धनगढी । सुदूरपश्चिम प्रदेशको पर्यटन गुरुयोजना (२०७९/८० देखि २०८९/९०) ले सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटन सम्भावना रहेको भन्दै मन्दिर निर्माणलाई प्राथमिकतामा राखेको छ । नामसहित १५ वटा मन्दिर र एउटा धार्मिक करिडोरलाई पर्यटकीय सम्भावना भएको भनि त्यसको विकासका लागि विस्तृत योजना समेत गुरुयोजनाले सुझाएको छ ।
तर, सुदूरपश्चिम प्रदेश सरकारले कुलदेवताको मन्दिर बनाउन पर्यटन क्षेत्रको बजेट खर्च गरिरहेको छ । गतआर्थिक वर्ष २०८१/८२ मा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ३१ वटा मन्दिरहरु निर्माण गरेको छ । ती मन्दिर निर्माणलाई मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो दोस्रो कार्यकालको एकवर्षको गौरवपूर्ण प्रगति भन्दै सार्वजनिक गरेका छन् ।
उनले आफ्नो दोस्रो कार्यकालको पहिलो एक वर्षको प्रगति भन्दै सार्वजनिक गरेको पुस्तिकामा प्रदेशको विभिन्न ३१ स्थानमा धार्मिक तथा मठमन्दिर निर्माण तथा व्यवस्थापन भएको उल्लेख छ । ‘बेहडाबाबा मन्दिर परिसरमा गणेश र दुर्गादेवीको मन्दिर निर्माण गरिएको,’ पर्यटन क्षेत्रको प्रगति वितवरणमा उल्लेख छ, ‘कैलाली जिल्लाको गौरिगंगा–१ मा अवस्थित मोहन्याल मन्दिर परिसरमा नक्षेत्र बाटिका निर्माण गरिएको, गोदावरी नगरपालिका ४ कैलालीमा मष्टाधाम शिवलिङ्गसहित १२ मष्टा थान निर्माण गरिएको, बैतडीको त्रिपुरा सुन्दरी मन्दिरमा आवास गृह र पदमार्ग निर्माण गरिएको, डडेल्धुराको अमगरगढी–८ मा उग्रतारा मन्दिरमा धर्माशाला निर्माण, बझाङको छबिसपाथिभेरा–५ मा ऐतिहासिक पर्यटकीय मष्टा मन्दिरमा पूर्वाधार विकास निर्माण, बैतडीको पुचौंडी–६ मा प्राचिन दुर्गामाण्डौ धाम पूर्वाधार विकास निर्माण, पुचौंडी–५ मा गढा भौनेली प्राचिन भूमिराज मन्दिर धर्मशाला तथा घेर पर्खाल निर्माण र कैलालीको धनगढी–१६ मा बेहडाबाबा मन्दिर निर्माण गरिएको छ ।’
प्रदेश सरकारले पर्यटन क्षेत्रको बजेटबाट निर्माण गरेका यी मन्दिरमध्ये कैलालीको बेहडाबाबा, डडेल्धुराको उग्रतारा र बैतडीको त्रिपुरा सुन्दरी मन्दिर मात्रै पर्यटन गुरुयोजनाले धार्मिक पर्यटकीय सम्भावना भएको मन्दिर भनेको छ । गुरुयोजनाले उल्लेख गरेको मन्दिरमा पूर्वाधार विकास गरेर पर्यटन विकास गर्न सकिने सुझाव दिएपछि प्रदेश सरकारले सांकृतिक क्षेत्रको बजेटबाट बनाउनुपर्ने मन्दिरहरु बनाउन पर्यटन क्षेत्रको बजेट खर्च गर्नमा जोड दिएको छ ।
चालुआर्थिक वर्षमा समेत प्रदेश सरकारले पर्यटन क्षेत्रको बजेटबाट दुई सय चार वटा मन्दिर निर्माणका लागि ३२ करोड २२ लाख रुपैयाँ विनियोजन गरेको छ । आर्थिक क्षेत्रका विज्ञहरुले प्रदेश सरकारले पर्यटकीय स्तरका मन्दिर बनाउन पर्यटन क्षेत्रको तथा धार्मिक र सांस्कृतिक मन्दिर बनाउन सांकृतिक क्षेत्रको बजेट प्रयोग गर्नुपर्ने बताउँछन् ।
यस्तै, प्रदेश सरकारले कैलाली जिल्लाको मोहन्याल गाउँपालिका– ७ मा रहेको पर्यटकीय महत्व बोकेको आमपानी झरनामा पूर्वाधार निर्माण गरेको जनाएको छ । प्रदेश भित्रका विभिन्न जिल्लामा रहेका नौ वटा ताल तथा झरना संरक्षण भएको प्रगति सार्वजनिक गर्दै मुख्यमन्त्री शाहले बताए । उनले प्रदेशका चार स्थानमा संग्रहालय निर्माण भएको, पर्यटन प्रवद्र्धनका लागि अत्तरिया चोकमा प्रदेशको पहिचानको रुपमा रहेको दुर्लभ वन्यजन्तु बाह्रसिङ्गाको मुर्ति स्थापना गरिएको र बडीमालिका जाने बाटोमा आवास गृह निर्माण गरिएको बताए ।
कैलाली जिल्लामा होमस्टे महोत्सब सञ्चालन गरिएको, प्रदेशमा स्थापना भई सञ्चालनमा रहेको विभिन्न पाँच वटा होमस्टेहरुको प्रवद्र्धन गरिएको, विभिन्न जिल्लामा नौ वटा पर्यटकीय पार्क निर्माण गरिएको, खप्तड पर्यटकीय पदमार्ग तथा सडक स्तरोन्नति कार्य, बझाङको जयपृथ्वी–१ मा कैलाश कचहरिकोट पार्क निर्माण कार्य, गोदावरी–१ बनदेबीमा पार्क निर्माण, जानकी–६ मा जगतपुर थारु सामुदायिक होमस्टे निर्माण, घोडाघोडी ताल संरक्षण तथा पर्यटन पूवद्र्धन कार्यक्रम, डडेल्धुरामा ऐतिहासिक अजयमेरु दरबार पर्यटकीयस्थल संरक्षण कार्य र बझाङमा ऐतिहासिक तलकोट दरबार पुनःनिर्माण पनि गतवर्षको मुख्य प्रगति रहेको पुस्तिकामा उल्लेख छ ।
प्रतिक्रिया