धनगढी । महाकाली नदीमा पानीको बहाब बढ्न थालेको छ । सोमबार बेलुका घटेको पानीको बहाब फेरि बढ्न थालेको हो । सोमबार राति पानीको बहाब घटेर ९९ हजार क्युसेक पुगेकोमा मंगलबार बिहानदेखि फेरि बढ्न थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार अहिले महाकाली नदीमा पानीको बहाब बढेर एक लाख सात हजार नौ सय क्युसेक पुगेको छ । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चार पाङग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको डीएसपी बोहराले बताए ।
सोमबार राति भने महाकाली नदीमा पानीको प्रवाह घटेपछि शारदा ब्यारेजमा सवारीसाधन सञ्चालन खुला गरिएको थियो । तर, पानीको बहाब फेरि बढेपछि मंगलबार बिहान पौने ७ बजेदेखि चार पाङग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको हो ।
प्रतिक्रिया