई म अहिले कसरी मेरा यी फितला शब्दहरुमा व्यक्त गर्न सक्छु र ?

डडेल्धुराको स्याउँलेबाट बस दीपायलतिर मोडिन्छ । स्याउँलेको त्यो चिसो हावाले कानै उडाएजस्तो लाग्छ । डडेल्धुराको ओराली सुरु भइसक्छ । चालक एकदमै संयमित भएर गाडी चलाउँछन् । दिन ढल्कदैं हुन्छ । टाउकोमा लकडीको भार बोकेर शरीर कवाज गर्दै घर फर्किरहेका ग्वालाहरुको दृश्यले मेरो पनि विगतलाई अलिकति भए पनि कोट्याइदिन्छ । दौडिरहेको बसमा म पनि आफ्नो विगततिर दौडिरहन्छु । सानो छँदा मेरो गाउँमा म पनि साथीहरुसँग यसरी गोठालो जान्थे । जंगलमा चिप्लेटी खेल्ने, पिङ खेल्ने, माछा मार्ने, लुकामारी खेल्ने गथ्र्यौ । एकदिन बाख्रा चराउन गएको बेला, आफू माछा मार्न थाल्दा, बाख्रा हराएको र बाघले खाएको । घरमा बुबाले खुवसंग पिट्नुभएको कुरा सम्झनाले अहिले पनि झसङ्ग हुन्छ । हिउँदमा जंगलमा आगो बालेर, आगोको तातो रापसँगै आमाले भुटिदिएका मकै करमकरम गरी खाएको सम्झदाँ अहिले पनि मुख रसाएर आउँछ । कति निश्चल, निस्कपट र स्वतन्त्र थियो है, त्यो बालापन ? जंगलमा भँवरा झैँ मह चुस्न लालीगुराँसका प्रत्येक डालीडाली चाहाथ्र्यौ ।

डडेल्धुराको सीमाना कटाएर गाडी डोटीको सीमानामा आइपुग्छ । किन किन मभित्र आत्मियताको भाव झल्किन्छ । कारण, डोटी मेरो गृह जिल्ला हो । जहाँ म जन्मे हुर्के र यहाँसम्म आइपुगेँ । खै, किन हो, अब त शरीर पनि गलिसकेको हुन्छ । यता ढल्काउँदा उता ढल्काउँदा, थकित भइसकेका हुन्छौ । सायद जति छिटो गन्तव्यमा पुगियो भन्ने चाह सबैको थियो । चिसो अलि कम हुँदै जान्छ । सायद लेक सिद्धिएर होला । विभिन्न उकालीओराली, अनि घुम्तीहरु पार गर्दै बस बान्डुरीसैनको सडकमा गुडिरहेको हुन्छ । सडकको छेउछाउमा गहुँको बाला झुल्दै गरेको दृश्य अनि तोरी फुलेर पहेँलो भएको दृश्य निकै रमाइलो र लोभलाग्दो हुुन्छ । 

बसको बाँया शिशाबाट यसो हेरेको मात्र थिए, एउटी हिमाल पुत्री सेती नदी दगुर्दी रैछिन्, तर कसैसँग सरोकारै नराखी एक्लएक्लै । नदीका किनारका ती चाँदी जस्ता टल्कने सेता गोलढुङ्गाहरु अनि सेता ढुङ्गाहरुको बिचैबिच निलो पवित्र पानी बग्दै हुन्छ । कति रमाइलो दृश्य, हेरीरहुँ झैँ लाग्ने । संयोग नै मान्नुपर्छ, सडक पनि, त्यसै नदीको किनारैकिनार हुँदै गएको रहेछ । मेरा नजरहरु एकोहोरो, त्यसै हिमाल पुत्रीसंग जुध्दै हुन्छन् ।

ठाउँठाउँमा देवस्थलहरु देखिन्थे, सबै यात्रुहरु नमस्कार वा प्रणाम गर्दै जान्छौँ । हामी त्यस दिनको यात्राको अन्त्यतिर आइसकेका हुन्छौ । गोपघाट, अणुँल, कालागढ, समूहगढ हुँदै बस पिपल्ला बजार पुग्छ, लामो हर्न बजाएर टक्क अडिन्छ । म पनि आफ्नो सानो पोको पुन्टुरा बोकेर एउटा होटेलमा लम्किन्छु । 

प्रतिक्रिया