ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाले यौन तथा प्रजनन् स्वास्थ्य समस्या निराकरणमा सहज

सोमबार २६, साउन २०८२ ११:४४

धनगढी । २३ असारमा डडेल्धुराको अजयमेरु गाउँपािलका–४ मा रहेको चिपुर स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य चौकी घोषणा गरियो । किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ अनुसार चिपुर स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य चौकी घोषणा गरिएको थियो । गाउँपालिका स्वास्थ्य शाखाका संयोजक गणेश पालका अनुसार स्वास्थ्य चौकी किशोरकिशोरी मैत्री घोषणा भएपछि वडा नम्बर ४ अवस्थामा परिवर्तन भएको छ । 

‘अहिले उक्त स्वास्थ्य चौकीमा किशोरकिशोरीको उपचारका लागि छुट्ट वार्ड छ,’ पाल भन्छन्, ‘किशोरावस्थामा शारीरिक र मानसिक परिवर्तन आउने हुँदा उनीहरुले चाहेका पुस्तकहरु पनि हामीले स्वास्थ्य चौकीमा राखेका छौं ।’ पालका अनुसार चिपुर स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री घोषण गरेपछि त्यो क्षेत्रका युवाहरुमा मानसिक विचलनको समस्या नहुने अपेक्षा गरिएको छ । ‘चौकीमार्फत प्रदान भइरहेको स्वास्थ्य सेवा र परामर्शले ठुलो दुर्घटना हुनबाट बचाउन सक्छ भन्ने हाम्रो विश्वास छ,’ उनले भने । 

गाउँकै स्वास्थ्य संस्थामै किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाले यौन तथा प्रजनन् स्वास्थ्य समस्या निराकरणमा सहज भएको किशोरकिशोरीको प्रतिक्रिया छ । ‘पहिले यौन तथा प्रजनन् स्वास्थ्य समस्या आए पनि लुकाउनुपर्ने बाध्यता थियो,’ अजयमेरु गाउँपालिका वडा नम्बर ४ की एक किशोरीले भनिन्, ‘अहिले स्वास्थ्य संस्थामा गएर यौन तथा प्रजनन् स्वास्थ्यबारे परामर्श लिन सकिन्छ । समस्या आए गोप्य रुपमा स्वास्थ्यकर्मीलाई सोध्न सकिन्छ । निकै सहज भएको छ ।’

कञ्चनपुरको लालझाडी गाउँपालिकाले पनि तीन वटा स्वास्थ्य संस्थालाई किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण (घोषणा) गरेको छ । गाउँपालिकाको वडा नम्बर १ स्थित बाइसेबिचवा, वडा नम्बर २ को शंकरपुर र वडा नम्बर ५ को देखतभुली स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणा) गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख खगेन्द्र चौधरीले बताए । ‘किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भनेको कुनै अलग्गै सेवा नभई उपलब्ध सेवालाई किशोरकिशोरीले सहज र मैत्रीपूर्ण रुपमा उपयोग गर्नसक्ने वातावरण र अवस्था सृजना गर्ने हो,’ उनले भने, ‘किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिकाले तोकेका मापदण्ड पूरा गरेका छौं । किशोरकिशोरीको स्वास्थ्य सम्बन्धि जिज्ञासा मेट्नका लागि छुट्टै गोप्य कोठाको व्यवस्था गरेका छौं । किशोरावस्थामा आउने शारीरीक परिवर्तनका विषयमा स्वास्थ्य चौकीमा पुस्तकको व्यवस्था गरेका छौं । यसले किशोरकिशोरीलाई स्वास्थ्य समस्या निराकरण गर्न सहज भएको छ ।’

यस्तो छ किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाको मापदण्ड
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ जारी गरेको छ । उक्त निर्देशिकाअनुसार स्वास्थ्य संस्थाले आफ्नो कार्यक्षेत्र भित्र रहेका किशोरकिशोरीलाई आफ्नो स्वास्थ्य सम्बन्धि ज्ञान, स्वास्थ्य सेवा लिनुपर्ने अवस्था र स्थानको जानकारी रहेको सुनिश्चित गर्नुपर्छ । यस्तै, स्वास्थ्य संस्थाले आफ्नो कार्यक्षेत्र भित्र रहेका अभिभावक, संरक्षक र अन्य सरोकारवालाहरुलाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाको औचित्य बुझाई सेवाको प्रत्याभुत गर्ने तथा किशोरकिशोरीहरुले स्वास्थ्य सेवा लिन आवश्यक वातावरणको सुनिश्चितता गर्नुपर्छ । 

