धनगढी । कैलाली कारागारभित्र शुक्रबार राति कैदीबन्दीबीच भएको झडपमा कुटपिटबाट मृत्यु भएका धनगढी उपमहानगरपालिका– ४ का भरत चौधरीको शव घटना भएको चार दिनसम्म उठाउने सुरसार छैन । मृतकका परिवारले भरत हत्याको कारणबारे यथार्थ विवरण नआएसम्म शव नउठाउने भनिरहेका छन् ।
शुक्रबार राति ११ बजेदेखि कारागारभित्र कुटपिट र तोडफोड सुरु भएकोमा घटनाको ४२ घण्टासम्म कैदीबन्दीको नियन्त्रणमा रहेको कैलाली कारागारको बन्दीगृहमा आइतबार साँझ बल्ल कारागार प्रशासन र सुरक्षाकर्मीहरुको सयुक्त टोली प्रवेश गर्न सक्यो । प्रहरी प्रशासनले कारागारको अवस्था सल्टाउने कामलाई प्राथमिकता दिनु परेको जनाएको छ ।
कारागारको बन्दीगृहभित्रै आक्रमणमा परेर मृत्यु भएका भरतका परिवारहरुको भनाइले कारागारभित्र अनेक प्रकारका अपराधिक गतिविधि हुने गरेको आशंकालाई बल पु¥याएको छ । भरतका परिवारजनले हरेक हप्ता भरतले मागेअनुसार पाँचदेखि सात हजार रुपैयाँसम्म पु¥याउनु परिरहेको थियो ।
भरतको घरको आर्थिक अवस्था कमजोर छ । तर, पनि कारागारभित्र रहेका भरतको ताकेताकै कारण परिवारले ऋणजोखो गरेरै भए पनि मागेको रकम हप्ताहप्ता बुुझाउने गरेका थिए ।
भरतका भाई विजय र दिदी बिभा हरेक हप्ता कहिल्यै दुई हजार, कहिल्यै पाँच हजार त कहिल्यै सात हजारसम्म जेलमा गएर दिदै आएको बताउँछन् । दिदी बिभा चौधरीले भनिन्, ‘पैसा आफैँ समात्दैनथ्यो । चौकीदार र नाइकेको हातमा देउ भन्थ्यो । उसले भनेकै तरिकाले पैसा दिन्थ्यौं ।’
लागुऔषध सेवनको मुद्दामा कारागार जीवन बिताइरहेका भरतले त्यत्रो पैसा किन र के–का लागि माग्थ्यो भन्ने सोधखोज गर्ने ध्यानै नभएको परिवारजन बताउँछन् । तर, घटना भएपछि अहिले शंका लागिरेको विजयले बताए । ‘एक–दुई पटक त इसेवामा पनि पैसा हाल्न लगाएको थियो,’ उनले भने, ‘घरमा आमा, म र भतिजी (भरतकी छोरी) छौं, आमाले घरघरमा गएर कसैको काम गरेबापत कमाएको सबै भरतलाई नै दिने गर्नु भएको थियो ।’
घटनापछि अहिले आएर कारागारभित्रको कैदीबन्दीबाट रकम असुली, लागुऔषधको कारोबार लगायत गैरकानुनी गतिविधि पनि हुन्थे कि भन्ने आशंका लागेको परिवारजनको अड्कल छ । त्यसबारे गहिरो छानबिन हुनैपर्ने उनीहरुले बताए । ।
कैलाली कारागार अवैध धन्दाको अखडा बनेको बेलाबेला दोहोरिएका घटनाले पनि सावित गर्दै आएको थियो । कारागारभित्र विभिन्न समयमा असामान्य घटनाहरु भइरहेकै थिए । लागुऔषध, मदिरा, सञ्चार उपकरणहरु कारागारभित्र सहजै जाने गरेका थिए । कतिपय घटनामा प्रहरी र कारागार प्रशासनकै संलग्नता पनि देखिएको पुष्टि भएको थियो ।
०८० जेठ २२ गते राति कारागारभित्र चलेको मदिरा पार्टीपछि कैदीबन्दीबीच कुटाकुट भएको घटना सार्वजनिक भएको थियो । उक्त घटनामा दुई जना घाइते भएका थिए । तर, सम्बन्धित निकायले त्यस्ता गतिविधिहरुलाई कहिल्यै पनि गम्भिरतापूर्वक भने लिएको थिएन ।
बन्दीगृहभित्र कुटपिटबाट शुक्रबार मृत्यु भएका भरतलाई लागुऔषध सेवनको आरोपमा माघ ४ गते प्रहरीले घरबाटै पक्राउ गरेको थियो । परिवारका अनुसार करिब एक महिना प्रहरी थुनामा रहेपछि डेढ वर्षको जेल सजाय तोकिएर उनलाई कारागार चलान गरिएको थियो । भरतको परिवारमा कक्षा आठमा अध्ययनरत एक छोरी, आमा र भाइ छन् । ‘सात महिना भइसकेको थियो । चाँडै फर्केर आउँछु भन्थ्यो,’ भरतका भाई विजयले भने, ‘अहिले अपत्यारिलो घटना भयो । हामीलाई त षडयन्त्र गरेर मारेको हो भन्ने आशंका छ ।’
एक महिनाअघि डडेल्धुराको भागेश्वर गाउँपालिका– ५ का २८ वर्षीय हरिशसिंह पालीको कैलाली कारागारमा रहेकै अवस्थामा मृत्यु भएको थियो । पाली अचानक बिरामी परेको भनिएपछि शरिरमा भएका निलडामले कुटपिटबाट पालीको मृत्यु भएको आशंका गरिएको थियो । छानबिन समितिले पनि पालीको शरीरमा चोटपटक रहेको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाइसकेको छ । पोष्टमार्टम रिपोर्टले पनि सोही देखाएको छ । तर, यथार्थ कारण गुपचुपमै राखिएको छ ।
कारागारमा बन्दीगृहको आन्तरिक प्रशासन कैदीबन्दीकै नियन्त्रणमा रहने गरेको छ । कैदीबन्दीको आन्तरिक प्रशासन सञ्चालनका लागि कारागारमा रहेका कैदीबन्दीबाट एक जना चौकीदार, २५ जना बराबर एक जना नाइके, १० जना बराबर एक जना सहनाइके छनोट गर्ने गरिन्छ ।
हरेक वर्षको असार मसान्तभित्रै नाइके, सह नाइके र चौकीदार छनोट भइसक्नुपर्ने अभ्यास छ । तर, कैलाली कारागारमा भने यस वर्षका लागि चौकीदार, नाइके र सहनाइके चयन हुन सकेका थिएनन् । घटना हुने बेला परशुराम राना चौकीदार थिए ।
प्रतिक्रिया