किशोरकिशोरी मैत्री स्वासथ्य संस्थाले सूचना, परामर्श, निदानात्मक, उपचार र हेरेरचाह सेवाको प्याकेज बनाएर किशोरकिशोरीको आवश्यकता पुरा गर्दै आएका छन् । स्वास्थ्य सेवा प्रदायकहरूहरुले प्राविधिक दक्षताको प्रयोग गरी कशोरकिशोरीहरूको आवश्यकताअनुसार प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ । ‘स्वास्थ्य सेवा प्रदायक तथा त्यस स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरूले किशोरकिशोरीहरूहरूको सूचनाको हकको समान, गोपनियता र गोप्यताको कार्यान्वयन तथा भेदभावरहित, कुनै व्यक्तिगत धारणाको कारण हुने विभेद विना व्यवहार र सेवा पाउने हकलाई सम्मान र संरक्षण गर्छ,’ निर्देशिकाको मापदण्डमा भनिएको छ, ‘किशोरकिशोरीहरूले बिना भेदभाव आफ्नो यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि सेवा तथा सूचना प्राप्त गर्ने अधिकारको उपयोग गरेको हुनु पर्नेछ ।’

यस्तो छ किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन प्रक्रिया
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी धर्मानन्द गिरीका अनुसार यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि समस्या निराकरणमा सहज होस् भनेरै किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा अवधारणा ल्याइएको हो । अहिले उक्त अवधारणा स्थानीय तहहरुले सञ्चालन गर्दै आएका छन् । सूचना अधिकारी गिरीले किशोरकिशोरी मैत्री सेवा सञ्चालनका लागि पालिकाले सुरुमा स्वास्थ्य संस्थाको छनोट गर्नुपर्छ । 

छनोट गरिएका स्वास्थ्य संस्थामा किशोरकिशोरी मैत्री सञ्चार सीप भएको स्वास्थ्यकर्मीको व्यवस्था हुनुपर्ने । किशोरकिशोरी प्रजनन स्वास्थ्य तालीम प्राप्त स्वास्थ्यकर्मीको व्यवस्थापन गरिनुपर्छ । सेवा तथा सेवा सम्बन्धि सामाग्री, उपकरणहरूको उपलब्धता, किशोरकिशोरी तथा युवाहरूको उपस्थिती तथा सेवा लिनमा सहजता र गोप्यता भएको स्थानको सुनिश्चित गर्ने,  किशोरकिशोरी मैत्री स्वास्थ्य सेवासँग प्रत्यक्ष सरोकारवालाहरू जस्तै स्वास्थ्य संस्थाका सम्पूर्ण जनशक्ति, स्वास्थ्य संस्था व्यवस्थापन वा सञ्चालक समिति, स्थानिय विद्यालय, महिला स्वास्थ्य समूह, किशोरकिशोरी समूहसँग अन्तरक्रिया र किशोरकिशोरी मैत्री सेवाको जानकारी प्रदान गरि सहयोगका लागि तयार रहेको सुनिश्चित गर्नुपर्छ । 

किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्दा सरोकारवालाहरुलाई विभिन्न तहमा अभिमुखीकरण कार्यक्रम सञ्चालन पनि गर्नुपर्ने हुन्छ । स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाको व्यवस्थापन समिति, सरोकारवाला संघसंस्था, जनप्रतिनिधि, शिक्षक र शिक्षिका, सेवा प्रदायक तथा सम्बन्धित स्वास्थ्य संस्थाका अन्य कर्मचारी, आमा समूह, समुदायिक महिला स्वास्थ्य स्वयंसेविका, किशोरकिशोरी समूहसंग अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्छ । किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा संचालन पश्चायत उपरोक्त स्वास्थ्य संस्थामा एक समिति बनाएर त्रैमासिक रुपमा स्वमूल्याङ्कन गर्नु पर्छ । 

प्रतिक्रिया